शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

स्वेताको नाइट क्लबमा मस्ति, पैसा नपुगेपछि माफी (१२ तस्बिर)

मंगलवार , माघ २७, २०७७

काठमाडौँ– अभिनेत्री सुष्मा कार्की र श्वेता खड्काबीचको विवाद श्वेता पक्षले माफी मागेपछि सकिएको छ । गत बुधबार मिडियाका अगाडि नै विवादमा सामेल भएका पत्रकार उत्सव रसाइलीसँगै श्वेताकी बहिनी आरती खड्काले माफी मागेपछि घटना रफादफा भएको छ । तर, श्वेताको यो विवादले उनले गरिरहेको समाजसेवामा भने गम्भीर प्रश्न छाडेको छ ।

सोमबार राति सुष्मा कार्की र श्वेताबीच दरबारमार्गस्थित लन्डन पबमा झगडा भएको थियो । सोमबार नै सुष्माले आफूलाई श्वेता र उनको बहिनीले कुटुपट र गालीगलौज गरेको भन्दै घटना भएको ठीक अगाडि रहेको प्रहरी चौकीमा निवेदन दिएकी थिइन् ।

जब मंगलबार कुटपिटको विषयमा सामाजिक सञ्जालमा फ्याट्टफुट्ट जिज्ञासा आउन थाले, अचानक श्वेता खड्काले एउटा समाचार सेयर गरिन् । समाचार थियो, धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन पैसा नपुगेको । उनले यो समाचार सेयर गर्दै आफूलाई पनि माझी बस्ती बनाउन पैसा नपुगेको उल्लेख गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘धुर्मुस सुन्तली फाउन्डेसन’कोझैँ हाम्रो पीडा पनि उही हो । निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न दाताहरूलाई माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरू भेटिनुभयो अनि आफ्नो क्षमता, दक्षता र गच्छेले भ्याएसम्मको सहयोग गर्नुभयो ।

तर केही यस्ता दाताहरू पनि भेटिए जसले सहयोग रकम बोल्नुभयो तर सहयोग उपलब्ध गराउनु भएन । हामीले कुनै जोर जबर्जस्ती नगरीकनै आफ्नै मनले, स्वःतस्फूर्त रूपमा कबुल गर्नुभएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिस्ट लामै छ ।

खैर, दान धर्म र कर्म भनेको मनदेखि स्फुटन हुने कुरा हो । हामीले त सहयोगको अपिलसम्म गर्ने हो, बलजफ्ती गर्ने होइन । तथापि, आफ्नो प्रतिबद्धता र कटिबद्धतालाई भुलेर गरिबहरुको आशा र भरोसा माथि खेलबाड गर्नु भने पक्कै राम्रो होइन । पूरा गर्न नसक्ने वाचा, पूर्ति गर्न नसक्ने आश्वासन र दिन नसक्ने सहयोगको कुनै अर्थ छैन । अत ः आफूलाई समाजसेवीका रुपमा चिनाउन कोही कसैको भरोसामाथि खेलबाड नगरौं ।’

श्वेताको यो स्ट्यासमा हजारभन्दा बढी मानिसको कमेन्ट छ । कमेन्ट गर्ने अधिकांशको निष्कर्ष छ, ‘यत्रो ऋण थियो त किन यत्रो तामझामसँग बिहे गरेको ?’ श्वेताकै स्ट्याटसमा कमेन्ट गर्दै यमुना खड्काले धेरैको प्रश्न मुखर हुने गरी सोधेकी छिन्, ‘करोडौं खर्च गरेर बिहे गर्दा त्यो माझी बस्ती जुन आफुले हिम्मत गरी निर्माण सुरु गर्नुभो त्यही प्रोजेक्टको ऋणको भारी अलिकति पनि सम्झनु भएन दिदी ?

माग्ने बाटो पनि राखेको भए हुने महिनौँसम्म बिहे र पार्टी नै चल्यो अब आएर फेरि हात फिजार्दै हुनुहुन्छ । तर यति भनिरहँदा तपाईंको व्यक्तिगत जीवनको विरोधी हैन म । यति समाजसेवी भावना भएकी एउटा महिलाले त्यति त सोच्नु सक्नुपथ्र्यो भन्ने मात्रै हो ।’

यमुनाको यो कमेन्टमा ८० छेउछाउ जवाफ छन् र जवाफ लेख्ने अधिकांशले उनको टिप्पणीको समर्थन गरेका छन् ।  श्वेताले दोस्रो विवाह गर्नु अगाडि उनले स्वर्गीय पूर्वपति श्रीकृष्ण श्रेष्ठसँग प्रसंगमा बोलेका कुरा बिर्सौँ । उनले उसबेला जिन्दगी नै बिहे नगर्नेदेखि श्रीकृष्ण श्रेष्ठको फोटो घरमा टाँस्नेसँग विवाह गर्नेसम्मका कुरा बोलेका कुरा बाहिरिएका थिए ।

उनले विवाह गरिन् त्यसमा कसैलाई गुनासो पनि हैन तर आफू चाहिँ तामझामसँग खर्च गर्ने अनि समाजसेवा गर्न अरुसँग हात फैलाउने कुराले उनको कथनी र करनीमा प्रश्न उब्जाउँछ । कमसेकम बस्ती निर्माणका लागि अरुसँग हात फैलाउनु अघि श्वेताले यो प्रश्न आफूलाई सोध्नुपर्छ ।

यो श्वेतामा मात्र होइन, समाजसेवाका नाममा सक्रिय भइरहेका सबै सेलिब्रेटीले जवाफ दिनुपर्ने प्रश्न हो । यसको जवाफ ढिलाचाँडो धुर्मुस–सुन्तलीले पनि दिनुपर्छ नै । अझ श्वेताको जीवनशैलीले उनको समाजसेवालाई झन् पेचिलो बनाएको छ । सोमबार पनि सपरिवार नाइट क्लबमा भेटिने अनि बस्ती निर्माण गर्न कबुल गरेको पैसा दिएनन् भनेर दातालाई नै दच्काउने । श्वेताकै लाइन सापटी लिएर भन्दा ‘आफूलाई समाजसेवीको रुपमा चिनाउन कोही कसैको भरोसा माथि खेलबाड गर्नु राम्रो हो र ?’

श्वेता, धुर्मुस सुन्तली १ एउटा कुरा तपाईंहरूलाई थाहा छ कि छैन, एसियाको नोबेल पुरस्कार म्यागसेसे विजेता वैज्ञानिक महावीर पुनले पनि तपाईंहरुले जसरी सहयोग पाइरहेका छन् तर उनले भएको आफ्नो सारा जायजेथा बेचेर आविष्कार केन्द्र खोलेका हुन् । समाजसेवा र वाचाको उपदेश दिनुअघि आफू उदाहरण पनि बन्ने कि ?

अलि कुरा बुझ्नुभएन भने डा. गोविन्द केसीको नाम पनि सुन्नु भएकै होला । गोविन्द केसीले देशविदेशमा स्वास्थ्य शिविर चलाउँछन् । उनलाई पनि धेरैले सहयोग लिनुस् भन्छन् । तर, उनी पहिले आफ्नो तलब र अहिले पेन्सनबाट पाउने पैसाले मात्र गाउँगाउँ पुगी स्वास्थ्यसेवा गर्छन् । उनको जवाफ हुन्छः मागेर अरुको पैसामा मलाई सनतुष्टि हुँदैन ।

महावीर पुन र गोविन्द केसीको सादा जीवनशैली देख्नुभएको छ । आफू भड्किलो जीवन रमाउने अनि मागेको पैसाले सेवा, यो त अलि हजम भएन कि ! ईकागज डट कमबाट साभार

प्रतिक्रिया