बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अन्धविश्वासलाई त्यागौ

बुधवार , कार्तिक १९, २०७७

नेपालीहरु आजसम्म पनि परम्परागत अन्धविश्वासबाट मुक्त हुन सकेका छैनन् । अन्धविश्वासमा भरपर्दा कतिको बिना कारण ज्यानसमेत गएका कयौ उदाहरण छन् । यस्तै समाजमा महिलालाई बोक्सीको आरोप लगाएर विभिन्न यातना दिने गरिएको विषयलाई पनि लिन सकिन्छ । समकालिन शब्दकोशको अनलाईन संस्करणमा हेर्ने हो भने पनि परम्परागत अन्धविश्वास अनुसार टुनामुना मन्त्र जान्ने, र त्यसको प्रयोगबाट अरुलाई दुःख दिने स्त्री लाई बोक्सी भनेर भनिएको छ । आज हाम्रो ग्रामीण, अशिक्षित, परम्परागत कुरिती र संस्कारले भरिएको समाजमा महिलालाई यो आरोप बढी लगाउने गरिएको छ ।धेरै महिला गाँउ, टोल, छरछिमेकबाट पीडित र अपहेलित भएका समाचारहरु आउने गरेका छन् ।

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलालाई मात्र यो आरोप लगाईन्छ । अहिलेसम्म यसको बारेमा कुने तथ्य बाहिर आउन नसके पनि यस्को एउटै मात्र कारण अशिक्षा, जनचेतनाको कमी, परम्परागत कुरिती र कुसंस्कार नै हो भन्दा अन्यथा नहोला । एउटा अन्धविश्वासको भरमा महिलामाथि यो आरोप लगाउने गरिएको छ । एउटी ग्रामीण महिला बोक्सि हुन सक्छिन् भने पुरुष हुन सक्छ कि सक्दैन ? महिलामात्र बोक्सी हुने हो भने पनि सहरिया र शिक्षित वर्गमा यस्ता बोक्सीको चर्चा चल्दैन ? टुनामुना, मन्त्र जान्नेले यसको प्रयोग गरेर अरुलाई बिगारेको हो भने जो कसैले पनि यस्को प्रयोग गर्न सक्नु पर्ने हो । ग्रामीण क्षेत्रमा मात्र यस्तो हुने गरेको पाईन्छ ।

बास्तबमा भन्ने हो भने हामी नेपालीहरु परम्परागत धर्म, संस्कृति, चालचलन, रितिरिवाज, मूल्य मान्यता आदिमा धनी छौं । जसका कारण विश्व सामु चिनिएका पनि छौं । तिनीहरु नै हाम्रा अमूल्य सम्पति पनि हुन् । तर कतिपय कुरामा बढी नै परम्पराबादी र अन्धविश्वासी भएका छौं । समय र परिस्थिती अनुसार चल्न सकेका छैनौं । हामीले यस्ता विभिन्न नकारात्मक कुरालाई छाड्दै नयाँ र राम्रा कुराको मात्र आत्मसात गर्नु र विकास गर्नु आजको आवश्यकता हो । यसका लागि शिक्षा अनिबार्य छ । शिक्षा क्षेत्रको विकासले मात्रै समाजको विभिन्न परम्परागत अन्धविश्वासले गाडेको जरा उखेल्न संभव छ । जबसम्म शिक्षा क्षेत्र र चेतनाको विकास हुदैन तबसम्म यस्ता परम्परागत अन्धविश्वास रहिरहने छ । बोक्सीको आरोपमा महिला अपहेलित भईरहने छन् ।

प्रतिक्रिया