शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बन्द भो समुदायमा ऐँचोपैँचो

बुधवार , आश्विन २१, २०७७

सिन्धुली,२१ असोज – कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा ग म्भीर अ सर पुर्याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरू ड राउन थालेका छन् ।

दुधौली नगरपालिका–२ निवासी पबित्रा माझी आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताउनुभयो । ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही छाक टार्न सजिलो हुन्थ्यो’’, उहाँले भन्नुभयो, ‘‘कोरोना भा इरस सं क्रमणको डरले बाडीचुडी खान पनि ब न्द भयो । जीवन अलि अ प्ठ्यारो भएको छ ।’’

गाउँका एक घरमा कुनै चिज भए गाउँभरीको काम चल्ने चलन रहेको थियो । अहिले कोरोनाका कारण गाउँघरमा पैँचो दिने कुरामा आनाकानी गर्ने गरेको सोही ठाँउकी सिर्जना बरालले सुनाउनुभयो । ‘‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ’’, उहाँले भन्नुभयो, ‘‘आजभोलि एक अर्काको घर आजजाउ नै ब न्द छ । बाडेर खाए त रोग सर्ला भन्ने डर छ ।’’

कमलामाई नगरपालिका–११ निवासी मनमाया मगरको दुई वर्षीय छोरा छ । मनमाया र उहाँका छिमेकीको आँगन एउटै छ । सधैँ छिमेकीको घरमै खेल्ने छोराले मनमायालाई निकै पिरोलेको छ । ‘‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिनु भएको छैन, उनीहरूले जोखिम छ यहाँ नआउ भन्छन्’’, मनमाया भन्नुहुन्छ, ‘‘ठीकै हो, अरुलाई किन जो खिममा पार्नु ? तर बच्चाले मानेको छैन । आँगनमा बार लगाएर बच्चा रोकेकी छु । बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो ।’’

पछिल्लो समय कोभिड–१९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्र सित हुन थालेका बताइएको छ । यो सँगसँगै गाउँघरमा मानिसहरू वल्लोपल्लो घर आउजाउ गर्ने आनी बानीमा पनि कमी आएको कमलामाई नगरपालिका–५ निवासी सकुन्तला राईले बताउनुभयो । ‘‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो’’, उहाँले भन्नुभयो, ‘‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न ।’’

गाउँघरमा आफन्त बीच घेटघाट हुने, भलाकुसारी गरिने र दुःखसुख बाड्ने चलन सँगसँगै अभाव भएको नुन, तेल लगायतका सामान छिमेकीसँग माग्दा सम्बन्ध नजिक हुने कुरामा सकारात्मक होला । कोरोनाको प्रभाव बढिरहेका बेला यसरी आपसी भेटघाट र अ‍ैचोपैचो गर्नु स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले केही समय नगरेकै राम्रो हुन स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘‘केही समय बाच्नका लागि यसो गरिनुलाई गलत रुपमा नबुझौँ, बाचे फेरि राम्रा चलन अपनाउन सकिन्छ’’, कमलामाई नगरपालिका–४ निवासी स्वास्थ्यकर्मी केसब बरालले भन्नुभयो, ‘‘सुरक्षित तवरले सरसापट र सहयोग गर्दा हुन्छ । मानिसलाई हेर्नै नहुने होइन तर सुरक्षित हुनुपर्ने हो । सामाजिक दुरी कायम गरेर कोरोनाबाट बचौँ ।’’

प्रतिक्रिया