शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका चार वटा पालिकामा अस्पताल बन्दै

मंगलवार , मंसिर १६, २०७७

सिन्धुली,१६ मंसिर – सिन्धुली जिल्लाको चार वटा स्थानीय तहमा सोमबार स रुवा रो ग अस्पताल निर्माणको प्रकृया अघि बढाईएको छ ।

नेपाल सरकारको पालिकासम्म स्वास्थ्य सेवा पुर्‍याउने उदेश्य अनुरुप दुधौली नगरपालिका, फिक्कल गाँउपालिका, तीनपाटन गाँउपालिका र सुनकोसी गाँउपालिकामा उक्त अस्पताल बन्न लागेको हो । दुधौली नगरपालिकामा १५ शैथ्याको, फिक्कल गाँउपालिकामा १० शैथ्याको, तीनपाटन गाँउपालिकामा १५ शैथ्याको र सुनकोसी गाँउपालिकामा १५ शैथ्याको स रुवा रो ग अस्पताल निर्माण हुन लागेको हो ।

दुधौली नगरपालिकामा वडा नं. ५ सिर्थौलीमा उक्त अस्पताल भवन निर्माणका लागि संघिय सांसद गणेशकुमार पहाडीले शिलान्यास गर्नु भयो । सो अवसरमा उहाँले अस्पताल नभएको पालिकामा स्वास्थ्य सेवा पु¥याउन उक्त अस्पताल निर्माण गर्न लागिएको बताउनुभयो ।

सिर्थौलीमा रहेको प्राथमिक स्वा स्थय केन्द्रलाई स्तर उन्नती गरेर नयाँ भवन निर्माण गरी उक्त अस्पताल सञ्चालन गर्न लागिएको दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउतले जानकारी दिनुभयो । उक्त भवन निर्माणका लागि एक करोड रुपैया बजेट प्राप्त भएको छ ।

त्यस्तै तीनपाटन गाँउपालिका–११ चकमकेमा भने उक्त अस्पताल भवनको बागमती प्रदेश सांसद प्रदिप कटुवालले उद्घाटन नै गर्नु भएको छ । यसअघि नै चकमके प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच करोड रुपैयाभन्दा माथिको लागतमा भवन निर्माण भई १० शैथ्या सञ्चालन हुदै आएको थियो । अहिले त्यसलाई स्तर उन्नती गरी १५ शैथ्या स्वीकृत भएकोले भवनको उद्घाटन गरिएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त अस्पताल निर्माणका लागि सङघिय सरकारले एक करोड रुपैया उपलब्ध गराएको छ । अस्पतालमा भने चिकित्सकको अभाव छ । एक जना चिकित्सकको दरबन्दि भएपनि अनमी र अहेवको भरमा सञ्चालन गर्नु परेको छ ।”

सुनकोसी गाँउपालिकाले भने उक्त अस्पताल निर्माणका लागि टेण्डर आह्वान गर्न ढिलाई भएकोले सोमबार शिलान्यास गर्न नपाएको जनाएको छ । गाँउपालिका अध्यक्ष दिपा बोहोराले भन्नुभयो, “डिपिआर बनाउन समय लाग्यो । हामीलाई खबर पनि ढिलो भयो । टेण्डर भएको भर्खर आठ दिन जति भयो । अब सिलान्यास गरी भवन निर्माण प्रकृया अघि बढाउछौं ।”

भवनको सिलान्यास नभएपनि जुम मिटिङ गरेको जानकारी दिदै उहाँले १५ शैथ्याको सरुवा रोग अस्पताल प्रदेश सरकारको एक करोड र संघिय सरकारको एक करोड गरी दुई करोड रुपैयामा बन्न लागेको बताउनुभयो ।

उता फिक्कल गाँउपालिकाले भने वडा नं. ३ माथिल्लो चनौटेमा १० शैथ्याको अस्पताल निर्माण गर्न असारमा नै शिलान्यास गरी भवन निर्माण कार्य भई रहेको जनाएको छ । उक्त गाँउपालिकाको छ वटै वडामा स्वास्थ्य चौकीमात्रै रहेकोले १० शैथ्याको अस्पताल निर्माण सुरु गरिएको बताईएको छ ।

गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार संघिय सरकारको करिव १० करोड ८३ को लागतमा निर्माण हुने उक्त अस्पतालको भवन निर्माण गर्न पहिलो चरणमा दुई कारोड रुपैया प्राप्त भएकोले टेण्डर भई काम सुरु गरिएको हो ।

भवन निर्माण दुई बर्षभित्र सक्ने लक्ष्य रहेको र गौरीमाई कन्ट्रक्सनले भवन निर्माणको जिम्मा पाएको उहाँले जानकारी दिनुभयो । सिन्धुलीको पूर्वी बिकट क्षेत्रमा रहेको उक्त गाँउपालिकामा चिकित्सक सहितको अस्पताल नहुदा स्थानीय बासिन्दा भरपर्दो उपचार खोज्दै अन्यत्र जान बाध्य हुदै आएका उहाँले बताउनुभयो । उक्त भवन निर्माणका लागि थप ८५ लाख रुपैया बजेट प्राप्त भएको गाँउपालिकाले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया