शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका ग्रामीण क्षेत्रका बासिन्दा लघु जलविद्युतमै निर्भर

मंगलवार , पौष ७, २०७७

सिन्धुली,७ पुस – फिक्कल गाँउपालिका–२ पोखरी निवासी लालबहादुर मगरको घरमा गाँउकै खोलाबाट उत्पादित बिजुली बत्ति बलेको सात बर्ष भयो । राष्ट्रिय विद्युत प्रशारणको लाईन गाँउमा नआउदा गाँउकै वाक्सुखोलाबाट उत्पादित बिजुली बत्तिमा निर्भर हुनु परेको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, “अर्को बिजुली जस्तो गाँउको खोलाबाट उत्पादित बिजुली के तजिलो बल्थ्यो । यो त उही बिजुली बत्तिको नाममा चित्त बुझाउने बाटो हो ।” घरमा चार वटा बत्ति (चिम) जडान गरेको र भोल्टेज नपुग्दा मधुरो बल्ने गरेको उहाँको गुनासो छ । “दिउसो काम नपर्दा सधै राम्रो बल्छ, साँझ परेपछि सबैको घरमा बल्ने हुनाले भोल्टेज (पावर) नपुगेर मधुरो बल्छ,” उहाँले थप्नुभयो ।

वाक्सुखोलाबाट दुई वटा लघु जलविद्युत योजना निर्माण गरी उक्त वडाभरिका बासिन्दाले अहिले उपभोग गरि रहेको पनि उहाँले सुनाउनुभयो ।

देशभरी राष्ट्रिय विद्युत प्रशारण लाईनको बिस्तार कार्य तीब्र भई रहेपनि सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा अझै गाँउकै खोलाबाट उत्पादित लघु जलविद्युतमा रमाउन बाध्य छन् । लघु जलविद्युत योजनाले निर्माण भएको सुरु सुरुमा राम्रोसँग काम गरेपछि पछिल्लो समयमा बिग्रिरहने समस्याले स्थानीय उपभोक्ता दिक्दार बनेका छन् ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाले गाँउकै कन्यखोलाबाट उत्पादित १३ किलोवाटको लघु जलविद्युत योजना बिग्रिरहेर बन्द भएपछि यो बर्ष राष्ट्रिय विद्युत प्रशारण लाईन बिस्तार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० बर्ष पहिले उक्त योजना बनेको थियो, अहिले बिग्रिएर बन्द छ ।”

फिक्कल गाँउपालिकाका छ वटा वडा मध्ये यतिखेर वडा नं. ५ बाहेक सबै वडामा लघु जलविद्युत स्थानीय उपभोक्ताले उपभोग गरि रहेका छन् । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले फिक्कल गाँउपालिकामा अहिले सात वटा लघु जलविद्युत योजना चालु अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फिक्कल गाँउपालिकामा करिब ४५ सय घरधुरी रहेको छ । ती मध्ये आधाभन्दा बढी घरधुरी लघु जलविद्युतले झलमल भएको अवस्था छ । वडा नं. २ पोखरीका पुरै घर परिवारमा लघु जलविद्युतको विजुली पुगेको छ ।”

उक्त गाँउपालिकामा यो बर्ष मात्रै पहिलो पटक राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेको र त्यो पनि मध्ये पहाडी लोकमार्ग छेउछाउका घरमा मात्र उक्त विद्युत प्रशारण लाईनको पँहुच पुगको उहाँले सुनाउनुभयो ।

त्यस्तै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चारवटा लघु जलविद्युत सञ्चालनमा रहेका छन् । यी विद्युत योजनाबाट १३ किलोवाट विद्युत उत्पादन भई एक सय २८ घरपरिवार लाभान्वित भएका वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोखेखोला “ए” पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट, कोखेखोला “वि” पेल्ट्रिकसेट योजनाबाट दुई किलोवाट, बादपखोला पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट र सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट पाँच किलोवाट विद्युत उत्पादन गरी गाँउ झिलिमिली बनाईएको छ ।

करिब सात लाख रुपियाको लागतमा सम्पन्न कोखेखोला “वि’ पेल्ट्रिकसेट योजनाबाट २५ घर परिवार, सालुमा करिब पाँच लाखको लागतमा सम्पन्न कोखेखोला “ए’ पेल्ट्रिकसेट योजनाबाट १७ घर परिवार, करिब १९ लाख रुपियाको लागतमा सम्पन्न सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट ५३ घर परिबार र करिब सात लाख रुपियाको लागतमा सम्पन्न बादपखोला पेल्ट्रिकसेटबाट ३३ घरपरिवारले बिद्युत उपभोग गर्न पाएको स्थानीय बासिन्दा तथा उक्त वडाका पूर्वसचिब थलकुमार गौतमले जानकारी दिनुभयो ।

राष्ट्रिय विद्युत प्रसारण लाईन पुग्न नसकेको त्यस क्षेत्रमा स्थानीय बासिन्दाले टुकि बत्तिलाई बिस्थापन गर्न दातृ संस्था खोज्दै स्थानीय खोलामा बगेर त्यसै खेर गएको पानीबाट विद्युत निकाली गाँउलाई झलमल बनाएका हुन् । स्थानीय उपभोक्ताबाट नगद सङ्कलन, गाँउपालिका र अन्य निकायबाट ग्रामीण क्षेत्रमा अहिले डेढ दर्जनभन्दा बढी लघु जलविद्युत योजना निर्माण भई सकेका जनाईएको छ ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र काठमाण्डौको सहयोगमा फिक्कल गाँउपालिकाको खाङ्साङ्स्थित साखरखोलाबाट १४.३ किलोवाट विद्युत उत्पादन गरि गाँउका २५० घरमा झलमल बनाएको साखरखोला लघु तथा साना जलविद्युत योजनाका सचिब बमबहादुर पिठाकोटे बताउनुहुन्छ ।

 

प्रतिक्रिया