शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा

आइतवार , भाद्र २१, २०७७

काठमाडौं,२१ भदौ -सत्तारुढ दल नेकपामा देखिएको वि वाद स माधानका लागि गठन गरिएको कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनगर्ठनको तयारी थालेका छन्।

बालुवाटार निकट स्रोतका अनुसार आगामी मन्त्रिमण्डलमा समावेस गरिने नयाँ मन्त्रीहरु र विदाई गर्नुपर्ने मन्त्रिहरुको सूची बनाउन थालिएको छ। स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यु छिटै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ। यसका लागि पार्टीमा पनि छलफल चलिरहेको छ।’

तर, मन्त्रिमण्डल पुनर्गठनभन्दा पहिला कार्यदलले दिएको प्रतिवेदन पारित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। गत बिहीबार बसेको नेकपा सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनका आधारमा दुई अध्यक्षले सचिवालयमा प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो।

सचिवालयबाट सो प्रस्ताव पारित भएपछि लामो समयदेखि रोकिएको स्थायी कमिटी बैठक बोलाइने र त्यहाँबाटसमेत सो प्रस्ताव पारित गर्ने नेकपाको तयारी छ। यति भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने स्रोतले बतायो।

हाल सूचना तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालय खाली छन्। यी दुबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैसँग राखेका छन्। मन्त्रिमण्डल पुनर्गठनमा यी दुई मन्त्रालयले नयाँ मन्त्री पाउने छन्। र केही मन्त्रीहरु विदा हुनेछन्।

हाल सबैभन्दा धेरै चर्चा अर्थमन्त्री को हुन्छ? भन्नेमा छ। पार्टी उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अर्थ मन्त्रीमा चर्चा छ। ‘यो मन्त्रालय अन्य प्रशासनिक काम गर्ने प्रकारको मात्रै होइन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अनुभवीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको योजना छ।, त्यसका लागि महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमध्ये एक जना अर्थमन्त्री बन्नुहुन्छ।’ यद्यपि, प्रधामन्त्री ओली सुरेन्द्र पाण्डेप्रति सकरात्मक रहेकाले उनी अर्थ मन्त्री हुने सम्भावना बलियो बनेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका थिए। प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने भन्दै ढुक्कसँग काम गर्न मन्त्रीहरुलाई ढाडस दिएका थिए। स्रोतका अनुसार मन्त्री परिवर्तन हुने चर्चापछि कर्मचारीले मन्त्रीलाई टेर्न छोड्ने परिपाटी भएका कारण प्रधानमन्त्रीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका हुन्।

‘मन्त्री परिवर्तन हुने हल्ला चलेपछि पियनले समेत नमस्कार गर्न छोड्न प्रचलन छ,’ स्रोतले भन्यो, ‘तर दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन योजना बनाएपछि मन्त्रिपरिषद पुनर्गठन हुन्छ।’

प्रतिक्रिया