शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ओली र प्रचण्ड दुवैले जिम्मेवारी छाड्नुपर्ने हुनसक्छ : हरिबोल गजुरेल

शुक्रवार , आषाढ १२, २०७७

काठमाडौँ, १२ असार– नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी र सरकार सञ्चालनको जिम्मेवारी दुई अध्यक्षले लिएको र दुवैले उचित ढंगले यसलाई पुरागर्न नसकेकाले समस्या उत्पन्न भएको बताउनु भएको छ । शुक्रबार बिहान एक रेडियो संगकुरा गर्दै गजुरेलले प्रधानमन्त्री र अध्यक्षले आफुहरुले अहिले सम्म गरेका काममा कमजोरी भएको र अब सच्चिएर जाने प्रतिबद्धता गरेर जारी स्थायी कमिटिको बैठकमा प्रस्तुत नभए दुवैले जिम्मेवार छोड्नुपर्ने बताउनु भयो ।

गजुरेलले सरकार र प्रधानमन्त्रीको निरन्तरताका विषय बैठकमा नेताहरुको प्रस्तुति अनुसार भरपर्ने भन्दै अहिले सम्म भएका कमिकम्जोरी स्वीकार गरी अबका दिनमा राम्रो गर्ने प्रतिवद्धता नआए स्थायी कमिटीबाट फरक निर्णय आउन सक्ने चेतावनी दिनु भयो । स्थायी कमिटीको बैठकमा उहाँहरुले आफ्ना कुरा राख्नुभएको र यसमा बहस आवस्यक भएकाले दुवै अध्यक्षका विषयमा बैठकमा गम्भिर बहस हुने गजुरेलको भनाइ छ ।

उहाँले भन्नु भयो, “प्रधानमन्त्री जसरी आउनुहुन्छ त्यो अनुसारको निर्णयमा बैठक पुग्छ । उहाँ सरकारमा राम्रो गरेको छु भन्नुहुन्छ तर, हामीले देखेका छैनौ । प्रधानमन्त्री मात्र हैन अध्यक्ष प्रचण्ड पनि असक्षम देखिनुभयो । उहाँहरुले कि हामीहरुले सुधारेर लान्छौ भन्नुप¥यो र गरेर देखाउनुपर्‍यो । हैन भने दुवैले जिम्मेवारी छोड्नुपर्‍ यो । पार्टी र सरकार विग्रनुमा दोस उहाँहरुको हो ।”

दुई अध्यक्ष मध्ये एकको गल्तिले गर्दा हस्ताक्षर अभियान सम्म पुगेर झण्डै झण्डै फुटको अवस्थामा पुगेको पार्टी जोगिएकाले आलोपालोबाट पछि हटुनु गलत थियो वा थिएन भन्ने कुरामा पार्टी अध्यक्ष प्रचण्डले विचार गर्नुपर्ने उहाँको भनाइ छ । एकपद एक व्यक्ति नै राम्रो प्रणाली भएको भन्दै उहाँले पार्टी र सरकारको नेतृत्व गर्ने विषयमा अलग हुनुपर्ने र एकै व्यक्तिले काम गर्न नसक्ने बताउनु भयो ।

गजुरेलले भन्नु भयो, “प्रचण्डलाई थाङनामा सुताउने भन्ने कुरा गलत हो । मोही पारेर घ्यू निकाल्नुपर्ने अवस्थामा पुगेको छ नेकपा । पार्टी कसरी चलेको छ र सरकार कसरी चलेको छ भन्ने कुरा दुई नेताले समिक्षा गर्नुपर्छ । यसमा उहाँहरुको असक्षमता देखिन्छ । एकले अर्कालाई सिध्याउने सम्मका गतिविपिध भएकै हुन ।”

उहाँले अगाडी भन्नु भयोे, “यो सरकार निरन्तरताका हिसावले ठिक छ तर, जनताको चाहना अनुसार छैन । यो वैठक चलिरहेको अवस्थामा सरकार परिवर्तनको कुरा ल्याउनु हुने थिएन । अहिले एउटा विषयमा छलफल हुनुपर्ने हो । अन्तरसंर्घष चलिरहेका बेला यस्ता कुरा ल्याएर के गर्न खोजिएको हो । पार्टीमा सवैको क्षमता अनुसार सवैको भूमिका हुनुपर्छ । गर्न नसक्नेलाई धेरै जिम्मेवारी दिनुहुदैन ।”

प्रतिक्रिया