शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एउटा भैँसी ८१ लाखमा बिक्री

बिहिवार , कार्तिक ६, २०७७

काठमाडौँ, ६ कात्तिक – सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तो डेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।

सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्। भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।

किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।

हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो। एजेन्सी-

प्रतिक्रिया