शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको सुनकोशीमा प्रशिक्षण तालिम सुरु

आइतवार , फाल्गुण ९, २०७७

सिन्धुली – सुनकोशी गाउँपालिका–५ रामटारमा स्वास्थ्य सेवा प्रदायकहरुलाई लान्छना रहित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सेवाको बिषयमा दुई दिने प्रशिक्षण तालिम शनिबारदेखी सुरु भएको छ ।

किशोरीमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको हो । जनजाती समाज बिकास कार्यक्रम जेएसडिपीको आयोजना, प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सुनकोशी गाउँपालिकाको समन्वयमा तालिम सन्चालन गरिएको हो ।

तालिमको उद्घाटन समारोहमा बोल्दै सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपानेले हाल सुनकोशी गाउँपालीकामा बाल बिबाह एकदमै बढीरहेको र गाउँपालीका भौगोलीक रुपले बिकट रहेको बताउनुभयो । कसैले कण्डम, पिल्सको कुरा गर्‍यो भने त्यसलाई बिभिन्न लान्छना लगाएर समाजबाट बहिष्कार गर्ने भएकाले त्यसको समाधानको लागि स्वास्थ्य स्वयमंसेविका र स्वास्थ्यकर्मीहरुको मुख्य भूमिका रहेको उहाँले बताउनुभयो ।

तालिममा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखा संयोजक माधब प्रधान, इन्दिरा राजभण्डारी, चार वटा स्वास्थ्य चौकीका प्रतिनिधी, सात वटा वडाबाट एक\ जना स्वास्थ्य स्वयमंसेविका सहित ३० जनाको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण प्लान इन्टरनेश्नल नेपालका यौन तथा प्रजनन् स्वास्थ्य सल्लाहाकार निराजन खड्काले गर्नुभएको थियो ।

सिन्धुलीका किसान रासायनिक मलको जोहोमा

सिन्धुली०९ फाल्गुण,– सिन्धुलीका किसान यो बर्ष रासायनिक मलको जोहोमा जुटेका छन् । रासायनिक मल गत बर्ष खेतीको मुख्य सिजनमा नपाएर तर्सिएका किसान यो बर्ष पछिको लागि भनेर बेलैमा खरिद गरी जोहो (मौज्दात राख्न) गर्न सुरु गरेको स्थानीयले जनाएका छन् । गोलन्जोर गाँउपालिका–३ ग्वाल्टारस्थित जनजागृती जुनार उत्पादन कृषि सहकारी संस्थाका अनुसार पछि मकै बालीमा हाल्न भनेर किसानले मौज्दात राख्नाले अझै युरिया मलको अभाव देखिएको छ ।

उक्त सहकारीका बल बिक्रेता नरबहादुर बलम्पाखीले गत बर्षको युरिया मलको हाहाकार सम्झेर किसाले यो बर्ष बेलैमा मल किनेर राख्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो बर्ष माघ २६ गते ७० बोरा युरिया मल ल्याएको थिए । ल्याउने बित्तिकै हारालुछ गरि सकियो । अहिले पनि अब मल कहिले आउछ भनेर किसानले फोन गरेर हैराख खेलाएका छन् ।” पछि मकै र गँहु बालीमा हाल्न भनेर किसानले युरिया मल लैजाने गरेको उहाँले सुनाउनुभयो ।

त्यस्तै तीनपाटन गाँउपालिका–२ स्थित मल बिक्रेता पाटनदेवी बिजबृद्धि कृषि सहकारी संस्थाले पनि रासायनिक मल (युरिया) खोज्दै किसान दैनिक आउने गरेको जनाएको छ । उक्त सहकारीका सञ्चालक पुण्यप्रसाद दाहालले अहिले खेतीको मुख्य सिजन नभएपनि किसान युरिया मल खोज्दै आई रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानले पर्याप्त मात्रामा मल पाएका छैनन् । एक बोरा मल पाँच\सात जनालाई बाँड भनेर दिने गरेको छु । पुर्‍याउन नसक्ने भएकोले वडा अध्यक्षलाई अगाडी राखेर बाँड्ने गरेको छु ।” मल आएको सुन्ने बित्तिकै मौरीको गोलो झै किसानको भिड लाग्ने गरेको उहाँको भनाई छ ।

तीनपाटन क्षेत्रलाई बार्षिक करिब दुई हजार पाँच सय बोरा आवश्यक पर्नेमा गत बर्ष आफुले मल नपाएर करिब सात सय बोरा मात्रै बिक्री गरेको उहाँले सुनाउनुभयो । गत बर्षको अभावले पनि यो बर्ष किसानले पछिको लागि समेत मलको जोहो गर्न थालेको मल बिक्रेता दाहालको भनाई छ ।

यता सिन्धुली, रामेछाप र दोलखा जिल्लामा गरी एक सय वटा स्थानीय कृषि सहकारी संस्था मार्फत रासायनिक मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीको गोदाम रित्तिएर यतिखेर ताला लागेको छ उक्त कम्पनिका अनुसार अहिले बेला बेलामा रासायनिक मल आई रहेपनि सँधै नै अभाव भई रहेको छ । उक्त कम्पनिका प्रमुख नबराज महत पनि गत बर्षको अभाव सम्झेर किसानले पछिको लागि किनेर राखेको हुन सक्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिले मलको अफसिजन मानिन्छ । तै पनि मलको बिक्री चाप घटेको छैन । किसानले पछिको लागि किनेर राखेको हुन सक्ने अनुमान गरेका छौ ।” यो बर्ष साउनदेखि फागनु महिनाको पहिलो सातासम्म युरिया ७६१ मेट्रिक्टन, डिएपी ७०२ मेट्रिक्टन र पोटास ७१ मेट्रिक्टन प्राप्त भई तीन जिल्लामा बिक्री भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुली, रामेछाप र दोलखा जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत प्राप्त बिबरण अनुसार बार्षिक ११ हजार मेट्रिक्टन रासायनिक मल आवश्यक पर्दछ । जबकी यो कार्यालयको बार्षिक कार्यक्रम चार हजार ५७१ मेट्रिक्टन रहेको छ ।”

यो बर्ष सिन्धुली जिल्लामा युरिया ३८२ दशमलब ५५० मेट्रिक्टन, डिएपी २२७ दशमलब दुई मेट्रिक्टन र पोटास दुई दशमलब २५० मेट्रिक्टन बिक्री भएको छ ।

रामेछाप जिल्लामा युरिया १२७ दशमलब दु्ई मेट्रिक्टन, डिएपी ५० दशमलब ५५० मेट्रिक्टन र पोटास चार दशमलब ५५० मेट्रिक्टन पठाईएको छ । त्यस्तै दोलखामा युरिया २५१ दशमलब ६५० मेट्रिक्टन, डिएपी २०५ दशमलब १५० मेट्रिक्टन र पोटास २७ दशमलब ६५० मेट्रिक्टन बिक्री गरिएको उक्त कम्पनीको भनाई छ । हाल गोदाममा डिएपी र पोटास अलिअलि मौज्दात रहेपनि युरिया सकिएको अवस्था छ ।

उक्त कम्पनीले मल बिक्रेता सूचीमा दर्ता प्रमाणपत्र भएको, सम्बन्धित वडाको सिफारिस, मल मागको बैठक निर्णयको आधारमा स्थानीय कृषि सहकारी संस्थालाई सुलभ मूल्यमा रासायनिक मल बिक्रि बितरण गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया