सिन्धुली,२७ फाल्गुण – महाशिबरात्रीका अबसरमा विहीबार सिन्धुलीको कमलामाइ नगरपालिका–४ च्याउकोटमा रहेको शिद्धबाबा मन्दिरमा हजारौं दर्शनार्थीहरुको भिड लागेको छ ।
सदरमुकाम सिन्धुलीमाढी तथा आसपास क्षेत्रका भक्तजनहरु बिहानैदेखि मन्दिरमा पुगेर दर्शन गरेका स्थानीयले जनाएका छन् । स्थनीयका अनुसार ढुंग्रेवास बजारबाट करिब दुइ घण्टाको ठाडो उकालो हिंडेर भक्तजनहरु शिद्धबाबा दर्शनका लागि गएका थिए । त्यसैगरि, टेम्पोमा मन्दिरसम्म पुग्नेको संख्यापनि ठूलो थियो । शिद्धबाबा मन्दिरको मार्गमा टेम्पोको जाम नै भएको दृश्यहरु देखिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलीप थापामगरका अनुसार मन्दिरमा दर्शनका लागि सुरक्षाकर्मी परिचालन गरेर लाइनको व्यवस्था मिलाइएको थियो । “वर्सेनि भक्तजनहरुको चाप बढेको छ”, उहाँले भन्नुभयो, “दर्शनको लागि व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्यो । ओइरो लागेको छ ।”
उहाँका अनुसार मागेको वरदान पाउने बिश्वासमा शिद्धबाबाको मन्दिरमा भक्तजनहरु जाने गरेका छन् । दिन भर उक्त मन्दिरमा मेला लाग्ने गर्दछ । गाजाका पारखीहरु समेत मन्दिरमा गएर प्यास मेटाउने गर्दछन् । त्यस्तै सिन्धुलीगढीमा रहेको शिद्धबाबाकै मन्दिरमा समेत भक्तजनहरुको घुइचो लागेको छ । बीपी राजमार्ग हुदै भक्तजनहरु सवारी साधन लिएर त्यहा पुगेका छन् ।
महाशिबरात्रीको अबसरमा सिन्धुली जिल्ला कै सुनकोशी गाँउपालिकास्थित कुशेश्वर महादेव मन्दीर र दुधौली नगरपालिका–१ स्थित प्रशिद्ध धार्मिक स्थल मधुगंगा माहादेवको मन्दिरमा समेत भक्तजनको भिड लागेको स्थानीयले जनाएका छन् । त्यस्तै सदरमुकाममै रहेको किरातेश्वर महादेव मन्दिर, शिवालय थान लगायतका महादेव मन्दिरमा भक्तजनहरुको बिहानैदेखि भिड लागेको थियो ।