बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

स्वस्थ जनशक्ति उत्पादन गरौं

आइतवार , मंसिर १४, २०७७

स्वस्थ जनशक्ति रहेको मुलुकले मात्रै आर्थिक विकासको गति बढाउन सक्छ । त्यसका लागि पोषणको आवश्यकता पर्दछ । मातृ–शिशु पोषणको अवस्था राम्रो भएमात्रै स्वस्थ जनशक्ति विकास हुन्छ । नेपालमा कुपोषण मुख्य स्वास्थ्य समस्यामध्ये एक रहेको छ । कुपोषणले व्यक्तिको बौद्धिक क्षमता विकासमा असर पुर्‍याउछ । उसको आर्थिक प्रगतिमा बाधा पु¥याउँछ । नेपाल कुपोषणको यस्तै समस्याबाट गुज्रिरहेको छ । आवश्यक पोषणको अभाव नेपालको मुख्य समस्या हो । नेपालमा पुड्कोपनाको वर्तमान अवस्था निकै गम्भीर छ, ३६ प्रतिशत बालबालिकामा पुड्कोपना छ । ख्याउटेपनाको अवस्था १० प्रतिशत छ भने २७ प्रतिशत बालबालिका कम तौलको अवस्थामा छन् । पूर्ण स्तनपानको अवस्था घट्दो क्रममा छ । करिब ४६ प्रतिशत गर्भवती महिला र पाँच वर्षमुनिका ५३ प्रतिशत बालबालिका रक्तअल्पताबाट प्रभावित छ ।

राष्ट्र संघीय बालकोष (युनिसेफ) का अनुसार नेपालमा हुने कुल बालमृत्युमा ५३ प्रतिशत कुपोषणसँग सम्बन्धित छ । नेपालमा कुपोषण निकै भयावह अवस्थामा रहेको छ । पोषणको अवस्था सुधार गर्दै कुषोषण कम गर्ने सरकारी कार्यक्रम छ तर प्रभावकारी हुन सकेको छैन । गर्भवतीको उचित पोषण हुन सकेमात्रै उनले जन्माउने शिशुको पोषण राम्रो भएको हुन्छ । गर्भवतीको रक्त अल्पताको अवस्थामा भर्गस्थ शिशुको उचित पोषण हुन सक्दैन । स्थानीय स्तरमा पाइने परम्परागत खाद्यवस्तुको प्रयोग घट्दै र बजारमा पाइने आधुनिक खाना खाने प्रवृत्ति बढ्दै गएको छ ।

बालबालिकालाई विद्यालय पठाउँदा बजारमा पाइने प्याकेटको खाजा दिने प्रवृत्ति छ । कुपोषण खानेकुराको अभावभन्दा बढी स्थानीय स्तरमा उपलब्ध खाद्यवस्तु मिलाएर नखाने र बजारमा पाइने प्याकेटको खाजा खाने प्रवृत्तिसँग सम्बन्धित छ । पोषणबारे जनचेतनाको अवस्था निकै कमजोर छ । राम्रो पोषण भएको व्यक्तिले आफ्नो सक्रिय उमेरमा बढी आर्जन गर्न सक्छ । कुपोणको अवस्थामा सुधार ल्याउन स्थानीय उत्पादन बढाउन र ती उत्पादनको सदुपयोग गर्ने जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । पोषणमा नेपालको वर्तमान अवस्थाले दिगो विकासको लक्ष्य भेटाउन मुश्किल पर्नेछ । दिगो विकास लक्ष्य २०३० भेटाउन नेपालले पोषण सुधारका प्रयासहरू बढाउन अनिवार्य छ । उचित पोषणले स्वस्थ जनशक्ति उत्पादन हुनेछ ।

 

प्रतिक्रिया