बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निर्माणाधिन अस्पतालमा बिरामीलाई सास्ती नहोस्

बिहिवार , माघ २९, २०७७

जिल्ला अस्पताल सिन्धुली अहिले निर्माणाधिन अवस्थामा छ । २६ करोड रुपैँयाको लगानीमा बृहत् अस्पताल संरचना निर्माण हुदैँ छ । केहि वर्षमा अस्प्ताल निर्माणको काम सम्पन्न हुने अस्पताल व्यवस्थापन समितिले बताएको छ । अस्पताल निर्माण हुनु सुखद र उत्साहजनक विषय हो । तर, अस्पताल निर्माण भइरहेको अवस्थामा बिरामीले व्यहोर्नुपरेको समस्यालाई व्यवस्थापन समितिले कसरी समाधान गरिरहेको छ भन्ने मुख्य प्रश्न हो । शल्यक्रिया गर्ने वार्ड र साधारण वार्डको दुरि र त्यस दुरिभित्र धुवाँधुलोको अवस्थाले निम्ताउने समस्याका बारेमा सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । यसको मतलब शल्यक्रिया पश्चात अस्पताल प्राङगण भित्रै ओहोरदोहर गर्दा हुने संक्रमणका बारेम जिम्मेवार निकाय सचेत हुन जरुरी छ । त्यसैगरि, संरचना निर्माण गर्दा अस्पताल संचालनमा बाधा पर्नु हुदैँन । यसकालागि व्यवस्थापन समितिले आवश्यक छलफल गरि केकसरी अघि बढ्न सकिन्छ भनेर निकर्योल निकाल्न जरुरी छ ।

सिन्धुली अस्पतालको निर्माण सम्पन्नको अवधि दुई वर्ष भएको हुँदा यी समयसम्म कसरी अस्पताललाई वैकल्पिक उपायबाट गुणस्तरीय तरिकाले संचालनमा ल्याउन सकिन्छ त्यसको बारेमा सरोकारवाला निकायले छलफल गर्न आवश्यक छ । निर्माणाधिन अवस्थामा उड्ने धुवाँधुलो, मेसिनको प्रदुषण लगायत समग्र पक्ष जसबाट बिरामीलाई समस्या हुन्छ ती कुराहरुको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अतः निर्माणाधिन अस्पतालमा बिरामीलाई सास्ती हुन नदिन आवश्यक कदम चाल्न ढिलाई गरिनुहुदैँन ।

 

प्रतिक्रिया