सिन्धुलीको स्थानिय तहमा आर्थिक अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोगको घट्ना बारम्बार सार्वजनिक हुने गरेको छ । स्थानिय सरकारप्रति नागरिकपनि ढुक्क भएर बस्ने अवस्था छैन । देशमा संघीयता आएसँगै भ्रष्टाचारको घट्नामा पनि वृद्धि भएको छ । स्थानिय सरकारले शक्तिको दुरुपयोग गर्दै मनलाग्दी गरेको घट्नाहरु आइरहेको छ । जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई भर्ति गर्ने देखि विकास निर्माणको कामबाट कमिसन खाने समेत गरेको समाचारहरु बाहिरिने गरेको छ । तर, जिल्लाको स्थानिय तहमा प्रतिपक्ष दल भने मौन देखिने गरेका छन् । जिल्लाको नौँवटै स्थानिय तहमा प्रतिपक्ष दल भुमिकाविहिन भएका छन् । कहिलेकाहीँ प्रतिपक्ष दल सडकमा उत्रिएपनि विरोध अर्थपुर्ण देखिएको छैन । अहिले स्थानिय सरकारकालागि भरपुर अधिकार दिइएको छ । जनप्रतिनिधिहरु आफ्नै अधिकारका बारेमा पनि सचेत नभएको अवस्था छ । समग्रमा, सिन्धुलीको स्थानिय तहमा पनि व्यापक असन्तुष्टिहरु देखिएको छ ।
त्यसैले, प्रतिपक्ष दलले सत्तामा रहेकालाई सचेत गराउन र कुनै पनि आर्थिक अनियमितताका बारेमा बुलन्द आवाज उठाउन आवश्यक छ । चुनावको बेलामा मात्रै सक्रिय रहने राजनैतिक दलले प्रतिपक्षमा हुँदा पनि राजनैतिक यात्रालाई निरन्तरता दिन जरुरी छ । देशमा नयाँ व्यवस्था आएकोले यो व्यवस्थालाई थप बलियो र सफल बनाउन प्रतिपक्ष दलको भुमिका पनि अहम रहेको छ । तसर्थ, जिल्लामा प्रतिपक्ष दलले आफ्नो भुमिका बिर्सनुहुदैँन र कुनै पनि जनगुनासो आए त्यसलाई स्थानिय सरकारसमक्ष पेश गर्दै समाधान गर्नतर्फ केन्द्रित हुनुपर्दछ ।