काठमाडौं २४ फाल्गुण - सर्वोच्च अदालतले आइतबार गरेको फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत पार्टीको अस्तित्व दिएपनि यसअघि नै सोही नामको दल दर्ता भइसकेकाले पुनः अर्को दुःखद नियति भोग्नुपर्ने स्थिति देखिएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो । ऋषि कट्टेलले त्यसअघि नै सोही नामको दल दर्ता गरिसकेको भन्दै निर्वाचन आयोगमा उजुरी दिए । कट्टेलको पक्षमा निर्णय नआएपछि उनी सर्वोच्च गएका थिए । सर्वोच्चले कट्टेलकै नेतृत्वको पार्टी नेकपा भएको फैसला गर्यो भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा खारेज गरिदियो ।
यो खारेजीपछि ओली नेतृत्वमा एमाले व्यूँताउने र प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र व्यूताउनुपर्ने हुन्छ । तर यसअघि नै यो नामका दल दर्ता भइसकेकाले उनीहरुको नेतृत्वमा ती दल गुम्ने खतरा देखिएको छ ।
एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । त्यसको एक वर्षसम्म नाम र चिन्ह फ्रिज भयो । ऐनमा कुनै दुई दलबीच एकीकरण भएपछिको एक वर्षसम्म चुनाव चिन्ह र नाम कसैले पनि नपाउने नियम छ । त्यसको एक वर्षपछि गोपाल किराँतीले माओवादी केन्द्र नामको दल दर्ता गराए ।
नेकपाभित्र विवाद बढ्दै जाँदा गत साउनमा एमाले पार्टी पनि दर्ता भयो । सरिता तिवारी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमाले उदाउँदो सूर्य चुनाव चिन्हसहित निर्वाचन आयोगमा दर्ता छ ।
सो पार्टी २०७७ साउन २० मा १६० नम्बरमा दर्ता छ । अध्यक्षमा तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय छन् ।
सर्वोच्चको आदेशपछि तिवारी नेतृत्वको एमालेले बैठक बोलाएको छ । सो दलका महासचिव उपाध्यायले ओलीहरु आफ्नो पार्टीमा मिल्न आए स्वागत गरिने बताए ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववत दलको हैसियतमा काम गर्न आदेश दिए पनि कानुनी अड्चन भने देखिएको छ । ऋषि कट्टेलले जसरी नै मुद्दा दर्ता गर्न तिवारी र किराँती सर्वोच्च पुग्नासाथ दलको हैसियत उनीहरुले पाउने छन् । त्यसैले ओली र प्रचण्डले पूर्ववत एमाले र माओवादी केन्द्रको हैसियत गुमाउने सम्भावना रहेको विश्लेषक अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् ।
अदालतको आदेश नै त्रुटिपूर्ण रहेको भन्दै त्रिपाठीले फैसला कानुन सम्मत नभएको जिकिर गरे । उनले भने, ‘यो गम्भीर कानुनी र संवैधानिक त्रुटि भएको फैसला हो ।’
नागरीक खवार बाट साभार ।
आज फाल्गुण २४ गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २४ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी,२८ घडी २२ पला, बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,४० घडी २७ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग– व्यातिपात,२३ घडी ५४ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी २० पला । नारी दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । तपाईंको विचारलाई धेरैले मन पराउने छन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुनुका साथै रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्य योजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते :- बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाई अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योग तर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ । चोट पटकको योग देखिएकाले सवारी साधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।