शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नागरिक अधिकारमा सम्झौता हुन्न : महासचिब बिष्ट

शुक्रवार , माघ ३०, २०७७

सिन्धुली,३० माघ – नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका बिषयमा कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको १५ औ साधारण सभा तथा ११ औँ अधिवेशन उदघाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल पत्रकार महासंघले संघ, प्रदेश र जिल्ला निर्वाचन एकै दिन गर्ने प्रणालीको विकास गरेको बताउनुभयो ।

उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीमा नेपाल पत्रकार महासंघ प्रवेश गरेको चर्चा गर्दै पत्रकार महासंघ छाता संस्था भएकाले यसमा सबैको बिचार अटाए मात्र छाता संस्था बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाल पत्रकार महासंघले ६५ बर्ष भन्दा पुरानो गौरबपुर्ण ईतिहास बोकेको छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय अध्यक्ष हरिहर बिरहीले पत्रकारीता ब्यवसाय मात्रै नभएर जिम्मेवारी पनि भएको बताउनुभयो । उहाँले लोकतन्त्रमा मात्रै पत्रकारीता फस्टाउने चर्चा गर्दै जबसम्म संबिधान सहि बाटोमा ल्याउन सक्दैनौ तबसम्म लोकतन्त्र शुरक्षित नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अर्का पूर्व केन्द्रिय अध्यक्ष डा. सुरेश आचार्यले नेपालको पत्रकारिता आस र दासको रुपमा रहेको बताउनुभयो । पत्रकारले समाजका सकारात्मक बिषयलाई उत्प्रेरीत गर्नुपर्ने र नकारात्मक कुरालाई उजागर गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नेपालको प्रजातान्त्रीक आन्दोलनमा नेपाल पत्रकार महासंघ सधै अग्र मोर्चामा उभिएको संस्था हो ।”

त्यस्तै नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद दाहालले श्रमजिवी पत्रकारको मामीलामा सरकार सधै उदासीन देखिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होम कुमार कार्की(राजन)को अध्यक्षतामा बिहिबार भएको कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य लेखनाथ दाहाल, बिनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका जिल्ला सभापति उज्वल प्रसाद बराल, कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्री लगायतले मन्तब्य राख्नुभएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षहरु हरिहर बिरही, डा. सुरेश आचार्य, फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो त्यसैगरी पत्रकार महासंघ जिल्ला शाखा पूर्व सभापतिहरु श्यामहरी अधिकारी, राजकुमार कार्की, शंखर सौगात, सामुदायीक रेडियो प्रसारक संघ अकोराबका केन्द्रिय सदस्यहरु कृष्णहरी घिमिरे, टिकाजंग थापा, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सचिव राजन गाउलेलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै कृयाशील महिला पत्रकारमा सरला सुनुवारलाई नगद ५ हजार रुपैया र सुजल पत्रकारिता पुरस्कारबाट कृञ्जला पुलामीलाई नगद ३ हजार सहित सम्मान गरिएको छ ।

अधिबेशन सफल पार्न सहयोग गर्नुहुने कमलामाई नगरपालिका, उद्योग वाणिज्य संघ, प्याब्सन सिन्धुलीलाई पनि प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको छ । कार्यक्रममा सहभागिता जनाउनु हुने बिभिन्न जिल्लाबाट उपस्थित जिल्ला सभापति तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया