बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा कमजोरी

बुधवार , आषाढ १७, २०७७

लकडाउन खुकुलो भएसँगै सिन्धुलीको बजार क्षेत्रमा चहलपहल बढेको छ । बजार क्षेत्रमा सवारीसाधनको चाप पनि उत्तिकै छ । जिल्लाको कमलामाई नगरपालिकामा ट्राफिक व्यवस्थापन कमजोर देखिएको स्थानियले गुनासो गरिरहेका छन् । अव्यवस्थित पार्किङ, मानिसहरुको भिड लगायत उपयुक्त ठाउँमा लोडअनलोड नगर्दा बजार क्षेत्र अस्तव्यस्त बनेको छ । अव्यवस्थित ट्राफिकका कारण दुर्घट्नाको संभावना बढिरहेको स्थानियले गुनासो गरिरहेका छन् । जथाभावि सवारीसाधन पार्किङ गर्दा व्यवसायीहरुलाई समेत समस्या परेको छ । विशेषगरि, कनपा–६ को १ नं बजार, हस्पिटल रोड, बैंक रोड लगायत बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन निकै कमजोर छ । बजार क्षेत्रमा तीव्र गतिमा सवारीसाधन गुड्दा पैदलयात्री त्रसित भएको अवस्था छ । जिल्लाको मुख्य व्यापारीक क्षेत्रमा ट्राफिक व्यवस्थापनमा ध्यान नदिए आगामी दिनमा ठूलो दुर्घट्ना नहोला भन्न सकिन्न । तसर्थ, ट्राफिक व्यवस्थापनको सवालमा ट्राफिक प्रहरी कार्यालय, स्थानिय तह लगायत सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।

जिल्लामा बिना लाइसेन्स सवारीसाधन गुड्ने क्रम बढिरहेको छ । ट्राफिक चेकिङ नहुँदा कानुन विपरीत सवारीसाधन गुडिरहेको छ । सवारीसाधन चेकिङ लगायत ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । सार्वजनिक सडकमा सवारीसाधनकर्ताको जति हक छ त्यतिनै पैदलयात्रीको पनि छ । तसर्थ, पैदलयात्रीलाई सुरक्षित तरिकाले हिँड्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्न जरुरी छ । त्यसैगरि, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पनि स्थानिय तह लगायत ट्राफिक कार्यालयको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया