वि.सं.२०७७ साल आषाढ १० गते । बुधबार । ईश्वी सन् २०२० जुन २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– तृतीया,१२ घडी ३३ पला,बिहान १० बजेर १२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– तिष्य,२१ घडी २४ पला,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त अश्लेषा । योग– व्याघात,१२ घडी ३९ पला,बिहान १० बजेर १५ मिनेट उप्रान्त हर्षण । करण– गर,बिहान १० बजेर १२ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर ३१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– मातंग योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।
आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १० मिनेट देखि ८ बजेर ३८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : - केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बनाउन सकिनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। बलजफ्ती गर्ने बानीले आफैंलाई समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। लगनशीलताले मात्र लक्ष्यमा पुर्याउनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू कमजोर हुनेछन्। करकापमा गरिएको निर्णयले पनि अन्तत: फाइदै हुनेछ। प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ। खर्च लागे पनि प्रयत्न गर्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। घरेलु समस्या सुल्झाउन समय लागे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ। पेसा–व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। उपचारमा खर्च हुने समय छ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-कामको मेसो नमिल्दा केही पछि परिएला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। बुद्धिको उपयोगले काम बन्नेछ। गुरुजनको सहयोगले लाभ उठाउन सकिनेछ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ | देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ |
आज दिउँसोः- देशभर सामान्य देखि पुर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
आज रातीः- देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।