सिन्धुलीको एक स्थानिय तहमा अहिले जेठादाईले सानोभाईलाई माया गरेपछि माइलोभाई रिसले चुर भएको दृश्य देखिएको छ । जेठादाई बाठा छन् । उनी समाजमा उपल्लो तहमै गनिन्छन् । सरकारको महत्वपुर्ण अंगमा काम गरेको उनले झण्डै तीनवर्ष पुगेको छ । स्थानिय ठाउँमा काम सम्हालेपछि छरछिमेकले उनको धेरै आलोचना गरे । कहिले नागरिकको लागि राहत बाढ्ने क्रममा घोटाला भयो भने त कहिले छोटो समयमै जीवनशैलि परिवर्तन भएको देख्दा आश्चर्यचकित माने । हुन त, नेपाली समाजमा जसरी अघि बढ्न खोजेपनि आलोचना भइनैरहन्छ । कोहि राम्रो वा नराम्रो कामले अघि बढ्न खोजे पनि खुट्टा तान्ने प्रवृद्धि छदैँछ । तर, जेठादाईलाई आफ्नो राम्रो कुराहरुमात्र चाहिएको छ । आफूले समाजलाई के दिनसक्छु भन्ने विचार उनी पुर्याउँदैँनन् । बस्, कसरी कार्यकाल चलाऊ, कसरी आफ्ना मान्छेलाई राम्रो गरौँ भन्नेमा मात्र उनी केन्द्रित छन् । अझ बढि भन्दा, उनी आफूले पाएको अधिकारको उपभोग नराम्रो काममा मात्र लगाउँछन् । राम्रो गर्न खोज्दा अरुले राम्रो सुझाव दिदैँनन् होला । अनि, नराम्रौमै मग्न देखिन्छन् । अरुले फनफन घुमाएको उनी बुझ्नै खोज्दैनन् ।
जेठादाई बुझ्दैनन् तर कम्ता बाठा हुन खोज्दैनन् । जेठादाईलाई यो पनि थाहा छैन कि राम्रो कुराको गुनगान सबैले गाउँछन् भनेर । सुनलाई कसैले सुन होइन कुहिँएको पहेँलो चिज भन्छ भने त्यो समाजले स्विकार्दैन । तर, जेठादाईलाई राम्रो कुराको जसरीपनि प्रचार गर्नुछ । अझ, आफ्नो नराम्रो खबर समाजमा फैलिएको देखेपछि उनले सरकारी तलबबाटै आफ्नो दुष्प्रचार नहोस् भन्दै राम्रो कुरा मात्र गर्ने कुरौटेलाई अंगाल्छन् । आफ्नै परिवारको कान्छो भाइलाई सरकारी पैसा दिएर राम्रो काम गरेको भन्दै प्रचार गर्न समाजमा खटाउछन् । सानो भाई पनि बुझदैन । उसलाई बुझन आवश्यक पनि छैन । किनभने, उसलाई जेठादाईले दिएको काम सजिलो छ । राम्रो खबर आए पनि उसलाई जेठादाईले खबर गर्छन् । नराम्रो खबर आएपनि कसरी आफूलाई समाजमा राम्रो बनाउने र वातावरण सन्तुलित बनाउने भनेर जेठादाई आफैँ सिकाउछन् । जेठादाई र कान्छोभाईको दोस्ती जमेकै छ । कान्छोभाई जेठादाईको मायाले मख्ख छ । समाज बिग्रिन्छ, बिग्रियोस्, कान्छोभाई जेठादाईलाई कदापि खबरदारि गर्दैन । बस्, ऊ जेठादाईकै गुनगानमा मस्त देखिन्छ, जेठादाईको छवि राम्रो बनाउन लाग्छ ।
दोस्ती राम्रै चल्दैथियो, यतिकैमा माइलो भाइको इन्ट्री हुन्छ । ऊ पनि कान्छोभाईले पाएको माया खोज्छ । जेठादाईलाई माया गरेजस्तो गरि छड्के तरिकाले गुनगान गाउँछ । आखिर परिवार एउटै हो । तर, माइलो भाइले जेठादाईको गुनगान गाउँदा पनि जेठादाईले वास्ता नगरेपछि उसले समाजमा बिना प्रमाण दाईको कुरा काट्छ । हड्बडउदै के के भन्छ, भन्छ । कहिले साचोँ कुरा पनि भन्छ, कहिले बिना प्रमाणपनि बोलिदिन्छ । जेठादाईले गरेको कामले समाजलाई नराम्रो भइरहेको छ भन्दै प्रमाणका साथ ऊ अघि बढेको भए सायद उसलाई मनपराउनेको पनि कुनै कमि हुनेथिएन । तर, ऊ आफ्नै सुरमा केहि सत्य कुरा पनि बोल्छ । तर, उनको सत्यतालाई पनि समाजले स्विकार्दैन । गलत नियतले उसले छेडेको द्वन्दले आफ्नै परिवारको अस्तित्व केहि समयकालागि सत्यानाश हुन्छ । समाजमा जेठादाई पनि ओलोचित बन्छन्, कान्छाको उस्तै र माइलाको उस्तै हविगत हुन्छ । अन्तमा, जेठादाईले माइला भाइ र कान्छाभाईलाई मिलाएर अघि बढ्छन् । उनको परिवारको राम्रो हुन्छ तर समाज सधैँ उस्तै यथावत् नै रहिरहन्छ ।