शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा खसिबोकाको किनबेच बढ्दै

शुक्रवार , आश्विन १६, २०७७

सिन्धुली१६ असोज – नजिकिदो दशैंसँगै सिन्धुली जिल्लामा खसिबोकाको किनबेच बृद्धि भएको छ ।

वि पन्न किसानले दशैंका लागि खाद्यान्न, लत्ता कपडा र अन्य समानको जोहो गर्न आफुले पालेका खसिबोका बिक्रि गर्न शुरु गरेका स्थानीय बासिन्दा बताउछन् ।

उनिहरुका अनुसार ग्रामीण क्षेत्रका विपन्न किसानले सदरमुकाम सिन्धुलीमाढीसम्म खसिबोका ल्याएर बिक्रि गर्न थालेका छन् । कमलामाई नगरपालिका–भद्रकालीका किसान विरबहादुर तमाङ् दशैंका लागि आफुले एक साताभित्रमा सदरमुकाममा ल्याएर १३ वटा खसि बिक्रि गरि सकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाँउमा पालेका खसि आफुले खरिद गरि सदरमुकामसम्म पुर्‍याएर नाफा लिएर बिक्रि गर्ने गरेको छु । सदरमुकामसम्म पुर्‍याउदा एउटा खसिबाट एक हजार रुपैयासम्म नाफा भएको छ ।” आर्थिक वि पन्नताका कारण खसि बिक्रि गरेर नै दशैंका लागि चाहिने खर्च जुटाउने लक्ष्य आफ्नो रहेको पनि उहाँले बताउनुभयो ।

दशैका लागि खसि बिक्रि गर्न ग्रामीण क्षेत्रबाट हुलका हुल ल्याउने गरेका सदरमुकामका स्थानीय वासिन्दा बताउछन् । सदरमुकाममा खसि बिक्रि गर्न सदरमुकाम वरिपरिका भद्रकाली, डाडी, मझुवा, जलकन्या, रानीचुरी , तीनकन्या , रतनचुरा लगायतका ठाँउबाट ल्याईने गरेको स्थानीय बासिन्दा सुरेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले अन्य दिनभन्दा शनिवार लाग्ने हाटबजारमा खसिबोकाको किनबेच बढि हुने गरेको पनि जानकारी पनि दिनुभयो । ग्रामीण क्षेत्रबाट बिक्रिका लागि सदरमुकामसम्म झारेका खसिबोका व्यापारिले अझ बढि नाफा कमाउन सदरमुकाम बाहिर पनि लैजाने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

यता, उपभोक्ताको भने यो वर्ष खसिबोका विगत वर्षको तुलनामा मँहगो भएको गुनासो रहेका छ । सदरमुकामस्थित मल्लागाँउ निवासी उपभोक्ता रामबहादुर कार्की भन्नुहन्छ, “खसि व्यापारीले गत वर्ष धार्नीको १६ सय रुपैयाका दरले खसि दिएका थिए । यो वर्ष त धार्नीकै २२ सय जति पल्र्ला जस्तो छ ।” सदरमुकाम बाहिर रहेका भिमान, चकमके, दुधौली , डकाहा , झाँगाझोली रातमाटा, खुर्कोट लगायतका बजार लगायतका ठाँउमा खसिबोकाको किनबेच दशैका कारण बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया