लामो समयदेखि हामी लोकतान्त्रिक अभ्यासमा छौं । तरपनि हामीमा लोकतान्त्रिक संस्कृतिको विकास हुन सकेको छैन । यो गभ्भिर प्रश्न हो नेपाली जनताका लागि । किनभने हामीले जे देखिरहेका छौं, जे भोगिरहेका छौं त्यही नै लोकतन्त्र हो भन्ने भ्रम पालिरहेका छौं । वास्तमा लोकतन्त्रको अर्थ त्यो होईन । सभ्य समाजको निर्माण नै लोकतन्त्रको परिभाषा हो । त्यसो हुन नसक्दा सिङ्गो देश र समाज आज विकृतितिर लम्कदै छ । लोकतन्त्रको भविष्यका लागि यो सुखद कुरा होईन । त्यसैले देश र जनताको नेतृत्व गर्ने राजनीतिक दल र तिनका नेताले सबैभन्दा पहिला यो कुराप्रति गभ्भिर हुनु जरुरी छ ।
मुहान धमिलो भएपछि पानी संग्लो आउने कुरै भएन । अहिले सबैभन्दा ठूलो समस्या भनेकै यही हो । भ्रष्टचार गर्न गाँउ होईन, सिंहदरबार पस्नु पर्ने अवस्थाको सिर्जना जस्ले गरे त्यहीबाट सुधारको प्रकृया थालनी भयो भने मात्रै सभ्य समाजको निर्माण गर्न सकिएला, कानुनी राज्यको स्थापना गर्न सकिएला र दण्डहिनताको अन्त्य गर्न सकिएला । जनता भनेका अजय शक्ति हुन् । जनताले चाहेभने जस्तोसुकै परिबर्तन ल्याउन सक्छन् भन्ने कुरा नेपालकै ईतिहास साक्षि छ । तर जनताले ल्याईदिएको राजनीतिक परिबर्तनको नेतृत्व गर्ने नेता ईमान्दार नभएकै कारण धेरै पटकका उपलब्धी गुमेका छन् ।
हिजो लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सँगै बसेका नेताहरु बीच अहिले पानीबाराबरको स्थितिसम्म पुगेका छन् । यसको पछिल्लो ज्वलन्त उदाहरण सत्तारुढ नेकपाभित्रै देख्न सकिन्छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभित्र पनि किचलो उस्तै छ । गणतन्त्रको संस्थागत विकास नभई प्रमुख राजनीतिक दलका नेताहरु बीच यस्तो परिस्थिती सिर्जना हुने भनेको पक्कै पनि राम्रो कुरा हाईन । दलहरुभित्र भएका कमि कम्जोरीलाई सँच्याउदै नयाँ नेपालको निर्माणमा अगाडी बढ्नु नै लोकतन्त्रको परिभाषा हो ।