बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले उक्त दिनका सम्पूर्ण कुरा प्रहरी सामु खुलाएका छन् । घट्नाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएका थिए । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।
तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो । उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको हत्या भएको प्रहरीले बताउँदै आएको छ । तर हत्या स्वीकार गरेका दिनेशले आफूले ब ..नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ । पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ । ’ उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । आफूले पहिल्यै मार्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष बयान दिएको स्रोत बताउँछ । उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि ब.... गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए ।
भागरथीका काका शिवराज भन्छनः घटनाकै दिनदेखि त्यो केटो डराएको थियो
भागरथी बेपत्ता भएको दिनदेखि हामी खोजीमा थियौँ । छिमेकी एउटा केटो केही डराए–डराएजस्तो देखिन्थ्यो । उसले ... र हत्या आफैँ गरेको वा देखेको हुन सक्ने हाम्रो विश्वास थियो । उसको असामान्य गतिविधि देखेर हामीले पनि निगरानी गरिरहेका थियौँ । भागरथीको बलात्कार र हत्याको विरोधमा भइरहेका विरोध प्रदर्शनमा पनि ऊ जाने गरेको थियो । समाजमा उसको पृष्ठभूमि नकारात्मक थियो । भागरथी र उसको घर नजिकै थियो, तर सम्बन्ध राम्रो थिएन । त्यसैले उसको परिवार बसाइँ सरेर एक किलोमिटर पर एकान्तमा गएको थियो । अहिले पुरानो रिसइबीको बहाना बनाएर यत्रो जघन्य अपराध गरेको छ । हामी धेरै दुःखी छौँ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।
टाइमलाइन
पहिलो दिन (२१ माघ): विद्यालय गएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बेपत्ता । विद्यालयबाट नफर्किएपछि परिवारले खोजबिन सुरु गरे । दोस्रो दिन (२२ माघ: साँझ घरबाट अढाई किलोमिटरनजिकै लवलेक जंगलमा शव भेटियो ।
तेस्रो दिन (२३ माघ): बलात्कारपछि हत्या गरेको आशंका गर्दै विद्यार्थीले आन्दोलन थाले । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धानमा जुट्यो । चौथो दिन (२४ माघ): घटनालाई लिएर आन्दोलन पनि चर्कँदै गयो । दोषी पत्ता नलगाएसम्म परिवारले शव बुझ्न मानेन । धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु । पाँचौँ दिन (२५ माघ): घटनास्थल पुगेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानलाई साँघुरो बनाइदिएको दाबी गरे । बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा ।
छैटौँ दिन (२६ माघ): पोस्टमार्टम रिपोर्टमा भागरथीको ....पछि हत्या भएको पुष्टि । बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । तर, घटनास्थलमा फेला परेको मोबाइल र भागरथीको फेसबुक एकाउन्टबाट सन्तोषजनक सुराग नमिलेको प्रहरीकै भनाइ । सातौँ दिन (२७ माघ): प्रहरीको भनाइ थियो, ‘स्थानीय बासिन्दाबाट पर्याप्त सूचना नआउँदा अनुसन्धानमा केही ढिलाइ भयो । मोबाइल र सामाजिक सञ्जाललाई आधार बनाएर अनुसन्धान हुँदै छ ।’ आठौँ दिन (२८ माघ): अनुसन्धान जारी । अनुसन्धानले गति नलिएकोमा परिवार, विद्यार्थी र स्थानीय असन्तुष्ट । नवौँ दिन (२९ माघ): विद्यार्थीले आन्दोलन तीव्र बनाए । प्रहरीद्वारा केही व्यक्तिलाई निगरानीमा राखेको जानकारी । दशौँ दिन (३० माघ): निर्मला पन्तदेखि भागरथी भट्टसम्मको ...पछि हत्याको विरोधमा राजधानीमा महिलाको सिंहदरबार मार्च । बैतडी सदरमुकाम गोठालापानीमा विद्यार्थीले थाल बजाएर विरोध गरे । एघारौँ दिन (१ फागुन): सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीकोे टोलीको अनुसन्धान जारी । शव जिल्ला अस्पतालमै । निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्रीको भनाइ छ । एघारौँ दिन (२ फागुन): अनुसन्धान जारी । सुदूरपश्चिम प्रदेश सभाका सामाजिक विकास समितिका सदस्यहरू घटनास्थल पुगे र परिवारसँग भेट गरे । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा परिवारलाई दुई लाख सहयोग । बाह्रौँ दिन (३ फागुन):अनुसन्धान जारी । तेह्रौँ दिन (४ फागुन): गृहमन्त्रीद्वारा अनुसन्धानमा नजिक पुगेको दाबी,...पछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको साँझ पुष्टि ।
न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी
बैतडीकी किशोरी भागरथी भट्टको...र र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ । घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको ...समेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।
‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा ... तथा हत्या गरेको उनले स्विकारेका छन् । भोलि (बुधबार) उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले मंगलबार राति नयाँ पत्रिकासँग भने । स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् । यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई ... गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने । अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ । भागरथीको ...पछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । ‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले नयाँ पत्रिकासँग भने, ‘यो घटनालगत्तै त्यो केटो डराएको देखिन्थ्यो, ऊ आफैँ संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ । निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका छन् । प्रहरी अनुसन्धानमा शंका गर्दै पीडित परिवारले अहिलेसम्म शवसमेत बुझेका छैनन् । तर, प्रहरीले भने शंकास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ । भागरथी हत्याको १३औँ दिन पनि बैतडीका विभिन्न ठाउँमा आन्दोलन जारी रह्यो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै दियो बालेर विरोध जनाए । त्यस्तै, दोगडाकेदार गाउँपालिकामा निरन्तर प्रदर्शन हुँदै आएको छ । स्थानीयले तीन दिनदेखि घन्टी जुलुस गर्दै आएका छन् ।