शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विद्यालय प्राङ्गणमा ओली समूहको सभा, सजावटमा बालबालिका प्रयोग

शनिवार , फाल्गुण १, २०७७

बुटवल, १ फागुन नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन् ।

उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन । कलिला बालबालिकालाई यसरी राजनीतिक कार्यक्रममा सहभागी गराइनु बाल अधिकारको हनन् मानिन्छ ।

कलिला बालबालिकालाई राजनीतिक कार्यक्रममा झण्डा प्रयोग गराउँदा भविष्यमा नराम्रो असर पुर्याउने बताउँछन् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बैकुण्ठ पाण्डे । ‘पहिलो कुरा विद्यालय प्राङ्गणमा यस्ता आमसभा गर्नु नै गलत हो, दोस्रो कलिला बालबालिकाको प्रयोग त अपराध नै मानिन्छ,’ प्राध्यापक पाण्डेले भने, ‘कलिलो उमेरमा पार्टीका झण्डा बोकाउँदा र प्रयोग गराउँदा बाल मस्तिष्कमा गहिरो छाप पर्छ र भविष्यमा नकारात्मक असर पर्छ ।’

माघ २३ गते काठमाडौंमा सम्पन्न ओली समूहको आमसभामा अपेक्षाकृत जनसहभागिता नभएपछि ओली समूहले तुलनात्मकरुपमा बलियो पकड भएको मानिने बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो । सो समूहका नेताहरुले बुटवलको आमसभा अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुने दावी गर्दै आएका छन् । आमसभामा रुपन्देहीबाट एक लाख र अन्य जिल्लाबाट एक लाख गरी दुई लाख जनता उतार्ने सो समूहका लुुम्बिनी प्रदेश इन्चार्ज एवं मुुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् ।

आसभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । सभामा पूर्वजनमुक्ति सेना पनि सहभागी गराउने सो समूहले बताएको छ ।

प्रचण्ड नेपाल समूहले पनि बुटवलमा यही माघ १५ गते ठूलो सभा गरेपछि त्यसलाई काउन्टर दिन ओली समूहले पनि बुटवलमै ठूलो सभा लागेको हो । बुटवलको सभाले प्रचण्ड नेपाल समूह हौसिएको थियो । बुटवलको सभालाई ओली समूहले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ ।अनलाइन खवरबाट साभार

नेतादेखि पूर्व राजासम्मको भारत दौड किन ?

काठमाडौं, १ फाल्गुन - देशमा राजनीतिक संकट गहिरिदै गर्दा नेता देखि पूर्व राजासम्मको भारत भ्रमणको सिलसिला चलेको छ । उनीहरु व्यक्तिगत, पारिवारिक र स्वास्थ्योपचारको कारण देखाउँदै भारत भ्रमणमा जान थालेका हुन् ।

आज नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल विहानै दिल्ली उडे । उनी स्वास्थ्योपचारका लागि भारत भ्रमणमा गएको जनाइएको छ । एपोलो अस्पतालमा जाने भनिएका खनाल चार दिन दिल्ली बस्नेछन् । त्यहाँ उनले केही महत्वपूर्ण भेटवार्ता समेत गर्ने बुझिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दिल्ली छन् । उनी गत हप्ता स्वास्थ्य जाँचको लागि भन्दै दिल्ली पुगेका थिए । ठाकुर आउँदो हप्ता मात्र फर्कने जनाइएको छ । दिल्लीमा उनले महत्वपूर्ण भेटहरु गरिरहेको बुझिएको छ । उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पौष महिनामा मुम्बई पुगेका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै गएका थिए । केही दिन भारत बसाईंपछि प्रचण्ड फर्किएका थिए । उनी मुम्बई उड्दा देशमा राजनीतिक संकट निकै गहिरिएको थियो । भारतबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद विघटन भारतको इशारामा गरेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।

यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाह पनि भारत भ्रमणमा जाने भएका छन् । उनी स्थगमार्गबाट भारत प्रवेश गर्ने बुझिएको छ । शाहको भ्रमण फागुनको तेस्रो या चौंथो हप्तामा हुने तय भएको छ । उनी सिलगुढी हुँदै दार्जिलिङ जाने बताइएको छ । तर, स्थलमार्गबाट भारत प्रवेश गरेर उनले केही राजनीतिक भेटहरु गर्नसक्ने बुझिएको छ ।

सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन दिने भारत भ्रमण यही माघ महिनामै गरेका छन् । उनले समकक्षी एस जयशंकरका अलावा भाजपाका प्रभावशाली नेता समेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।

नेपालको राजनीतिमा प्रभाव राख्ने भारतको सहयोगका लागि सत्तापक्ष देखि विपक्षीले पनि पहल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै भारतलाई सहयोग र सद्भावका लागि आग्रह गरेका थिए । उनले बुधबार आयोजित विरोधसभामा भारतको सहयोगको अपेक्षा गरेको जनाएका थिए ।रिपोटर्स नेपालबाट साभार

सुनकोशीमा अबरुद्ध खेलकुद प्रतियोगिता सुचारु

सिन्धुली,१ फाल्गुन – सिन्धुलीको सुनकोशी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता सहमतिपछि पुनः आईतबारदेखि सुचारु हुने भएको छ ।

बागमती प्रदेश सांसद बिनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, गाँउपालिका अध्यक्ष दिपा बाहोरा, वडा अध्यक्षहरु सहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको शुक्रबार दिउसोको बैठकमा उक्त खेलकुद प्रतियोगिता सुचारु गर्न पाँच बुदे सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाले जानकारी दिनुभयो ।

बैठकले सबै वडाको सिफारिसमा फागुन १ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्ने, फागुन २ गते बिहान १० बजेबाट खेल सुचारु गर्ने, सबै टिमलाई खेलकुद मैदानमा व्यानर सहित राष्ट्रिय गान गाएर खेल सुचारु गर्ने, सबै कार्यपालिका सदस्य र विभिन्न पार्टी प्रतिनिधि, प्रहरी चौकी, संघ संस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्ने र खेलकुद विकास समितिका सबै कर्मचारीलाई राजिनामा दिन लगाउने सहमति भएको उहाँले बताउनुभयो ।

बिहिबार उद्घाटन भइ सुरु भएको अध्यक्ष कप खेलकुद प्रतियोगिता असन्तुष्ट पक्षले शुक्रबार विहान खेलमैदान तोडफोड गरेपछि अबरुद्ध बनेको गाँउपालिकाले जनाएको छ । सुनकोशी गाँउपालिका खेलकुद बिकास समितीका अध्यक्ष बिनोद श्रेष्ठले खेलमैदान अराजक समूह आएर तोडफोड गरेको बताउनुभयो ।

उक्त समूहले खेल बिरुद्धमा नारा लगाएर कालो झण्डा देखाउदै खेल मैदानको गेट, मञ्च र तारबार, टेबुलकुर्सी, खेल सामग्री तोडफोड गरेको उहाँले जानकारी दिनुभयो

बिरोध प्रदर्शनमा नेकपा ओली समूहका बागमती प्रदेश सांसद बिनोद खड्का, सिन्धुली क्षेत्र नम्बर २ ‘क’ का नेपाली कांग्रेस सभापती बोधबिक्रम थापा लगायत सुनकोशी गाँउपालिकाको वडा नम्बर १, ३, ४ र ६ का वडा अध्यक्ष सदस्य सहित पार्टीका समर्थकहरुको उपस्थिती रहेको स्थानीयले जनाएका छन् ।

बिरोधमा उत्रिएका टोलीले कालो झण्डा बोकेर खेलकुद बिकास समिति पुनर्गठन गर, एकाधिकार बन्द गर, गाँउपालिकाको दम्भ बन्द गर, बहुमतको कदर गर लगायतको नाराबाजी गरेको बताईएको छ । सरोकारवालाहरु र जनप्रतिनिधि बसेर छलफल गरी विवाद मिलाउने प्रयास भई रहेको बागमती प्रदेश सांसद बिनोद खड्काले बताउनुभयो ।

उक्त प्रतियोगितामा सात वटै वडाबाट पुरुष फुटबलतर्फ सात वटा, पुरुष भलिबलतर्फ सात वटा र ब्याडमिन्टन तर्फ पाँच वटा टिम दर्ता भएका थिए । प्रतियोगिताका समापन फागुन ३ गतेको लागि तयारी भएको थियो । प्रतियोगितामा फुटबलतर्फ प्रथम हुनेलाई नगद एक लाख रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ७५ हजार रुपैया मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ५० हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

त्यस्तै पुरुष भलिबलतर्फ प्रथम हुनेलाई नगद ६३ हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ५० हजार रुपैया, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ३८ हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ । महिला भलिबलतर्फ प्रथम हुनेलाई नगद २० हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद १५ हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

त्यस्तै ब्याड मिन्टनतर्फ प्रथम हुनेले नगद ४० हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ३० हजार रुपैया, मेडल र प्रमाणपत्र र दुई जना सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १०÷१० हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

सुनकोशीमा विरोधिको अराजक शैलि

सुनकोशी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन भइरहेको बेला केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका केहि नेता तथा कार्यकर्ताले विरोध गरेपछि उनीहरु आलोचित भएका छन् । अराजक शैलिमा प्रदेश सांसद देखि नेता तथा कार्यकर्ताले खेलकुदस्थल तोडफोड गरेपछि विरोधिको राजनैतिक संस्कारप्रति सर्वसाधरणले प्रश्न उठाएका छन् । खेलकुद प्रतियोगिता भइरहदा सत्तारुढ दलका नेता तथा कार्यकर्ताले देखाएको व्यवहार राजनैतिक विकृतिको एउटा नुमना हो । असन्तुष्ट पक्षले वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा कानुननै हातमा लिएर अघि बढ्नु दुःखद र लज्जास्पद कदम हो । कार्यकर्ता भेला गरेर तोडफोडमै उत्रनु अराजकताको माध्यमबाट शक्ति प्रदर्शन गर्नु सरह हो । तसर्थ, विरोधिहरुले आफ्नो मुद्धा उठाउने शैलिमा परिवर्तन ल्याउन जरुरी छ । युवाहरुलाई राजनैतिक संस्कार सिकाउनुपर्नेमा प्रदेश सांसदनै तोडफोडमा उत्रनु लज्जास्पद हो ।

आफूलाई मन नपरेपछि हात हालाहालमा उत्रने शैलि अराजकतालाई प्रोत्साहन गर्ने कदम हो । यस्ता अराजक व्यवहारलाई निरुत्साहित गर्न राजनैतिक दलले पनि आवश्यक कदम चाल्नुपर्छ । जिल्लाका राजनैतिक दलले आफ्ना नेता कार्यकर्ताको व्यवहार सुदृढिकरण गर्न आवश्यक प्रशिक्षण दिनुपर्छ । अन्यथा, यस्ता घट्ना घटिरहनेछ । अतः नेता तथा कार्यकर्ताले जनताको नजरबाट गिर्ने काम कहिले पनि गर्नुहुदैँन ।

 

 

प्रतिक्रिया