पछिल्लो समय सिन्धुलीमा कृषि क्षेत्रमा धेरै जनशक्ति आकर्षित भएका छन् । सरकारले दिने सहुलियत, ऋण तथा विभिन्न सेवासुविधाका कारण कृषि क्षेत्रमा रमाउनेको संख्या बढिरहेको छ । जिल्लाका स्थानिय तहले कृषककालागि भनेर विभिन्न कार्यक्रमहरु प्नि ल्याउने गरेको छ । यसैबिच, स्थानिय सरकारले उपलब्ध गराउने सुविधाको प्रलोभनमा परेर विभिन्न फर्म दर्ता गर्दै अनुदान एवं सेवासुविधाको उपभोग गर्नेक्रम बढेको छ । अनुदानको लोभका कारण कृषि क्षेत्रमा लागिपरेकाहरु स्थानिय सरकारको सेवासुविधाबाट बढि लाभान्वित भएको वास्तविक कृषकहरुले गुनासो गर्ने गरेका छन् । कृषिलाई नै आफ्नो कर्मका रुपमा लिएर अघि बढेका वास्तविक कृृषकहरुको पहिचान गरि सरकारी सुविधा दिलाउन स्थानिय सरकारले पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।
त्यसैगरि, कृषकको समस्याहरुलाई स्थानिय स्तरबाट बुझ्न जरुरी छ । अहिले पनि कृषकहरु युरिया मल लगायत विउविजन नपाएर समस्यामा परेका छन् । कृषकहरुकालागि भनेर ल्याईएको युरिया मल विभिन्न माध्यमबाट व्यापारीलाई नै विक्रि गरेको घट्नाहरु पनि सार्वजनिक भएको छ । यस्तो अवस्थामा स्थानिय सरकारले कृषकहरुले भोगेका समस्याहरुको अध्ययन गर्नतर्फ केन्द्रित हुनुपर्छ । वास्तविक कृषकलाई मारमा पारेर अनुदानको लोभ गर्दै कृषि फर्म खोल्ने कृषकलाई लाभान्वित हुने कार्य गरिनुहुदैँन । अतः वास्तविक कृषकलाई प्रत्यक्ष लाभ हुने गरि स्थानिय सरकारले प्रभावकारी कार्यक्रमहरु ल्याउन जरुरी छ ।