शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका किसान रासायनिक मलको जोहोमा

आइतवार , फाल्गुण ९, २०७७

रासायनिक मलको अभावमा ताला लागेको कृषि सामग्री कम्पनी सिन्धुलीको गोदाम घर ।

सिन्धुली०९ फाल्गुण,– सिन्धुलीका किसान यो बर्ष रासायनिक मलको जोहोमा जुटेका छन् । रासायनिक मल गत बर्ष खेतीको मुख्य सिजनमा नपाएर तर्सिएका किसान यो बर्ष पछिको लागि भनेर बेलैमा खरिद गरी जोहो (मौज्दात राख्न) गर्न सुरु गरेको स्थानीयले जनाएका छन् । गोलन्जोर गाँउपालिका–३ ग्वाल्टारस्थित जनजागृती जुनार उत्पादन कृषि सहकारी संस्थाका अनुसार पछि मकै बालीमा हाल्न भनेर किसानले मौज्दात राख्नाले अझै युरिया मलको अभाव देखिएको छ । उक्त सहकारीका बल बिक्रेता नरबहादुर बलम्पाखीले गत बर्षको युरिया मलको हाहाकार सम्झेर किसाले यो बर्ष बेलैमा मल किनेर राख्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो बर्ष माघ २६ गते ७० बोरा युरिया मल ल्याएको थिए । ल्याउने बित्तिकै हारालुछ गरि सकियो । अहिले पनि अब मल कहिले आउछ भनेर किसानले फोन गरेर हैराख खेलाएका छन् ।” पछि मकै र गँहु बालीमा हाल्न भनेर किसानले युरिया मल लैजाने गरेको उहाँले सुनाउनुभयो । त्यस्तै तीनपाटन गाँउपालिका–२ स्थित मल बिक्रेता पाटनदेवी बिजबृद्धि कृषि सहकारी संस्थाले पनि रासायनिक मल (युरिया) खोज्दै किसान दैनिक आउने गरेको जनाएको छ । उक्त सहकारीका सञ्चालक पुण्यप्रसाद दाहालले अहिले खेतीको मुख्य सिजन नभएपनि किसान युरिया मल खोज्दै आई रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले पर्याप्त मात्रामा मल पाएका छैनन् । एक बोरा मल पाँच\सात जनालाई बाँड भनेर दिने गरेको छु । पुर्‍याउन नसक्ने भएकोले वडा अध्यक्षलाई अगाडी राखेर बाँड्ने गरेको छु ।” मल आएको सुन्ने बित्तिकै मौरीको गोलो झै किसानको भिड लाग्ने गरेको उहाँको भनाई छ । तीनपाटन क्षेत्रलाई बार्षिक करिब दुई हजार पाँच सय बोरा आवश्यक पर्नेमा गत बर्ष आफुले मल नपाएर करिब सात सय बोरा मात्रै बिक्री गरेको उहाँले सुनाउनुभयो । गत बर्षको अभावले पनि यो बर्ष किसानले पछिको लागि समेत मलको जोहो गर्न थालेको मल बिक्रेता दाहालको भनाई छ । यता सिन्धुली, रामेछाप र दोलखा जिल्लामा गरी एक सय वटा स्थानीय कृषि सहकारी संस्था मार्फत रासायनिक मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुलीको गोदाम रित्तिएर यतिखेर ताला लागेको छ उक्त कम्पनिका अनुसार अहिले बेला बेलामा रासायनिक मल आई रहेपनि सँधै नै अभाव भई रहेको छ । उक्त कम्पनिका प्रमुख नबराज महत पनि गत बर्षको अभाव सम्झेर किसानले पछिको लागि किनेर राखेको हुन सक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले मलको अफसिजन मानिन्छ । तै पनि मलको बिक्री चाप घटेको छैन । किसानले पछिको लागि किनेर राखेको हुन सक्ने अनुमान गरेका छौ ।” यो बर्ष साउनदेखि फागनु महिनाको पहिलो सातासम्म युरिया ७६१ मेट्रिक्टन, डिएपी ७०२ मेट्रिक्टन र पोटास ७१ मेट्रिक्टन प्राप्त भई तीन जिल्लामा बिक्री भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुली, रामेछाप र दोलखा जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत प्राप्त बिबरण अनुसार बार्षिक ११ हजार मेट्रिक्टन रासायनिक मल आवश्यक पर्दछ । जबकी यो कार्यालयको बार्षिक कार्यक्रम चार हजार ५७१ मेट्रिक्टन रहेको छ ।” यो बर्ष सिन्धुली जिल्लामा युरिया ३८२ दशमलब ५५० मेट्रिक्टन, डिएपी २२७ दशमलब दुई मेट्रिक्टन र पोटास दुई दशमलब २५० मेट्रिक्टन बिक्री भएको छ । रामेछाप जिल्लामा युरिया १२७ दशमलब दु्ई मेट्रिक्टन, डिएपी ५० दशमलब ५५० मेट्रिक्टन र पोटास चार दशमलब ५५० मेट्रिक्टन पठाईएको छ । त्यस्तै दोलखामा युरिया २५१ दशमलब ६५० मेट्रिक्टन, डिएपी २०५ दशमलब १५० मेट्रिक्टन र पोटास २७ दशमलब ६५० मेट्रिक्टन बिक्री गरिएको उक्त कम्पनीको भनाई छ । हाल गोदाममा डिएपी र पोटास अलिअलि मौज्दात रहेपनि युरिया सकिएको अवस्था छ । उक्त कम्पनीले मल बिक्रेता सूचीमा दर्ता प्रमाणपत्र भएको, सम्बन्धित वडाको सिफारिस, मल मागको बैठक निर्णयको आधारमा स्थानीय कृषि सहकारी संस्थालाई सुलभ मूल्यमा रासायनिक मल बिक्रि बितरण गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया