शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मकवानपुरगढी–सिन्धुलीगढी साईकल यात्रा सम्पन्न

सोमवार , फाल्गुण २४, २०७७

मकवानपुरगढीबाट आएका साईकल यात्री सिन्धुलीगढीमा सामूहिक तस्बिर खिचाउदै ।

सिन्धुली,२४ फाल्गुण – मकवानपुर जिल्लाको मकवानपुरगढीबाट शनिवारबाट सुरु भएको साईकल यात्रा सोमबार सिन्धुली जिल्लास्थित ऐतिहासिकस्थल सिन्धुलीगढीमा आईपुगेर टुङिगएको छ । पर्यटन प्रबद्र्धनका लागि मकवानपुरगढीबाट शनिबार सुरु भएको उक्त साईकल यात्रा १३१ किलोमिटर दुरी पार गर्दै सिन्धुली जिल्लाको हरिहरपुरगढी हुदै सिन्धुलीगढी आई पुगेर समापन भएको हो । २७ वटा साईकलमा सिन्धुलीगढी आई पुगेका साईकल यात्रीलाई कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र कमलामाई नगरपालिका खेलकुद विकास समिति अध्यक्ष दिपेन्द्र फुयालले खादा र अबिर लगाई स्वागत गर्नु भएको थियो । सो अबसरमा कमलामाई नगरपालिकाका मेयर खत्रीले सिन्धुलीगढीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पछिल्लो सयमा द्रुत रुपमा काम भई रहेको बताउनुभयो । उहाँले सिन्धुलीगढीमा युद्ध संग्राहलय र रानी दरबार लगायतका पूर्वाधार निर्माणको काम भई रहेको जानकारी दिनुभयो । उक्त साईकल यात्रा गढीकिल्ला जोड्ने महत्वपूर्ण कार्य भएको चर्चा गर्दै उहाँले यसले पर्यटन विकासमा सहयोग पुग्ने सुनाउनुभयो । तीन जना महिला साईकल यात्री सहित २७ जना सहभागि उक्त यात्रा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयको आयोजना, मक्वानपुर जिल्ला साईक्लिङ संघको व्यवस्थापन र पर्वतिय खेलकुद महासंघको संयोजनमा भएको जनाईएको छ । स्थानीय बासिन्दाका अनुसार पछ्ल्लिो समयमा ऐतिहासिक सिन्धुलीगढी परिसरमा भौतिक पूर्वाधार धमाधम निर्माणसँगै पर्यटकिय हब बन्दै गएको छ । दैनिक सिन्धुलीगढी घुम्न आउने आन्तरिक पर्यटकको सङख्या बढ्दै गएको छ । कमलामाई नगरपालिकाले गुरु योजना नै बनाएर सिन्धुलीगढीको विकासमा लागि परेको हो । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयको पर्यटन विकास आयोजना अन्तर्गत कुल चार करोड ३८ लाख ९९ हजार ५२२ रुपैयाको लागतमा रानी दरबारको पुननिर्माण सुरु भएको कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार उक्त दरबार पुननिर्माण गर्न तुलसी/यरिसा जेभि भक्तपुरले ठेक्का हात पारेको छ । सिन्धुलीगढी दरबार पुननिर्माणका लागि उक्त निर्माण कम्पनी र पर्यटन विकास आयोजना बीच २०७७ साल पुस २१ गते सम्झौता भएको छ । उक्त कम्पनीले २०७९ साल जेठ १६ गतेसम्ममा पुरातत्व विभागको समन्व र प्राविधिक सल्लाह लिएर सिन्धुलीगढी दरबारको पुननिर्माण कार्य सम्पन्न गरेर बुझाउनु पर्ने छ । सिन्धुलीगढीका अन्बेषणकर्ता तथा कमलामाई नगरपालिकाका प्रशासकिय अधिकृत सागरकुमार ढकालले भन्नुभयो, ‘सिन्धुलीगढीमा पर्यटकसँग सम्बन्धित अन्य पुर्वाधार निर्माण भएर गढी दरबार (रानी दरबार) पुननिर्माण नहुदा घुम्न आउने जो कोही निरास बनेर फर्किन्थे । रानी दरबारको पुननिर्माण सुरुसँगै उत्साह थपिएको छ ।’ नगरपालिकाका अनुसार सिन्धुलीगढीमा ऐतिहासिक किल्लाहरुको पुननिर्माण, खानेपानी योजना, पिकनिक स्पोट लगायतका पूर्वाधार निर्माण भई सकेका छन् । अहिले धमाधम नेपाली सेनाले नेपालमै पहिलो युद्ध सङग्राहलय निर्माण गरि रहेको छ । युद्ध सङग्राहलय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले गत बर्ष सिन्धुलीगढीलाई नयाँ पर्यटकिय गन्तब्यको रुपमा घोषणा गरेसँगै त्यहा घुम्न आउने आन्तरिक तथा बाहिय पर्यटकको चहलपहल बढ्दै गएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बि.सं. १८२४ मा नेपाल एकिकरणको समयमा कप्तान किनलोकको नेतृत्वमा आएको अंग्रेज फौजलाइ तत्कालिन गोर्खाली सेनाले सिन्धुलीगढीको युद्धमा पराजित गरेकोले सिन्धुलीगढीले गर्बिलो ईतिहासि बोकेको छ ।  

प्रतिक्रिया