युरिया मलको अभावका कारण सिन्धुलीका कृषकहरु चिन्तित बनेका छन् । कृषि सामाग्री लिमिटेड र जिल्लाका सहकारी संस्थाले युरिया मल आपूर्ति गर्ने अधिकार पाएपनि अत्यावश्यक समयमा मलको सधैँ अभाव हुने गरेको छ । युरिया मल सिन्धुली ल्याइहालेपनि रडाको मच्चिने गरेको छ । केहि सहकारीले साल्ट ट्रेडिङ वा कृषि सामाग्री लिमिटेडबाट मल आपूर्ति गरेपनि कृषकहरुले भने मल पाउन सकिरहेका छैनन् । राजनैतिक दल देखि स्थानिय तहसम्मको नाजायज हस्तक्षेपले गर्दा वास्तविक कृषकले मल पाउने अवस्था छैन । सहकारीले ल्याउने मलमा पनि हुनेखाने कृषककै रजगज हुने गरेको छ । वास्तविक कृषकले बल्लतल्ल १० केजी मल पाइरहदा केहिले भने दुई/तीन बोरा मल लगिरहेको अवस्था छ । त्यसैगरि, केहि व्यापारीलाई समेत सहकारीले मल बेच्ने गरेको पछिल्ला घट्नाहरुले देखाउँछ ।
बुधबार कमलामाई नगरपालिकाको प्रमुख खड्ग बहादुर खत्रीको पहलमा एक ट्रक मल ल्याइएको थियो । बुधबारबाटै कनपामा लकडाउन भएतापनि मलले गर्दा लकडाउन मज्जाक साबित बन्यो । मल आएको खबर प्राप्त हुनासाथ कृषकहरु मल पाउने आशमा विक्रेतासम्म पुगेका थिए । झण्डै तीन÷चार सयको हाराहारीमा रहेका कृषकले मल पाउने कुनै अवस्था थिएन । किनभने, खत्रीले नगरपालिकाको सिफारिश बिना मल विक्रि नगर्न विक्रेतालाई बताउनुभएको थियो । खत्रीकै सिफारिशमा २०० मल भने बिहानै कनपा–९ र ८ मा वितरणका लागि पठाइएको थियो । अन्ततः सयौँको संख्यामा भिड बनाएर बसेका कृषकहरुले १० केजी मलमा नै चित्त बुझाउनुपरेको थियो । यो घट्नाले के देखाउँछ भने नगरप्रमुखको सक्रियतामा मल त आयो तर व्यवस्थापनमा देखिएको कमजोरीले उहाँको पहल फिक्का साबित बन्न पुग्यो । विक्रेतासँग समन्वय गरेर अघि नबढ्दा कोरोनाको त्रासकै बिच भिडभाड हुने अवस्था सिर्जना भएको थियो । यता, मेयर खत्रीले भने मल ल्याउँदा नि विरोध नल्याउँदा पनि वि रोध भन्दै दम्भमिश्रित प्रतिक्रिया दिनुभएको छ । वास्तवमा, जनताको प्रतिनिधिले जतिनै अपजस पाएपनि जनतालाई सेवा दिन पछि हट्नुहुदैँन । जय बागवानि कृषि सहकारी संस्थालाई वितरणकालागि मल उपलब्ध गराउने नगरप्रमुखले कसरी मल वितरण गर्ने भन्ने सोच नपु¥याउनु व्यवस्थापनको कमजोरीको ज्वलन्त उदाहरण हो । त्यसैगरि, मल वितरणकालागि नगरप्रमुखले छनौट गरेको संस्था पनि विवादित भएकाले खत्रीको कदमप्रति असन्तुष्टि जनाउनु स्वभाविक हो । तसर्थ, स्थानिय तहको सिफारिशमा मल आपूर्ति गर्दा थप सजगता अपनाउन जरुरी छ । त्यस्तै, कृषि सामाग्री लिमिटेडले पनि जिल्लामा रहेका किसानहरुलाई आवश्यक परेको मलको हिसाब राखेर मल आपूर्तिमा जोड दिन आवश्यक छ । अतः कृषकलाई युरिया मलको अभाव हुन नदिन स्थानिय तह, कृषि सामाग्री लिमिटेड लगयायत सरोकारवाला निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन र मल आपूर्ति भएको अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ पनि सोच केन्द्रित गर्न जरुरी छ ।