सिन्धुली,२५ फाल्गुण – तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुन नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ । तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो । तर सरकारले संसद विघटनको सिफािरस गरेपछि दुइ धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन् ।
बन्द रहेको पार्टी कार्यालयमा प्रहरी र ससस्त्र प्रहरीले सुरक्षा दिदै आएको थियो । सर्बोच्च अदालतले नेकपालाई पुर्ववत अवस्थामानै फर्किएको सन्देश सहितको फैसल्ला गरेपछि मंगलबारबाट नेता तथा कार्यकर्ताले नाचगान सहित नेकपा एमालेको बोर्ड राख्दै नेकपा एमालेका नेता कार्यकर्ताले एक अर्कालाई अविर लगाएर शुभकामना दिदै पार्टी कार्यालय खुलाएको पार्टीका उपसचिव महेन्द्रदेव श्रेष्ठले जानकारी दिनु भयो ।

पार्टी कार्यालय खुलाउन माधव नेपाल पक्षका नेता तथा कार्यकर्ता समेत सहभागि भएका थिए । नेपाल पक्षका नेता तथा कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले नेकपा एमालेलाई अगाडी बढाउन सबैको अहम् भुमिका भएको स्मरण गर्दै पार्टी केन्द्रिय कार्यालयको निर्देशनका आधारमा पार्टी एक भएको स्मरण गर्नु भयो । “माओवादी केन्द्रसँगको सहकार्य र एकतामा नेकपाले दुई तिहाइको सरकार बनाएको थियो”, उहाँले भन्नु भयो “आगामी दिनमा नेकपा एमालेकै दुई तिहाई बहुमत आउने गरि हामी सबै लाग्नुपर्छ ।”
ओली पक्षका नेता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कटुवालले सर्बोच्चको आदेशलाई मानेर नेकपा एमालेमै फर्किएकोमा माधव नेपाल सहित उहाँको टिमलाई धन्यवाद दिनु भयो । “सर्बोच्चले गरेको निर्देशन पालन गरेकोमा माधव नेपाललाई धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नु भयो , “अब एमाले एकिकृत आन्दोलनको पक्षमा गएको छ ।”

आफुहरुले पसिना बगाएर बनाएको घरमा तीन महिनासम्म बस्न नपाएको भन्दै उहाँले केन्द्रको निर्देशनलाई पालना गरेर तीन महिनासम्म पार्टी कार्यालय नखोलेको बताउनु भयो । “दाजुभाई घरमा झगडा गर्छन् तर फेरि एक हुन्छन् ”, उहाँले भन्नु भयो “हाम्रो त्यस्तै हो अब हामी एक भएका छौ ।” उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केपी ओली सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो । “अब हामी म होइन हामी भनेर लाग्नेछौ”, उहाँले भन्नु भयो, ”हाम्रो एकता जिन्दावाद ।” उहाँले सरकारमा रहेका प्रचण्ड पक्षका नेताहरुलाई समेत पार्टीले उचित मुल्यांकन गरि पार्टीको आन्दोलनको योगदानलाई कदर गर्ने बताउनु भयो ।