शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

के सिन्धुलीले डा. सुधान्सुलाई चिन्न सकिरहेको छ त ?

शुक्रवार , माघ ९, २०७७

पाँच वर्ष अघि जिल्ला अस्पताल सिन्धुली आउनुभएको अर्थोपेडिक सर्जन डा. सुधान्सु झा जिल्लाका लागि वरदान साबित डाक्टर हुनुहुन्छ । पाँच वर्ष देखि निरन्तर जिल्ला अस्पतालमा सेवा गरिरहनुभएको उहाँले सिमित श्रोत र साधनकैबिच कयौँ जटिल अपरेशन सफलतापुर्वक सम्पन्न गरिसक्नसक्नु भएको छ । पंक्तिकारले उहाँको बारेमा यो लेख लेख्नुको मुख्य उद्धेश्य भनेको सिन्धुलीले डा. सुधान्सुलाई कति चिन्न सक्यो, कति सकेन भन्ने हो । केहि समय अघि भिमानमा सडक दुर्घट्नामा परि खुट्टा भाँचिएका एक बिरामीको उपचार जिल्लामै गर्न संभव छ भनिरहदा उनको परिवारले काठमाडौँनै लग्नु पर्छ भन्ने ढिपि गरे । पंक्तिकारले डाक्टरसँग सल्लाह गर्दा उक्त अपरेशन जिल्लामै संभव रहेको र आफूले आवश्यक साधन जुटाउने प्रतिबद्ध गर्नुभएको थियो । थोरै खर्चमै जिल्लामा हुने अपरेशनकालागि बिरामीका परिवारले काठमाडौँमा लाखौँ खर्च गरे । यस घट्नाले पंक्तिकारलाई सिन्धुलीवासीले डाक्टर सुधान्सुलाई चिन्नै सकिरहेका छैनन् भनेर झस्कायो । विविध कारणले गर्दा हाडजोर्निको समस्या देखिदा सिन्धुली भन्दा बाहिरि जिल्लामै अपरेशनकालागि बिरामीहरु जाने गर्दछन् । जिल्लावासीलाई जिल्ला अस्पतालमा श्रोत साधननै नरहेको भन्ने भ्रम छ । यो भ्रमलाई चिर्न जिल्ला अस्पतालले पनि खासै वास्ता नगरेको पाइन्छ । किनभने, १५ वर्ष अनुभव भएको डाक्टर सिन्धुलीमा रहनु र आवश्यक श्रोत साधनपनि यहि उपलब्ध हुदाहुदैँ लाखौँ खर्चिएर जिल्लावासी बाहिर उपचारकालागि जानु भनेको जिल्ला अस्पतालले प्रचारप्रसारमा कञ्जुस्याँई गरेको भन्न सकिन्छ ।

डुबानमा परिरहने महोत्तरी जिल्लाको बनौटा भन्ने ठाउँमा जन्मिनुभएको डा. सुधान्सुले काम र पढाईको सिलसिलामा दर्जन बढि देश घुमिसक्नुभएको छ । विश्वमै नाम चलेका डाक्टरसँग बसेर उहाँले अपरेशन गर्नुभएको छ । सिन्धुलीमा पनि उहाँले मरिण गाउँपालिकाको एक बिरामीको जटिल अपरेशन गरेर चर्चामा आउनुभएको थियो । श्रोत साधनको अभावकैबिच उहाँले सामान जुटाएर पाँच घण्टा लगाउँदै उक्त अपरेशन गर्नुभएको थियो । प्लाईको टेबल बनाउन लगाएर भाँचिएको हड्डीको अपरेशन गर्न डा.सुधान्सुको टिम सफल भएको थियो । बिरामीको टाउकोमा चोट देखिएका कारण उक्त अपरेशन जटिल थियो । तर पनि डा. सुधान्सुको टिमले मेडिकल शुत्रहरुको प्रयोग गरेर सफलतापुर्वक अपरेशन गरेको थियो । यो बाहेक अन्य जटिल अपरेशनहरु पनि डा. सुधान्सुको टिमले गरेको पंक्तिकारले आफ्नो अनुसन्धानबाट पत्ता लगाएको छ । क्षमतावान र अनुभवि डाक्टर सिन्धुलीमा हुदा हाडजोर्नि सम्बन्धि जिल्लाले के फाइदा लियो भन्ने प्रश्न उब्जन्छ । सधैँ बिरामीकै सेवामा तत्पर रहने डाक्टर जो सिन्धुली जस्तो दुर्गम ठाउँमा जिल्लावासाीकै सेवाकालागि पाँच वर्ष देखि बसिरहेका छन् ती डाक्टरलाई हामीले काममा कतिको सहयोग गरेका छौ, त्यो जिम्मेवार निकायले मनन् गर्न आवश्यक छ ।

हरेक शनिबार जिल्लाको विभिन्न ठाउँहरुमा पुग्दै अपांग भएका बिरामीहरुको सेवामा डा. सुधान्सु खटिनुहुन्छ । पाउनु केहि छैन, गुमाउनु धेरै तर पनि जिल्लाको सेवामा सधैँ उहाँको हातहरु लागिरहेका छन् । उहाँले निस्वार्थ भएर बिरामीको सेवामा लागिरहनु भएको छ । डा. सुधान्सुको बारेमा पंक्तिकारलाई शब्द खर्चनुको मुख्य कारण एउटा अर्को सम्झनलायक घट्ना छ । जिल्ला अस्पतालमा उपचारकालागि पुगेको पंक्तिकारले जब डा. सुधान्सुले आफूले पाएको उपहार एक वृद्धलाई दिएको देखे तब जिल्लावासीलाई माया गर्ने डाक्टर सिन्धुलीमा रहेको महशुश गरे । यी त देखिएका पल हुन् । डा. सुधान्सु सधैँजसो सेवा र सहयोगमै समर्पित हुनुहुन्छ ।

जिल्ला अस्पतालमा अस्थायी डाक्टरका रुपमा रहनु भएको सुधान्सुले निरन्तर बिरामीकोलागि समय दिनुभएको छ । विपी राजमार्गका कारण सडक दुर्घट्ना हुने हुदा पनि विशेषज्ञ अर्थोपेडिक डाक्टर जिल्लाकालागि अति आवश्यक छ । आवश्यक श्रोत र साधन जुटाउन सके सिन्धुलीमै ठूला र जटिल अपरेशन सजिलै गर्न सकिन्छ । पाँच वर्ष देखि एनेसथेसिया डाक्टर बिनानै जोखिम मोलेर डा. सुधान्सुले अपरेशन गर्दै आउनु भएको थियो । अहिले भने एनेसथेसिया डाक्टर र थप एक अर्थोपेडिक डाक्टर जिल्ला अस्पतालमा थपिएका छन् । हेल्थ एसिसटेन्टले धानेको जिल्ला अस्पतालमा अहिले विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । जिल्ला अस्पतालको व्यवस्थापन समितिले उपलब्ध विशेषज्ञहरुलाई रुजाएर राख्न सके स्वास्थ्य क्षेत्रमा आमुक परिवर्तन हुन समय लाग्दैन ।

सुधान्सु जस्ता विशेषज्ञ डाक्टरले सिन्धुलीमै उपचार गर्न सकिन्छ भन्दा असुरक्षित महशुश गरेर अन्य जिल्ला भौतारिरहने जिल्लावासीले जिल्लामा रहेका डाक्टरको महत्व बुझ्न जरुरी छ । त्यसैगरि, व्यवस्थापन समितिले पनि श्रोत र साधन उपलब्ध गराएर जिल्लालाई स्वार्थरहित सेवा गर्न चाहने डाक्टरहरुलाई सहयोग गर्नुपर्दछ । सिन्धुलीले डा. सुधान्सुलाई चिन्न नसक्नु जिल्लाकालागि ठूलो घाटा हुनेछ । विगतमा पनि डा. सुमित्रा गौतमलाई चिन्न नसक्दा सिन्धुलीले ठूलो नोक्सान बेहोरेको थियो । अहिले डा. सुमित्राले भक्तपुरमा आफू कार्यरत अस्पताललाई देशकै राम्रो अस्पतालका रुपमा स्थापित गराउनु भएको छ । यसरी भएका डाक्टरलाई समयमै चिन्न ढिलाई गर्नुहुदैँन । अतः सुधान्सु जस्ता डाक्टरलाई समयमै चिन्न सिन्धुलीका जिम्मेवार निकायले कुनै कमजोरी गर्नुहुदैँन ।

प्रतिक्रिया