बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सधैं मलको हाहाकार

मंगलवार , कार्तिक २५, २०७७

किसान यतिखेर धानबााली भित्र्याएर गहुँ बाली लगाउने तयारीमा छन् । तर, देशभरका किसान मलको चर्को अभाव झेल्न बाध्य छन् । कतिपय स्थानमा लुकाइ छिपाइ राखिएको मलका लागि किसान कोरोना संक्रमणको वास्ता नगरी दिनभर लाइनमा बस्न विवश छन् । यति दुःख सहेर पनि रित्तो हात फर्किनु पर्ने नियति हटेको छैन । किसानका लागि यो नयाँ समस्या भने होइन । नेपालमा बर्सेनि धानबालीका समयमा युरिया मलको चर्को अभाव हुन्छ । अन्नको बाला फलाएर देशको पेट भर्न दिनरात खेतमा पसिना बगाउने किसानले कतिपय जिल्लामा मलको माग गर्दा कुटाइसमेत खानु परेको तीतो यथार्थ हामीमाझ छ ।

कृषि प्रधान मुलुकमा यसभन्दा लज्जास्पद विषय हुनै सक्दैन । खेतीका लागि किसानलाई चाहिने सामान्य मलसम्म उपलब्ध नहुनु कृषि प्रधान मुलुकका लागि दुर्भाग्य हो । बर्सेनि खेतीको सिजनमा युरिया मलको चर्को अभाव हुँदा पनि यसतर्फ सम्बन्धित निकायको ध्यान नपुग्नु अझ दुःखद् पक्ष हो । दुःखको कुरा सहकारी संस्थाले मल बिक्रीका लागि व्यापारीलाई जिम्मेवारी दिन्छन् । व्यापारीले मनपरी मूल्य तोक्ने गरेका छन् । कालोबजारीका कारण किसान थप मर्कामा परेका छन् । बर्सेनि दोहोरिने यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेदनशील हुनु आवश्यक छ । मलको वितरण प्रणाली सीमित बिचौलियाको घेराबन्दीमा पर्दा देशभरका किसान आक्रान्त बन्नु राम्रो होइन । यो वर्ष सरकारले कोरोना भाइरसको महामारीका कारण समयमा युरिया मल आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ ।

म हा मा रीका कारण मल उत्पादन गर्ने कारखानामा जनशक्ति अभाव हुनु स्वाभाविक हो । त्यही बहानामा उत्पादनमा समस्या परेको र उत्पादित मल कामदार अभावका कारण जहाजमा लोड–अनलोड गर्न नसकिएको सरकारी निकायको दाबी छ । देशभरका कृषकको लागि करिब ६ लाख मेट्रिकटन मल आवश्यक पर्ने सरकारी तथ्यांक छ । तर, सरकारले करिब तीन लाख मेट्रिकटनलाई पुग्ने गरी मात्र बजेट विनियोजन गर्दै आएको छ । कृषकले समयमै पर्याप्त मल नपाउनुको पछाडि यो पनि एउटा कारण हो । यसबाहेक समयमै टेन्डर आह्वान नगर्नु, राजनीतिक पहुँच भएका व्यक्तिलाई आपूर्तिको जिम्मा दिनु, टेन्डर र खरिद प्रणाली झन्झटिलो र लामो हुनु, वितरण प्रणाली पारदर्शी बनाउन नसक्नु पनि बर्सेनि मलको अभाव देखिनुका कारण हुन् ।

प्रतिक्रिया