काठमाडौं,३२ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि कार्यदल गठन भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् गठनमा लाग्ने भएका छन् । २ वर्ष कार्यकाल पुरा गरेका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने ओली प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ ।
नयाँ मन्त्रीमा पूर्व माओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ ।
त्यसैगरी ओलीले २ वर्ष कार्यकाल पुरा गरेको भएपनि गृहमन्त्री रामबहादुर थापा र ईश्वर पोखरेललाई भने निरन्तरता दिन चाहेका छन् । यता प्रचण्डले पनि वर्षमान पुन र विना मगरलाई निरन्तरता दिन चाहेको स्रोतको दाबी छ ।
बिहीबार र शुक्रबारको वार्तापछि जारी विवाद समाधानका लागि निश्चित विषयमा ओली–प्रचण्ड सहमत भएका थिए । सोही विषयलाई लिखित रुप दिने र प्रविधिक रुपमा मिलाउने गरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।