सिन्धुली,२ कात्तिक– सिन्धुली जिल्लामा आईतबार १९ जना कोरोना सङक्रमित थपिएका छन् ।
यो सहित सिन्धुली जिल्लामा कुल सङक्रमितको संख्या २६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुधौली नगरपालिका र सिन्धुली अस्पतालले १०२ जनाको स्वाब संकलन गरि असोज २८ गते पिसिआर परिक्षण गर्न धुलीखेल र हेटौडा पठाएका मध्ये १९ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । बाँकीका निगेटिभ रिपोर्ट आएको छ ।
संmमित १९ जना मध्ये छ जना महिला र १३ जना पुरुष रहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित व्यक्तिहरु १३ देखि ५७ बर्ष उमेर समूहका रहेका छन् । सङक्रमित मध्ये कमलामाई नगरपालिकाका १२ जना, दुधौली नगरपालिकाका छ जना र हरिहरपुरगढी गाँउपालिकाका एक जना रहेका छन् ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १७२ जना रहेका छन् । हालसम्मका सक्रिय संक्रमित बिरामी मध्ये सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी २० जनाको आईसोलेसनमा उपचार भई रहको र बाँकीको होम आईसोलेसनमा उपचार भई रहेको स्वास्थ्य कार्यालय प्रमुख साहले बताउनुभयो ।
हालसम्मका कुल संक्रमित मध्ये ९७ जना उपचारपछि कोरोनालाई जितेर घर गई सकेको कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमित व्यक्तिको संख्या बढेसँगै उपचारका लागि आईसोलेसन बेढको अभाव रहेको सिन्धुली अस्पतालले जनाएको छ ।