सिन्धुली,,६ कार्तिक – सिन्धुलीको सुनकोसी गाँउपालिकाले दशैंको मुखमा सामाजिक सुरक्षा भत्ता नगद नै बितरण गरेको छ ।
जिल्लाका अन्य पालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बितरण गरि रहेको बेला सुनकोशी गाँउपालिकाले भने नगदै हातमा बितरण गरेको जनाएको छ । गाँउपालिकाका लेखापाल रामबाबु कार्कीले चालु आर्थिक बर्ष ०७७÷०७८ देखि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बितरण गर्ने भनिएपनि यो पटक कोरोनाका कहरका कारण हातमै नगद बितरण गरिएको बताउनुभयो ।
रातमाटास्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा खाता खोल्न लगाएको र अर्को पटकदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरिने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बितरण गर्न करिब ४० लाख रुपैया निकासा भएको र सात वटै वडाका सचिब घर घरमै पुगेर उक्त भत्ता बाँडी रहेको लेखापाल कार्कीको भनाई छ ।
यो पटक चालु आर्थिक बर्षको सुरु दुई महिनाको सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाँउपालिकाले जनाएको छ । उक्त गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको सङख्या दुई हजार ८७२ रहेको लेखापाल कार्कीले जानकारी दिनुभयो ।
गाँउपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेहरु मध्ये जेष्ठ नागरिक एक हजार २६५ जना, जेष्ठ नागरिक दलित २०४ जना, जेष्ठ नागरिक (६० बर्ष माथि) २२३ जना, एकल महिला तथा बिधुवा २८३ जना, ‘क’ वर्गको अपाङग ६२ जना, ‘ख’ वर्गको अपाङग ३६ जना, दलित बालबालिका ३३६ जना र लोपोन्मुख हायु जाति ४६३ जना रहेका छन् ।
जेष्ठ नागरिकले तीन हजार, जेष्ठ नागरिक दलितले तीन हजार, जेष्ठ नागरिक (६० बर्ष माथि) तीन हजार, एकल महिला तथा बिधुवाले दुई हजार, ‘क’ वर्गको अपाङगले दुई हजार, ‘ख’ वर्गको अपाङगले १६ सय, दलित बालबालिकाले चार सय र लोपोन्मुख हायु जातिले तीन हजार रुपैया मासिक भत्ता पाउदै आएका छन् ।
दशैंको मुखमा सामाजिक सुरक्षा भत्ता पाउदा बृद्धबृद्धा भने दङग परेका छन् । दशैंअघि सामाजिक सुरक्षा भत्ता बितरण गरि सक्ने योजना रहेको गाँउपालिकाले जनाएको छ ।