सिन्धुली,४ कार्तिक – सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा लघु जलविद्युत योजना निर्माण कार्य बढ्दै गएको छ ।
राष्ट्रिय विद्युत प्रसारण लाईन पुग्न नसकेको त्यस क्षेत्रमा दातृ संस्था खोज्दै स्थानीय खोलामा बगेर त्यसै खेर गएको पानीबाट विद्युत निकाली गाँउलाई नै झलमल बनाउन स्थानीय बासिन्दा लागि परेका हुन् । स्थानीय उपभोक्ताबाट नगद सङ्कलन, गाँउपालिका र अन्य निकायबाट त्यस क्षेत्रमा अहिले डेढ दर्जनभन्दा बढी लघु जलविद्युत योजना निर्माण भई सकेका जनाईएको छ ।
फिक्कल गाँउपालिकाका छ वटा वडा मध्ये यतिखेर वडा नं. ५ बाहेक सबै वडामा लघु जलविद्युतले गाँउझिलिमिली भएको छ । गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले फिक्कल गाँउपालिकामा अहिले सात वटा लघु जलविद्युत योजना चालु अवस्थामा रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “फिक्कल गाँउपालिकामा करिब ४५ सय घरधुरी रहेको छ । ती मध्य आधाभन्दा बढी घरधुरी लघु जलविद्युतले झलमल भएको अवस्था छ । वडा नं. २ पोखरीका पुरै घर परिवारमा लघु जलविद्युतको विजुली पुगेको छ ।”
उक्त गाँउपालिकामा यो बर्ष मात्रै पहिलो पटक राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेको र त्यो पनि मध्ये पहाडी लोकमार्ग छेउछाउका घरमा मात्र उक्त विद्युत प्रशारण लाईनको पँहुच पुगको उहाँले सुनाउनुभयो ।
त्यस्तै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चारवटा लघु जलविद्युत सञ्चालनमा रहेका छन् । यी विद्युत योजनाबाट १३ किलोवाट विद्युत उत्पादन भई एक सय २८ घरपरिवार लाभान्वित भएका वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोखेखोला ‘ए’ पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट, कोखेखोला ‘वि’ पेल्ट्रिकसेट योजनाबाट दुई किलोवाट, बादपखोला पेल्ट्रिकसेट योजनाबाट तीन किलोवाट र सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट पाँच किलोवाट विद्युत उत्पादन गरी गाँउ झिलिमिली बनाईएको छ ।
करिब सात लाख रुपैयाको लागतमा सम्पन्न कोखेखोला ‘वि’ पेल्ट्रिकसेट योजनाबाट २५ घर परिवार, सालुमा करिब पाँच लाखको लागतमा सम्पन्न कोखेखोला ‘ए’ पेल्ट्रिकसेट योजनाबाट १७ घर परिवार, करिब १९ लाख रुपैयाको लागतमा सम्पन्न सरस्वतीखोला पेल्ट्रिकसेट योजनाबाट ५३ घर परिबार र करिब सात लाख रुपैयाको लागतमा सम्पन्न बादपखोला पेल्ट्रिकसेटबाट ३३ घरपरिवारले बिद्युत उपभोग गर्न पाएको स्थानीय बासिन्दा तथा उक्त वडाका पूर्वसचिब थलकुमार गौतमले जानकारी दिनुभयो ।
त्यस क्षेत्रका झण्डै एक दर्जन भन्दा बढी ठाँउ लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतबाट झलमल्ल भएका छन् । बाहुनतिल्पुङ्, भद्रकाली, पोखरी, लाम्पन्टार, खाङ्साङ्, बालाजोर, सित्तलपाटी, पिपलमाढी, रत्नावति, खोलागाँउ र शान्तेश्वरी लगायतका ठाँउमा यी लघु जलविद्युत आयोजना निर्माण भएको पनि समन्वय समितिले जनाएको छ ।
पाँच बर्षअघि ग्रामीण उर्जा विकास कार्यक्रम अन्तर्गत जिल्ला उर्जा तथा बाताबरण शाखाले लघु तथा साना जलविद्युत आयोजना सञ्चालनका लागि १७ वटा साबिक गाविसमा स्थलगत पूर्व संभाव्यता अध्ययन गरि सकेको छ । पूर्व संभाव्यताको क्रममा ध्याङलेक गाँउपालिकाको अमले र नेत्रकाली, तीनपाटन गाँउपालिकाको बाहुनतिल्पुङ्, र फिक्कल गाँउपालिकाको खोलागाँउ लघु तथा साना जलविद्युत आयोजनाका लागि बढि सम्भाव्य भएको ठाँउ पाईएको छ ।
जिल्ला समन्वय समितिका अनुसार स्थानीय तहको चुनाव हुनअघि लघु जलविद्युत आयोजना निर्माणका लागि सरकारले पाँच किलोवाट क्षमताको भन्दामाथिकोलाई प्रति किलोवाट एक लाख २५ हजार र पाँच किलोवाट क्षमताको भन्दा तलकोलाई प्रतिकिलोवाट ९७ हजार पाँच सय रुपैया अनुदान दिइएको थियो । सरकारी अनुदान बाहेक पनि नीजि क्षेत्रबाट सहयोग जुटाई जिल्लाका विभिन्न भागमा लघु तथा साना जलविद्युत आयोजना निर्माण पनि सुरु गरिएको स्थानीय बासिन्दा बताउछन् ।
बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र काठमाण्डौको सहयोगमा फिक्कल गाँउपालिकाको खाङ्साङ्स्थित साखरखोलाबाट १४.३ किलोवाट विद्युत उत्पादन गरि गाँउलाई नै झलमल बनाएको साखरखोला लघु तथा साना जलविद्युत आयोजनाका सचिब बमबहादुर पिठाकोटे बताउनुहुन्छ ।
उक्त आयोजनाको कुल लागत ३६ लाख रुपैया रहेको र त्यसमध्ये बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहयोग १२ लाख १५ हजार पाँच सय रुपैया, स्थानीय उपभोक्ताबाट नगद सङ्कलित दुई लाख ५० हजार रुपैया र बाँकी रकम तत्कालिन जिविस, गाविसको सहयोग रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चार वर्षअघि निर्माण पुरा भएको उक्त आयोजनाबाट फिक्कल गाँउपालकाको वडा नं. ३ गरि २५० घरमा बिजुली बलेको छ ।