गुल्मी, २७ फागुन - अहिलेका जमानामा एउटै ब्यक्तिको २१ जना छोरा–छोरी ! त्यो पनि सबै सकुशल छन्, भन्दा पत्यार नलाग्ला । तर, वास्तविकता छर्लङ्गै छ कि गुल्मीका एक ब्यक्तिको २१ जना छोरा–छोरी सबै सकुशल छन् ।
२१ जना नै छोरा–छोरीहरु हट्टाकट्टा र निरोगी नै छन् । अहिलेको पिँढीलाई अनौठो लाग्ने त्यति धेरै सन्तानका बाबु हुन् गुल्मीको मुसिकोट नगरपालिका–३ पेगा गाउँका ७७ वर्षीय बिष्णुबहादुर पाण्डे ।
पाण्डेका १२ जना छोराहरु रहेका छन् भने ९ जना छोरीसहित २१ जना सन्तान छन् । उक्त २१ जना छोरा–छोरीका बाबु बिष्णु पाण्डे एक्लै भएपनि आमाहरु भने ३ वटी रहेका छन् ।
जेठी ६९ वर्षीया श्रीमती हिमकुमारी पाण्डेकी तर्फबाट ९ वटा सन्तान रहेका छन् । माइली श्रीमती बालकुमारी पाण्डेकी तर्फबाट ८ सन्तान रहेका छन्, भने भारतको सिलाङ्गमा रहेकी खस्यिया थरकी कान्छी श्रीमतीको नाम भने यहाँका परिवारका सदस्यले थाह नभएको बताए ।
पाण्डेका कान्छी श्रीमतीबाट ४ सन्तानसहित २१ जना छोरा–छोरीहरु सकुशल रहेका छन् । भारतको सिलाङ्गमा रहेका दुई छोरा र दुई छोरीहरुको बालपनमा खिचिएका चार तस्वीरसहित २१ जना पाण्डेका छोरा–छोरीको तस्वीर प्राप्त गरिएको छ ।
पाण्डेले कमाएको सम्पत्ती छोरा–छोरीका शिक्षा खर्चिएको परिणाम स्वरुप उनकी एउटी छोरी नेपाल सरकारको सीडीओसहित ८ जना छोरा–छोरी र बुहारी सरकारी जागिरे छन् ।
जेठा छोरा कर्णबहादुर पाण्डे यसअघि जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत थिए, भने हाल उनी काठमाडौंस्थित वन तथा वातवरण मन्त्रालयमा कार्यरत छन् । अर्का छोरा दलबहादुर पाण्डे सशस्त्र प्रहरीका डीएसपी रहेका छन् ।
अर्का छोरा मानबहादुर पाण्डे सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । अर्का छोरा चन्द्रबहादुर पाण्डे पृथ्वी माध्यामिक विद्यालय मुसिकोट नगरपालिका–३ मैदानका प्रधानाध्यापक रहेका छन् । अर्का छोरा बुद्ध पाण्डे सोही विद्यालयका लेखापाल रहेका छन् ।
अर्का छोरा रमेश पाण्डे कोष तथा लेखा निरीक्षक कार्यालयका सुब्बातहका कर्मचारी रहेका छन् । छोरी देवी पाण्डेले हालै पर्वत जिल्लाको सीडीओ अर्थात् प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी छन् । अर्का छोरा सुदन पाण्डे हालै नेपाल प्रहरीमा भर्ती भई बुुटवलमा तालिम गरिरहेका छन् ।
भारतमा रहेकी पाण्डेकी कान्छी श्रीमतीतर्फको छोरी पनि त्यहाँँको सरकारी कार्यालयको कर्मचारी हुन् । छोरा रमेश पाण्डेकी श्रीमती स्वरुपमा पाण्डे घरेलु तथा साना उद्योग विकास कार्यालयकी अधिकृत स्तरकी कर्मचारी हुन् । योसँगै पाण्डे परिवारका ९ जना सरकारी जागिरे छन् ।
अझ पाण्डेकी छोरी सरस्वती पाण्डे घिमिरे मुसिकोट नगरपालिका कार्य समित सदस्य हुन्, उनले पनि सरकारी भत्ता बुझ्ने गरेकी छन्, उनलाई समेत गणना गर्ने हो भने एकै परिवारका १० जना सरकारी अंगमा छन् ।
कमाएको पैसा छोरा–छोरीको शिक्षा र समाज सेवमा
बिष्णबहादुर पाण्डे भारतको सिलाङ्गका काठ ब्यवसायी भएकाले विगतमा अथाह सम्पत्तीको मालिक भएका ब्यक्ति हुन् । तर, उनले अथाह सम्पत्ती कमाएपनि अरु झैं शहरमुखी भएनन् । उनी गाउँ नै सजाउने र असली कृषक बनेर कमाएको रकम २१ जना छोरा छोरीको पढाईमा खर्चिए । र, बाँकी समाज सेवामा खर्चिए ।
उनले २०३३/३४ साल तिर निस्तेखोलाको एक्लेखेत फाँटमा आवत–जावत गर्ने आधुनिक झोलुङ्गे पुल आफ्नै खर्चमा बनाएर पारी हस्तीचौरतर्फ वारी पेगासम्मका सयौं जनतालाई सुविधा प्रदान गरेका थिए । त्यस्तै पेगामा खानेपानी सुविधा आफ्नै खर्चमा उपलब्ध गराए ।
तल रातडाँडा तम्घास सडक खण्डको भन्ज्याङ्ग चौतारीमा बटुवालाई खानेपानीको सुविधा उपलब्ध गराउन पानी ट्यांकी निर्माण गरे । पेगा निमावि, मैदानको पृथ्वी मावि र रेसुङ्गा क्याम्पसको स्तरोन्नतीका लागि पनि उनले ठूलो आर्थिक सहयोग गरेका थिए ।
केही दिनअघि मात्र भारतको सिलाङ्गमा कान्छी श्रीमतीको परिवार भेट्न बाबु त्यसतर्फ हिँडेका परिवारजनले बताएका छन् ।.news24nepalबाट साभार
आज फाल्गुण २७ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २७ गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी,२१ घडी १९ पला, दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– धनिष्ठा,३९ घडी ११ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त शतभिषा । योग– शिब,०९ घडी १० पला,बिहान १० बजेर ०० मिनेट उप्रान्त सिद्ध । करण– वणिज,दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ४८ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३२ पला । महाशिवरात्रिव्रत, हलेसी महादेव, पशुपतिनाथ लगायत शिवमन्दिर भयका ठाँउमा मेला,धनिष्टा पञ्चक प्रारम्भ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यावसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :-
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कम मात्र हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । विगतको श्रमबाट भने लाभ हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।