शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आलुजस्ता हिट गायक ?

बिहिवार , आश्विन १५, २०७७

काठमाडौं १५ असोज -बजारमा कस्तो सामान बेच्ने भन्ने पसलेलाई थाहा हुन्छ। उसको सामान किन्ने नकिन्ने ग्राहकको मर्जी हो। गायक तथा मोडल दुर्गेश थापाको विचारमा जसरी अन्य चिजवस्तु किनबेच हुन्छ; त्यसरी नै कला, गला र सिर्जना बेच्ने ठाउँ हो गीतसंगीत पनि। दर्शकको ताली र गाली दुवै आफ्नो सम्पत्ति भएको भन्न रुचाउने उनी सांगीतिक बजारमा आफ्नै ब्रान्डको गीत लिएर उपस्थित हुन्छन्। उनका जुनै गीतले पनि चर्चा बटुल्छन्।

बागलुङका दुर्गेश थापा पछिल्लो समय युवा पुस्ताले फलो गर्ने गायक हुन्। उनले गायनसँगै मोडलिङ पनि सँगसँगै लगिरहेका छन्। गायनमा संघर्ष गरिरहेकै थिए। कहिले डान्स बारमा काम गर्थे त कहिले म्युजिक भिडियोमा कोरस नाच्थे। कामकै सिलसिलामा सिकेको अभिनयले उनलाई मोडल बनायो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजवी पौड्यालले लेखेका छन्

गत वर्षको तीजमा ‘हामी पनि नाच्नुपर्छ, बीचबीचमा’ बोलको गीत सार्वजनिक भएपछि दुर्गेशको चर्चा चुलियो। एउटै लय र प्याटर्नको गीत बजारमा आइरहेको अवस्थामा उनले लोकलयलाई पप प्याटर्नमा फ्युजन गरेर उक्त तीज गीत बनाएका थिए। यो गीत संगीतप्रेमी सबैको मनमा झुन्डियो। यसपछि उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। उनले गाएका जति पनि चलेका गीत छन् ती सब विवादित नै छन्। धेरैलाई चोरीको आरोप लागेको छ भने केहीलाई बिगारेको। तर जेसुकै आरोप लागे पनि गीत चाँहि उनकै चलेका छन्। दर्शक श्रोता कमाउन सकेपछि कसैको केही नलाग्ने रहेछ। अरू त अरू आफैंलाई ब्यंग्य गर्दै गाएको आफूजस्तो गीतले पनि उनलाई नै चर्चामा ल्यायो।

‘१६ वर्षे जोबन’ बोलको गीत सुटिङ गर्दागर्दै हालै बालाजुमा भेटिए दुर्गेश। सुटिङको विश्रामका क्रममा आफूलाई मन परेको काम गर्न हर कोहीलाई छुट रहेको उनले बताए। कसैले आफ्नो गीतको जनरा सोधे भने उनलाई थाहा छैन। भन्छन्, ‘मैले भोगेको जिन्दगी र देखेको समाजका विषयलाई गीत बनाउँछु। मलाई जसरी मन पर्छ, त्यसरी नै लय बनाउँछु। गीतको प्याटर्न छुट्ट्याउने, क्वालिटी चेक गर्ने जिम्मा दर्शकलाई।’

अभिनय गर्दागर्दै, नाच्दानाच्दै गायनमा आएकाले गीतसंगीत सिक्ने फुर्सद छैन उनलाई। उनी सहजसाथ स्वीकार्छन्, ‘म नजान्ने नै हुँ। नसिकेकै हुँ तर पनि दर्शकले माया गरिरहनुभएको छ। यसैमा खुसी छु।’

उनी कहिले तीज हामी केटाहरूको पनि हो, हामी पनि नाच्नुपर्छ भन्दै गाउँछन् त कहिले ‘हेप्पी तिहार चिसो बियर’ भन्दै गितार बजाउँदै गाउँछन्। कहिले ‘आलु जस्तो गायक हुँ’ भन्दै आफूलाई उपमा दिन्छन् त कहिले एउटा फोटो खिच भन्दै केटाहरूलाई सारी लगाएर भिडियो तयार गर्छन्। यसरी उनलाई जसरी पनि अरूभन्दा फरक गर्नु छ।

कोरोना कहरले घरभित्रै बसिरहँदा उनले ‘बेसार, कोरोनाको दबाई के छ र’ भन्दै व्यं ग्यात्मक गीत सार्वजनिक गरे। अहिले उनी ‘ह्याप्पी तिहार’ गीतको दोस्र्रो शृंखला निकाल्ने तयारीमा छन्। यसपटकको तीजमा उनले पुरुषलाई सारी लगाएर भिडियो बनाएपछि धेरै महिला दर्शकको गाली पनि खाए। महिलाको अ पमान गरेको आ रोप पनि लाग्यो। ‘चिसो बि यर’ गीतको केही शब्दलाई लिएर उनलाई प्रहरीले आफ्नो दैलो पुर्‍याएका थिए।

म्युजिक भिडियोमा पुरुषले सारी लगाएको प्रसंगबारे उनी भन्छन्, ‘लुगाको पनि कुनै जेन्डर हुन्छ र ? महिलाले पनि टिसर्ट पेन्ट, किन लगाउनुभएको ? त्यो पुरुषको लुगा हैन र ? महिलाले पेन्ट लगाएर नाच्दा सवाल नउठ्ने तर पुरुषले सारी लगाउँदा रोइलो किन नि ? बलिउड, हलिउडमा पनि यस्तो प्राक्टिस चलिरहेकै छ। यसमा रोइलो गर्नुपर्ने कुरै के छ र ?’

गीत गाउनु उनको सानैदेखिको रहर हो। तर आफूलाई गायकभन्दा अझै पनि स्टेज पर्फमरका रूपमा लिएका छन् दुर्गेशले। दुर्गेशको सुरुआती अभिनय धोका पाएको प्रेमीलगायत ट्र्याजेडी गीतमा बढी देखिन्छ। पछिल्लो समय भने उनले अलि चञ्चले, रोमान्टिक गीतमा अभिनय गरिरहेका छन्।

प्रतिक्रिया