शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भागरथी घट्नाले लियो नयाँ मोड, आमा भन्छिन्,"चौकी अगाडि गएर मर्छु"

बुधवार , फाल्गुण ५, २०७७

भागरथी हत्यामा संलग्न आरोपीलाई आज (बुधबार) प्रहरीले अन्दाजी १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन् । उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका दिनेश भट्टले भागरथीको हत्या गरेको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन् । किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेका उनको भनाई छ । ‘घट्ना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, ऊ कान्छो हो । ऊ भन्दा छोरी ठूली थिई । एक्लैले कसरी मा र्‍यो भागरथीलाई मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,’ भागरथीकी आमा द्रोपतीले भनिन् ।

हिजोसम्म सामूहिक ब... भन्ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्ने यो हत्यारा लुकाउने खेल भएकोे द्रोपतीको भनाइ छ । द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन् । ‘जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन। तबसम्म म शव पनि बुझ्दैन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,’ उनले भनिन् ।

आरोपी नयाँ विद्यार्थी, स्वभाव मध्यम खालको थियो

भागरथी हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्टले नै हत्या गरेको प्रमाण सहितको पुष्टि नभएसम्म परिवारले भागरथीको शव नबुझ्ने बताएका छन् । घटनाको अनुसन्धान गरिपाउ भनी प्रहरी कार्यालयमा उजुरी दिनुभएका भागरथीका नजिकका काका नाता पर्ने शिवराज भट्टले घटनामा निजको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताउनुभयो । शिवराजले भन्नुभयो, ‘दिनेशले हत्या आफैले गरेको स्वीकारे पनि विश्वास गर्ने स्पष्ट आधार नदेखिएकोले पुष्टि नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौं ।’

शिवराजले अगाडि भन्नुभयो, ‘दिनेशलाई मैले पनि जिप्रकामा भेटे । एकान्तमा लगेर २० मिनेट जति कुरा गर्दा हत्या गरेको तर, ब.... नगरेको बताउँदै छ । घटना प्रकृति र पोष्टमार्टम रिपोर्टमा ब..... हत्या भन्ने आएको छ । कसरी विश्वस गर्ने ? पुष्टि हुनुपर्छ ।’ घरायसी पुरानो रिसईवीको विषयका बारेमा जिज्ञासा राख्दा ३० वर्ष पुरानो घटनाकै कारणमा भागरथीको हत्याको कारण हो भन्ने आधार नभएको भट्टले बताउनुभयो । घटनामा अरुको पनि संलग्नता भए नभएको बारेमा पनि थप अनुसान्धान हुनु पर्ने परिवारले माग गरेका छन् ।

आरोपी दिनेश भर्खरै कक्षा ११ मा भर्ना भएका थिए

आरोपी दिनेश भट्टले कक्षा १० सम्मको पढाई चडेपानी गाउँकै भूमिराज माविबाट गरेका थिए । कोरोनाका कारण लामो सयम विद्यालय बन्द हुँदा दिनेशले लामो समय घरमै बसेर बिताएका थिए । विद्यालय खुलेपछि घरबाट करिब एक घण्टाको दूरीमा पर्ने सनातन धर्म मावि खोचलेकमा दिनेश भट्ट भर्खरै कक्षा ११ मा भर्ना भएको विद्यालयका प्राचार्य दलवेद नाथले बताउनुभयो । प्राचार्य नालले भन्नुभयो, ‘दिनेश विद्यालय आउँन थालेको १५/२० दिन मात्र भएको थियो । अहिले पनि कक्षा ११ को भर्ना चलिरहेको छ । उसले भर्नाका लागि चाहिने सबै कागजपत्र बुझाएको पनि छैन । छोटो समयमा दिनेशलाई चिन्ने मौका पनि मिलेन ।’

दिनेशको विषयमा भूमिराज मावि चडेपानीक प्रधानाध्यापक प्रजापति भट्टले कक्षा १० सम्म पढ्दा मध्यम खालको विद्यार्थी भएको बताउनुभयो । प्रधानाध्यापक भट्टले भन्नुभयो, ‘गाउँको भूमिराज माविमा कक्षा १० सम्मको मात्र पढाई हुन्छ । दिनेशले गत वर्ष २०७६ सालमा एसईई दिएको हो । विद्यालयमा रहँदा अध्ययन र स्वभावका दृष्टिले मध्यय खालको विद्यार्थी हो । विद्यालयमा रहँदा अहिलेसम्म अप्रिय घटना गरेको तथ्याङ्क छैन ।’

भागरथी भट्टको ब..... तथा हत्या प्रकरणमा प्रहरीले भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टे बस्ने किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । बुधबार दिउँसो २ः ०० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर आरोपित भट्टलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका आरोपी दिनेश भट्ट भागरथी अध्ययनरत सनातन धर्म माविमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । पत्रकार सम्मेलनमा बोल्नुहुँदै सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तरमराज सुवेदीले घटनासँग तमाम सबुत र प्रमाणका आधारमा भागरथी भट्टको हत्या आरोपमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको बताउनुभयो । डीआईजी सुवेदीले भन्नुभयो, ‘तमाम तथ्य–प्रमाण, युवाको फोनको लोकेशन र बयानका आधारामा पक्राउ गरेका हौं । जिल्ला अदालतमा म्याद थपरेर सरकारी वकिलको रोहबरमा विस्तृत अनुसन्धान अघि बढाईने छ ।’ पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले घटनास्थलको प्रकृति बारे जानकारी दिनुहुँदै भागरथीको टाउँको चोट रहेको, घाँटीमा दबाए जस्तो डाम रहेको, खुट्टाको औलामा घाउँ रहेको र यौ...बाट र... जस्तो पदार्थ बगेको अवस्थामा शव भेटिएको बताउनुभयो ।

अहिलेसम्मको प्रहरी अनुसन्धान बारे जानकारी दिनहुँदै डीआईजी सुवेदीले आरोपित दिनेश भट्ट घटनाको दिन अन्तिम विषय नपढी सनातन धर्म माविबाट ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई बजारमै छाडेर एक्लै चडेपानी गाउँतर्फ गएको खुलेको बताउनुभयो । भागरथी भट्ट २ः०० बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलका बाटो ढुकेर भागरथीको हत्या गरेको खुल्न आएको उहाँले बताउनुभयो ।

आरोपित दिनेश भट्टमाथि कर्तव्य ज्यान मुद्दा र ब...रको कसुरमा अनुसन्धान अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । घटनामा अरुको पनि संलग्नता रहे नरहेको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा डीआईजी उत्तमराज सुवेदीले अहिले दिनेश भट्टको मात्र संलग्नता देखिएको बताउनुभयो । विस्तृत अनुसन्धानबाट थप कुरा खुल्ने उहाँले बताउनुभयो । अनुसन्धानलाई असर नपर्ने गरि थप तथ्य खुलेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँने डीआईजी सुवेदीले बताउनुभयो । घनाको अनुसन्धानमा पारिवारिक रिसईवीको विषयमा पछि थप कुरा खुल्ने सुवेदीले बताउनुभयो । प्रहरीले लामो अनुसन्धान पश्चात प्रमाणका आधारमा पक्राउ गरेकोले अनावश्यक शङ्का नगर्न पनि डीआईजी सुवेदीले आग्रह गर्नुभएको छ । भागरथी हत्याको घटना निर्मलाको जस्तो नहोस् भनेर आफै अनुसन्धनमा खटिएर १३ दिनपछि आरोपित सार्वजनिक गरिएको डीआईजी सुवेदीले बताउनुभयो । दोगडाकेदारमा यसअघि भएका हत्याका घटनाको पनि अनुसन्धान गर्ने जानकारी दिएको छ ।

५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

भागरथी हत्यामा संलग्न भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । भट्टविरुद्ध जबरजस्ती क... र ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।बैतडीको दोगडाकेदार गाउँपालिककी १७ वर्षीया किशोरी भागरथी माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।अभियुक्त भट्टले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया