सिन्धुलीमा पुर्वाधार निर्माणको अनुगमन भइरहेको छ । स्थानिय तह र प्रशासनिक निकायबाट अनुगमनलाई तिब्रता दिनु स्वागतयोग्य हो । पुर्वाधार निर्माणको सवालमा अनुगमन हुनुपर्दछ । किनभने, भौतिक पुर्वाधार दिर्घकालिन एवं गुणस्तरीय हुनुपर्दछ । सरकारी ढुकुटीबाट निर्माण भएका भौतिक पुर्वाधारले नागरिकलाई सेवा दिन्छ । अनुगमनका क्रममा विभिन्न पक्षहरुलाई हेरिन्छ, केलाईन्छ । झट्ट हेर्दा भौतिक पुर्वाधार राम्रो र गुणस्तरीय देखिएपनि त्यहाँ विभिन्न पक्षहरु हुन्छ जसलाई प्राथमिकताकासाथ हेर्नुपर्छ । सिन्धुलीमा भौतिक पुर्वाधारको अनुगमन भइरहेको छ र अनुगमनकर्ताले पनि सकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् । तर, वास्तवमा ती संरचनाहरु गुणस्तरीय छन् कि छैनन् भनेर आफैँलाई आकलन गर्ने भन्दा पनि दक्ष व्यक्तिबाट अनुगमनकर्ताले परामर्श लिन आवश्यक छ । जिल्लामा अहिले पनि ठेकेदार कम्पनिको लापर्वाहीका कारण विभिन्न भौतिक पुर्वाधारहरु प्रयोगविहिन छन् वा गुणस्तरहिन । सरकारी कर्मचारीको समेत मिलेमत्तोका कारण कहिले काहिँ संरचनाहरु गुणस्तरहिन बन्न पुग्छ ।
तसर्थ, यी सबै पक्षलाई प्राथमिकतामा राखेर स्थानिय तहले अनुगमनलाई विश्वासीलो एवं भरपर्दा बनाउनुपर्छ । अतः जनप्रतिनिधिले अनुगमनलाई तिव्रता दिनु स्वागतयोग्य भएपनि अनुगमनलाई थप प्रभावकारी बनाउनतर्फ पनि ध्यान जान जरुरी छ ।