बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

राजमार्गलाई पुर्णता दिन पहल गरौँ

मंगलवार , फाल्गुण २५, २०७७

निर्माणाधि मदन भण्डारी राजमार्गको निर्माण कार्य करिब अन्तिम चरणमा छ । धरान—चतरा—सिन्धुली—हेटौँडा (मदन भण्डारी) राजमार्गका अधिकांश काम सकिएपनि सिन्धुलीको सदरमुकामस्थित कमलामाई नगरपालिका ४ खट्टारदेखि धुराबजारसम्मको ६ किलोमिटर सडक निर्माणमा अवरोध कायमै छ । तर, सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले राजमार्ग निर्माणमा अवरोध सिर्जना नगरि विकासका नाममा बन्दै गरेको शहर विनास गर्न नहुने र बजार क्षेत्रभन्दा बाहिरबाट निर्माणको काम अघि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिसँगै राजमार्ग निर्माणले पुर्णता पाउने विश्वास सिन्धुलीवासीले गरेका छन् । प्रधानमन्त्रीले मदन भण्डारी राजमार्गमा देखाउनु भएको चासोलाई जिल्लावासीले प्रशंसा गरिरहेका छन् । तर, उहाँको अभिव्यक्ति कार्यान्वयनमा नआउन सक्ने भन्दै एकथरिले शंका पनि गरेको अवस्था छ । तसर्थ, प्रधानमन्त्रीसँग मदन भण्डारी राजमार्गकोबारेमा छलफल गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सक्रियता देखाउन जरुरी छ ।

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु केन्द्रिय स्तरका नेताहरु पनि छन् । मन्त्रीसमेत भइसकेका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेर राजमार्ग निर्माणमा ढिलाई नहुने वातावरण सिर्जना गर्न पहल गर्न आवश्यक छ । राजमार्ग निर्माणको सम्पुर्ण काम सकिसकेको तर सिन्धुलीमा आएर ६ किलोमिटर सडकले अवरोध हुनु दुखद हो । तसर्थ, असन्तुष्ट पक्षसँग वार्तामा बसेर जिल्लाका जनप्रतिनिधिलिे व्यापक छलफल गर्न आवश्यक छ । त्यसैगरि, सरोकारवाला निकायले पनि समस्याको समाधान निकालेर के कसरी राजमार्ग निर्माणलाई सहज बनाउने भन्नेतर्फ जोड दिन जरुरी छ । अतः प्रधानमन्त्रीले दिएको वचन पुरा गराउन जिल्लाका जिम्मेवार निकायले आवश्यक पहल गर्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया