काठमाडौं २ फाल्गुण – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकता विवादमा अनिर्णित हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दावी गर्दै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई कानूनबमोजिम प्रक्रियामा प्रवेश नै गराएको छैन ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलको मान्यतासम्बन्धी दावी नआएकाले नेकपाको विवादमा प्रवेश गर्न नसकेको बताउँदै आएको आयोगले प्रचण्ड–नेपालको दावीपछि पनि मौनता साँधेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रचण्ड–नेपाल पक्षले माघ २० गते केन्द्रीय कमिटीको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै नेकपाको आधिकारिकताको मागदावी गरेर आयोगमा निवेदन दिएको थियो । बैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन हुने दिन घट्दै गएका बेला महत्त्वपूर्ण राजनीतिक विषय सल्टाउन देखाएको उदासिनताले संवैधानिक निकाय आयोगको भूमिकाप्रति प्रश्न उठ्न थालेको छ ।
प्रचण्ड–नेपाल पक्षले आयोगमै पुगेर त्यस्तो आशंका जनाइसकेको छ । आयोग बुझेका तथा कानूनका जानकारले समेत नेकपा विवादको छिनोफानोमा गरिएको ढिलाइले आयोगको स्वतन्त्र छविलाई धक्का पुग्ने बताउँदै आएका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेकपाको विवादलाई यथास्थितिमा राखेर चुनाव हुन नसक्ने बताए । ‘विवादित विषयमा आयोगले निर्णय नदिएकै कारण कुनै पनि राजनीतिक दल वा ठूलो समूह निर्वाचनमा भाग लिन नमिल्ने वातावरण बन्न दिनु हुँदैन,’ उप्रेतीले भने, ‘त्यसले निर्वाचन नहुने वातावरण बनाउँछ । साँच्चै चुनाव हुने हो, गराउने हो भने कुनै किसिमको कम्प्रोमाइज नगरिकन आयोगले समस्या समाधान गर्नुपर्छ ।’
निर्वाचन केही समय सार्नुपरे पनि नेकपा विवादको छिनोफानो गरेरै जानुपर्ने पूर्व प्रमुख आयुक्तहरुले आयोगलाई सुझाव समेत दिइसकेका छन् । निर्वाचनको घोषणा र नेकपाको विवाद प्रारम्भ भएपछि दोस्रो पटक माघ तेस्रो हप्ता आयोगमा बेलाइएका बेला पूर्व प्रमुख आयुक्त र आयुक्तहरुको सामूहिक सुझाव नै नेकपाको विवादलाई जसरी पनि सल्टाएर मात्रै अगाडि बढ्नुपर्ने थियो ।
आयोगले भने विवादलाई टुंगोमा पुर्याउनेभन्दा पनि यथास्थितिमै राख्न खोजेको बुझिन्छ । स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४(१) मा रहेको विवाद प्रारम्भ भएको ३० दिनभित्र आधिकारिकतासम्बन्धी मागदावी गर्नुपर्ने विषयको सेरोफेरोमा आयोगमा छलफल भइरहेको छ । अर्थात् विवाद समाधान गर्नेभन्दा पनि प्रचण्ड–नेपालको मागदावीको निवेदन नै म्याद गुज्रिसकेपछि आएको भन्दै त्यसलाई हेर्न नसकिने कोणबाट आयुक्तहरुबीच छलफल चलेको स्रोतको भनाइ छ ।
‘चुनावको तिथि छोट्टिँदै गएका बेला नेकपाको विवाद समाधान आयोगका लागि उच्च प्राथमिकतामा हुनुपर्थ्यो,’ आयोग स्रोतले भन्यो, ‘आफैंले पत्र पठाएर मागदावी गर्न आऊ भनेको आयोग दावी आएपछि भने त्यसलाई अस्वीकार गर्ने उपाय खोज्न जुटेको छ । समाधानको मनसाय हुँदो हो त तत्कालै त्यस निवेदनलाई प्रक्रियामा प्रवेश गराएर आयोगले कानूनअनुसार अर्को पक्षलाई जवाफका लागि पत्राचार गरिसक्थ्यो ।’
दलभित्रको विवादमा कुनै प्रकारको मागदावी आए आयोगले त्यस्तो दावीको प्रमाणित प्रतिलिपि अर्को पक्षलाई पठाएर १५ दिनभित्र जवाफ दिन पत्राचार गर्नुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४(२) मा रहेको छ ।
तर आयोगले अर्को पक्ष (ओली) लाई पत्राचार गरेको छैन । आयोगका सीमित केही पदाधिकारीबीच अनौपचारिक कुराकानीमा नेकपाभित्र प्रतिनिधिसभा विघटन गरिएकै दिन पुस ५ गते विवाद प्रारम्भ भएको र प्रचण्ड–नेपाल पक्षको मागदावी माघ २० गते आएको हुनाले कानूनले दिएको ३० दिनको समयको हदम्याद गुज्रिसकेको कोणबाट छलफल भएको स्रोतले उल्लेख गरेको छ ।
अर्कोतिर निर्वाचन अवधिमा राजनीतिक दलको विवाद निरुपणमा हात हाल्न नसकिने राजनीतिक दलसम्बन्धी नियमावलीको प्रावधानलाई नेकपाको विवाद समाधानको बाधकका रुपमा आयोगले अर्थ्याउन खोजेको छ । जबकि आयोग आफैंले पुस १९ गते नेकपाको विवादलाई नसल्टाइकन निर्वाचनमा जान सकिँदैन भन्ने सकारात्मक आशयले नियमावलीको नियम २३(६) को प्रावधान संशोधन गरी हटाएको थियो । तर सरकारले आयोगको निर्णयलाई राजपत्रमा प्रकाशन गर्नबाटै रोकेपछि संशोधन कार्यान्वयनमा ल्याउन समस्या छ ।
‘ऐनमा रहेको विवाद प्रारम्भ भएको ३० दिनभित्र दावी पेश गर्नुपर्ने तथा निर्वाचनको अवधिमा दलको विवाद हेर्न नमिल्ने दुईटा आधार बनाएर नेकपाको विवाद यथास्थितिमा राख्न खोजिएको छ,’ आयोग स्रोतले भन्यो, ‘आयोगले त्यस्तै खालको निर्णय गर्यो भने आश्चर्य नमाने हुन्छ ।’
गत हप्ता आयोगमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन र नियममा रहेको त्यही प्रावधानतर्फ प्रमुख आयुक्त र आयुक्तहरुको ध्यानाकर्षण गराएका थिए । उनको प्रष्ट आशय थियो – ऐन, नियमलाई आधार मानेर प्रचण्ड–नेपाल पक्षको आधिकारिकता मागदावीसम्बन्धी निवेदनलाई अगाडि नबढाइयोस् । प्रचण्ड–नेपाल पक्षको मागदावी सम्बन्धी निवेदनलाई हद म्याद गुज्रेका कारण कानूनी प्रक्रियामा लैजान नसकिने निर्णय दिने र त्यो अवस्थामा उक्त पक्ष अदालत जान बाध्य हुने बुझाइ पनि आयोगमा छ । नेकपाका दुवै पक्षबाट चर्को दबाबमा रहेको आयोगले आफ्नो जिम्मेवारी अदालततिर पन्छाउन खोजेको स्रोतले उल्लेख गरेको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलको विवादमा अदालतसरह अधिकार प्रयोग गर्ने आयोग नेकपाको विवादबाट पन्छिन नमिल्ने बताए । ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा हेरफेरको विवरण अद्यावधिकसम्बन्धी विवाद टुंग्याइसकेपछि आयोगमा फरक किसिमको दोस्रो विषयले प्रवेश पाएको छ,’ यादवले भने, ‘अब एउटा पक्षले ऐनको दफा ४३ र ४४ अनुसार दलको मान्यतासम्बन्धी विवाद निरूपणको मागदावी गरेको छ । त्यसलाई त्यही किसिमले किनारा लगाउनुपर्छ ।’
आयोगले मागदावीको निवेदनलाई निरुपण नगरी हदम्यादभित्र नआएको भनेर कारबाहीमा नलगे नेकपाको विभाजनले वैधानिकता पाउने छैन । पार्टीको विवाद छर्लङ्ग भइसकेको अवस्थामा, आयोगले विवाद नै छैन भनेर जान नमिल्ने यादवले बताए । ‘हदम्याद गुज्रेर आएको निवेदन थियो भने त्यसलाई दर्ता नगरीकन त्यही बेला आयोगले यो मिल्दैन भनेर दरपीठ गर्नुपर्थ्यो,’ यादवले भने, ‘निवेदन लिइसकेपछि नेकपाको चिह्न, झण्डा, केन्द्रीय कमिटी, विधान कुन पक्षले पाउने हो, आयोगले त्यो प्रष्ट गरिदिनुपर्छ ।’
प्रचण्ड–नेपाल पक्षले आयोगको पछिल्लो निर्णयलाई विवादको विन्दु बनाएको छ । केन्द्रीय कमिटीको बहुमत सदस्यको निर्णयअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाइएकामा आयोगले अद्यावधिक नगरिदिएपछि विवाद सिर्जना भएको दावी प्रचण्ड–नेपाल पक्षले निवेदनमा उल्लेख गरेका छन् । आयोगले माघ ११ गते ओली तथा प्रचण्ड–नेपाल दुवै पक्षले पुस ५ गतेयता गरेका निर्णयलाई अवैधानिक भन्दै अद्यावधिक गर्न मानेको थिएन । पूर्व प्रमुख आयुक्त यादवले राजनीतिक दलमा अनेकथरि विवाद हुने गरेको अवस्थामा एउटै विवादलाई आधार मानेर आयोग जान नमिल्ने बताए ।
अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले पनि आयोगले नेकपाको विवादमा निर्णय दिनुपर्ने बताए । ‘दलको मान्यतासम्बन्धी विवादमा निवेदन आइसकेपछि आयोग चुप लागेर बस्न मिल्दैन,’ उप्रेतीले भने, ‘पार्टी दुईवटा भएको हो भने त्यसको किनारा लगाएर विवादलाई क्लियर कट गरेर जानुपर्छ ।’
ओलीले गरेको केन्द्रीय कमिटी विस्तारलाई आयोगले माघ ११ गतेको निर्णयबाट अस्वीकार गरेर एकीकरण हुँदाको बखत कायम रहेको ४४१ सदस्यीय कमिटीलाई नै मान्यता दिएको छ । प्रचण्ड–नेपाल पक्षले कमिटीको झण्डै दुईतिहाइ सदस्य आफूहरुको पक्षमा रहेको भन्दै आएको छ । पुस ७ गते ओलीलाई अध्यक्षबाट हटाउने निर्णयमा २८४ जना सदस्यको हस्ताक्षर सहितको विवरण उनीहरूले आयोगमा बुझाएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनले केन्द्रीय कमिटीमा बहुमत हुने पक्षले विवाद हुनुअघिको दलको मान्यता पाउने भनेको छ । अर्को पक्षलाई छुट्टै दलको मान्यता दिई आयोगले दर्ता गर्नसक्ने कानूनी व्यवस्था छ । प्रचण्ड–नेपाल पक्षका नेताहरूले बहुमत केन्द्रीय सदस्यलाई लाइन लगाएरै आयोगमा उपस्थित गराउन सक्ने भन्दै आएका छन् । तर त्यो प्रक्रियामै जानलाई आयोग अनिच्छुक देखिएको छ ।
एक पूर्व कानून सचिवले प्रचण्ड–नेपाल पक्षको निवेदनलाई आयोगले अस्वीकार गरेर जानसक्ने अवस्था नरहेको बताए । मुद्दाका रुपमा विषयले प्रवेश गरिसकेपछि त्यसमाथि आयोगको सामान्य बैठकबाट होइन, इजलास गठन गरेरै निर्णय दिनुपर्ने उनले उल्लेख गरे ।
ऐनको दफा ४५ ले विवाद निरुपणका लागि आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु रहेको इजलास कायम गर्नुपर्ने भनेको छ । इजलासले विवादका पक्षहरुको सुनुवाइ गर्नुपर्ने प्रावधान छ । विवादका पक्षले आयोगको इजलाससमक्ष आफ्नो कुरा राख्नका लागि कानून व्यवसायी तोक्न सक्ने जनाइएको छ ।
नेकपाको विवाद सरकारले बैशाखमा गराउने भनिएको निर्वाचनसँग पनि प्रत्यक्ष जोडिएकाले यसलाई उच्च प्राथमिकतामा राखेर छिटो निर्णय दिनुपर्ने पूर्व प्रमुख आयुक्तहरुको भनाइ छ । कानूनी समस्या आए त्यसको बाधा अड्काउ फुकाएर भए पनि सल्टाउनुपर्ने उप्रेतीको भनाइ छ ।
‘नियमावली संशोधनलाई राजपत्रमा किन प्रकाशन गरिएन भनेर आयोगले सरकारलाई किन सोध्न नसकेको हो ?’ उप्रेतीले भने, ‘निर्वाचनका बेला आयोग सबैभन्दा शक्तिशाली निकाय हो, उसले सरकारलाई निर्देश गर्ने हो । सरकारले असहयोग गरेको विषयमा आयोग बोल्न सक्नुपर्छ । त्यसमा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
लोकतन्त्र र निर्वाचनलाई प्राथमिकतामा राख्ने हो भने यो वा त्यो नाममा ठूलो दलको विवादलाई यथास्थितिमा राखेर होइन कि, समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने सुझाव उनले दिए ।
नेकपाको विवाद नसल्टिएकै कारण निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताको सूचना निकाल्न सकेको छैन । नेकपाका नाममा २ पक्ष आयोगमा दल दर्ताका लागि आउने र त्यो अवस्थामा कसलाई दर्ता गर्ने चुनौती आयोगलाई हुने अवस्था छ । दुबै पक्ष वा कुनै एक पक्षको दल दर्ता हुन नसके चुनाव हुने वातावरण नै नहुने उप्रेतीले बताएका छन् ।
‘दल दर्ता एउटा नेकपा मात्रै हुने हो । एउटै नामबाट दुईटा दलको दर्ता हुन सक्दैन,’ उप्रेतीले भने, ‘आयोगले नै अहिलेको अवस्थामा नेकपा दर्ताका लागि दुबै अध्यक्ष (ओली र प्रचण्ड) को संयुक्त हस्ताक्षर चाहिन्छ भनिसकेको छ । तर त्यो परिस्थिति छैन । त्यसको मतलब अघिल्लो निर्वाचनबाट ठूलो पार्टी बनेको नेकपा चुनावभन्दा बाहिर रहनु हो । त्यो अवस्थामा चुनावको सम्भावना रहन्छ ?’
जनयुद्धको उपलब्धि गुम्न नदेऊ
सिन्धुली, रोल्पा र गोरखाका प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी २४ वर्ष अघि फाल्गुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको थियो । यहि दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ । १० वर्षे जनयुद्धमा हजारौँ नागरिकको ज्यान गयो । मानविय मात्र नभएर भौतिक क्षतिहरु पनि थुप्रै भए । एक हिसाबले भन्ने हो भने जनयुद्धले देशलाई नै १० वर्ष पछि धकलिदियो । तर, जनयुद्धका उपलब्धिहरुले भने देशको समग्र विकास र समृद्धिकालागि बाटो बनाइदिएको छ । गणतन्त्र आइसकेपछि जनताको कुण्ठित गरिएको अधिकार जनताले पाए । जनयुद्धमा क्षति जेजति भएपनि उपलब्धि भने थुप्रै छन् । यी उपलब्धिहरुलाई संरक्षण गर्नतर्फ राज्य लाग्नुपर्ने हो । तर, शक्ति मोहका कारण नेपालको राजनिति र राज्य शक्ता झनै बिग्रदो अवस्थामा पुगेको छ । जनताले देशमा आमुक परिवर्तनकालागि आफ्नो ज्यान दाउमा राखेर युद्धमा होमिएका थिए । तर, तत्कालिन माओवादि केन्द्रका कमाण्डर तथा नेताहरुले शहिदको बलिदानिलाई सम्मान गर्न सकिरहेका छैनन् । उनीहरुले बोलीले मात्र शहिदको सम्मान गरेका छन्, व्यवहारले गरेका छैनन् । तसर्थ, जनयुद्ध शुरु गर्दा बुनिएको उद्धेश्य पुरा गर्न जिम्मेवार नेताहरु अग्रसर हुन आवश्यक छ ।
सिन्धुली जनयुद्धको मारमा परेको जिल्ला हो । जनयुद्ध सफल बनाउन यस जिल्लाको महत्वपुर्ण भुमिका छ । तर, के सिन्धुलीले जनयुद्धपछि उपलब्धिहरु हासिल गर्न सक्यो त ? त्यसको बारेमा यहाँका नेताहरुले मनन गर्न आवश्यक छ । जनयुद्धको समयमा राज्यबाट दुख पाएका नागरिकले अहिले पनि राज्यकै सेवासुविधा उपभोग गर्न नपाएको अवस्था छ । शक्तिमा रहेकाले उत्पीडित जनताको सेवा नगरेको गुनासो बढ्दो छ । तसर्थ, यी सबै पक्षलाई विचार गरेर नागरिकको सेवासुविधा तर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ । अतः जनयुद्धको उपलब्धिलाई गुम्न नदिन र जनयुद्धको उद्धेश्य पुरा गर्न जिम्मेवार पक्ष थप अग्रसर हुन जरुरी छ ।
आज फाल्गुन ०२ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन ०२ गते आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–तृतीया,४७ घडी २५ पला,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाभाद्रपदा,२४ घडी ३९ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–सिद्ध,४६ घडी ५२ पला,रातको ०१ बजेर २९ मिनेट उप्रान्त साध्य । करण– तैतिल,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–कुम्भ,बिहान १० बजेर १३ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५२ पला ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- कमाइ राम्रैसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । सोचेको काम भने समयमा नै पुरा नहोला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै, आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । केही कारणले धनको पनि नाश होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ । आम्दानीमा कमी आउने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- हाल देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने संभाबना छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।
आज राती :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।