काठमाडौं , ६ कार्तिक – आफ्नै पार्टीे नेकपा, परराष्ट्रमन्त्रालय लगायतलाई जानकारी नै नगराई प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी जा सुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई राति अध्याँरोमा भेटेको विषयलाई लिएर चौतर्फी बिरोध सुरु भएको छ।
प्रधानमन्त्री ओली र रअका प्रमुख सामन्तकुमारको भेटलाई लिएर नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल, भारत सम्बन्धका समस्याबारे छलफल गर्ने अनेक औपचारिक संयन्त्र रहेका बेला ती संयन्त्रलाई बेवास्ता गरेर रातको अँध्यारोमा गोप्यरुपमा ओलीले रअ प्रमुख सामन्तकुमारलाई भेटेको मामिलालाई लिएर उनीहरुले गम्भीर आपत्ति जनाएका हुन्।
बुधबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीले रअ प्रमुख सामन्तकुमारसँग भेटेकोबारे अस्वीकार गरेको प्रधानमन्त्री ओलीको सचिवालयले चौतर्फी बिरोध भएपछि बिहीबार ओलीका सचिवालयका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरणका लागि बक्तव्य जारी गर्न बाध्य भएका छन्। त्यसमा थापाले ओली र सामन्तकुमारबीच भेट भएको पुष्टि गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार राति ९ बजेदेखि ११ बजेसम्म रअका प्रमुखसँग भेट गरेका थिए।
प्रधानमन्त्री ओलीसँग अबेर राति बालुवाटारमा दुई घन्टा बैठक गरेर हायात होटल फर्केका रअ प्रमुख बिहीबार बिहान नौ बजे विशेष विमानबाट नयाँ दिल्ली फर्केका छन्।
‘मुलुक गहिरो संकटमा फसेका बेला, पार्टी र सम्बन्धित मन्त्रालयलाई जानकारी नगराई विदेशी जासुसी संस्थाका प्रमुखलाई बोलाउने र उनीसँग गोप्य वार्ता गर्ने कुरा सामान्य कुरा होइन। अब सरकार नै छ कि छैन भन्ने अवस्था आइलाग्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो।
पार्टी बचाउने आफ्नो दायित्व भए पनि अब सरकारबिरुद्ध जाइलाग्नका लागि कयौँ महत्वपूर्ण विषयको चाङ लागिसकेको प्रचण्डले बताएको ती नेताले बताए।
यता पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्रीको यस्तो कार्य राष्ट्रकै निम्ति घातक भएको विश्लेषण गरेका छन्।
‘मुलुक कसरी जोगाउने भन्ने ठूलो परीक्षामा रहेको सरकार प्रमुखले रातारात जासुसी संस्थाका प्रमुखलाई बोलाएर गोप्य भेट गर्नु अत्यन्तै घातक हो,’ नेता नेपालको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले बताए।
नेता खनालले पनि ओलीबाट भएको यस्तो कार्य अस्वीकार्य हुने बताएका छन्।नेकपा प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय रअ प्रमुखको नेपाल भ्रमण र भ्रमणले थुर्पै आशंका जन्माएको बताए।
उनले भने,‘ रअप्रमुख आफ्नो टोलीसहित बिमान नै चाटर्ड गरेर गरेर यो बेला नेपाल किन आए भन्ने प्रष्ट नभएको छैन। यहाँ आउनलाई औपचारिक निम्तो दिएको हो कि होइन भन्ने पनि प्रस्ट नभएको छैन। के एजेण्डामा कोकोसँग कुरा भयो भन्ने पनि खुल्नु पर्छ। अनौपचारिक हो भने किन आइयो? र त्यस्तो व्यक्तिलाई किन भेटियो भन्ने थुर्पै प्रश्नहरु अनुत्तरित छन्। यो विषयमा गम्भीररुपमा परामर्श आवश्यक छ।’
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले वक्तव्यमा भनेका छन्, ‘उहाँ(रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकार निवास बालुवाटार आउनु भएको थियो। भेटका क्रममा उहाँले नेपाल, भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्पारिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो।’
सरोकारवाला मन्त्रालय र पार्टीलाई पन्छाएर एक्लै गोप्यरुपमा प्रधानमन्त्री ओलीले रअ प्रमुख सामन्तकुमारलाई भेट्दा राष्ट्रिय स्वार्थमासमेत गम्भीर सम्झौता भएको आशंका पार्टीमा उत्पन्न भएको हो।
कोरोना महामारीका कारण सीमा विवादलगायत विषयमा वार्ता गर्न नसकेको भन्दै भारतले बहाना बनाइरहेका बेला रअ प्रमुख सामन्तकुमारको नेपाल आगमन र प्रधानमन्त्री ओलीसँगको उनको भेटले भारत दोहोरो चरित्रमा प्रस्तुत भइरहेको र ओली समर्पणतर्फ उन्मुख भएको स्पष्टरुपमा देखाएको नेताहरुको भनाइ छ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सार्वजनिकरुपमै प्रधानमन्त्री ओली र रअप्रमुख सामन्तकुमारबीच भएको भेटलाई लिइर गम्भीर आपत्ति जनाएका छन्।
रावलले ट्वीटमा भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधिनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ।’
पछिल्लो पटक नेकपा कर्णाली विवाद, राजदूत नियुक्ति, मन्त्रीपरिषद् हेरफेरलगायतले नेकपाको आन्तरिक राजनीति खलबलिएका बेला र कोरोना महामारी नियन्त्रणमा असफल भई अलोकप्रिय निर्णय गर्न सरकार व्यस्त बनेका बेला प्रधानमन्त्री ओलीले सामन्तकुमारलाई भेटेका हुन्।
देशसञ्चारबाट साभार