काठमाडौं २४ फाल्गुन - नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८६ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार ७५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा १२५० मा कारोबार भएकोमा आज बढेर १२६५ पुगेको महासंघले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र अध्यक्ष कताको ?
काठमाडौं २४ फाल्गुन - ऋषि कट्टेलले मागेको नेकपाको नामको अधिकार आफूसँग मात्र रहेको भन्ने निवेदनलाई न्याय दिने नाममा सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले आदेश बङ्ग्याउँदा महामहिम राष्ट्रपति विद्या भण्डारीलाई कुन दलको सिफारिशमा राष्ट्रपति बनाइएको भन्ने राजनीतिक अभिलेख माटोमा मिलेको छ । त्यसैगरी सोही आदेशले उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सबैको राजनीतिक पार्टीसँगको आवद्धतालाई धुलिसात पारेर ‘निर्दलीय’ बनाइदिएको छ ।
कट्टेलले मागेको नामको कुरो मात्र हो । उनले मेरो दलको नाम अर्को पार्टीसँग जुधेको हुँदा त्यो नाममा मेरो दाबी छ भनेका हुन् । त्यस्तो अवस्थामा अदालत र न्यायाधीशले बढीमा नेकपा भन्ने नाम कट्टेलकै हो मात्र भन्न सक्छ । तर नमागेको विषयमा न्याय दिएर अदालतले ‘भष्मासुर प्रवृत्ति’ देखाएको वामपन्थी राजनीतिज्ञ तथा विश्लेषकहरूले बताएका छन् ।
नेकपाकी नेतृ पम्फा भुसालले राजनीतिक दलबीचको एकीकरणलाई अदालतले कुनै बैंक तथा कम्पनीहरूबीच भएको मर्जर र मर्जर भाँडिएपछिको अवस्थाको रूपमा लिएको बताउनु भएको छ । ‘कम्पनीहरूबीचको मर्जर भाँडिएपछि मुद्दा पर्यो भने अदालतले पुरानै स्वामित्ववालाहरूलाई फिर्ता गरेझैँ आजको फैसला भयो,’ भन्दै भुसालले थप्नुभयो ‘राजनीतिक दलहरूबीचको एकतापछि चुनिएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अध्यक्ष र संसदीय दलका सभापतिहरू अब कुन दलको हुने भए ?’
त्यसैगरी, उपनिर्वाचनमा निर्वाचित विद्या भट्टराई र राष्ट्रिय सभामा पछिल्लो पटक निर्वाचित १६ जना सांसदको पार्टीगत हैसियतलाई पनि जीरो बनाइदिएको छ । विभिन्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत कुनैपनि पार्टीको हैसियतमा नरहने बनाइदिएको छ । हुन तः आजको फैसलापछि प्रधानमन्त्री केपी ओली स्वयम अल्पमतको सरकारको नेतृत्वमा पुग्नुभएको छ ।अघिल्लो साता मात्र सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारको हैसियत संविधानको धारा ७६ (१) मा रहेको आधारलाई टेकेर संसद पुनर्स्थापना गरेको थियो । उसले फैसलामा पार्टी एकीकरणलाई आधार मान्दै सरकारको हैसियत धारा ७६ (१) को नै हो भनेको छ । किनकि तीन वर्षअघि सरकार गठन हुँदा माओवादीको समर्थनमा एमालेका अध्यक्ष ओलीले धारा ७६ (२) बमोजिम सरकारको नेतृत्व गर्नुभएको थियो । तर,पाँच सदस्यीय संवैधानिक इजलासको फैसलाले पार्टी एकीकरणपछिको अवस्थामा पनि धारा ७६ (१) नै भनेको छ । सर्वोच्चको त्यो भन्दा सानो दुई सदस्यीय बेञ्चले संवैधानिक फैसलालाई चुनौति दिएर फरक आदेश दिएको नेकपाका नेताहरूको बुझाई रहेको छ ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले प्रधानमन्त्री ओलीको हैसियतमाथि नै प्रश्नचिन्ह उठाएपछि बहुमतको सरकार अब स्वतः अल्पमतमा परिणत भएको छ ।
अदालतको फैसलालाई कसरी लिनुभएको छ भन्ने जिज्ञाशामा नेतृ भुसालले भन्नुभयो पुनरावलोकन गर्नुपर्छ । उहाँको तर्क छ ‘श्रीमतीलाई गिँडेर हत्या स्वीकार गरेको अभियोगमा जेल बसेका सशस्त्र डीआईजी रञ्जन कोइरालालाई चोख्याउने प्रधानन्यायाधीश चोलेन्द्र समशेरसमेतको आदेशलाई त यिनै एमाले-माओवादी जगाउने बमकुमार श्रेष्ठ,कुमार रेग्मी र प्रकाश ढुंगाना श्रीमानले पुनरावलोकनको निम्ति निस्सा प्रदान गरेका थिए भने राजनीतिक मुद्दामा भएको फैसलाउपर पुनरावलोकन नहुने भन्ने प्रश्नै हुँदैन ।’
भुसालले जोड दिँदै भन्नुभएको छ ‘संवैधानिक बेञ्चको पछिल्लो फैसलालाई चुनौति दिएको फैसलाको बारेमा कानुनी पुनरावलोकन नहुने र नगर्ने भन्ने प्रश्नै आउँदैन ।’
आज फाल्गुण २४ गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २४ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी,२८ घडी २२ पला, बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,४० घडी २७ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग– व्यातिपात,२३ घडी ५४ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी २० पला । नारी दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । तपाईंको विचारलाई धेरैले मन पराउने छन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुनुका साथै रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्य योजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते :- बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाई अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योग तर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ । चोट पटकको योग देखिएकाले सवारी साधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।