सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमणको घट्ना बाहिर नआएपनि केहि व्यक्ति र समूह यस कार्यमा संलग्न रहेको सुचनाहरु बाहिरिएको छ । सार्वजनिक जग्गामा अनावश्यक घर, टहरा बनाएर प्रयोगमा ल्याइएको छ । जिल्लाका नौँवटै स्थानिय तहका सार्वजनिक जग्गाको अवस्थाका बारेमा तथ्य संकलन गर्नुपर्ने देखिएको छ । सार्वजनिक जग्गा अतिक्रमणका घट्ना देशभर देखिरहेको अवस्थामा सिन्धुलीमा पनि सार्वजनिक जग्गा अतिक्रमणका घट्ना थुप्रै रहेको स्थानियले गुनासो गरेका छन् । खोला, वन लगायत विभिन्न सार्वजनिक जग्गा निजी प्रयोजनकालागि प्रयोग भइरहेको छ । खोला क्षेत्रमा रुख रोपेर खोलाको धारनै परिवर्तन गर्ने, जंगल क्षेत्रमा निजी घर बनाउने लगायत दर्जनौँ सार्वजनिक जग्गा अतिक्रमणका घट्नाहरु देखापरिरहेको छ । तसर्थ, जग्गा अतिक्रमणलाई निरुत्साहित पार्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । त्यसैगरि, सबै नागरिकको उत्तिकै हक लाग्ने सार्वजनिक जग्गामा कसैको रजाई स्विकार्य हुदैँन ।
त्यसैले, स्थानिय तह लगायत सम्बन्धित निकायले सार्वजनिक जग्गाको तथ्यांक संकलन गरेर ती जग्गाहरु के काममा प्रयोग भएका छन् भन्ने जानकारी लिन जरुरी छ । अतः सार्वजनिक जग्गामा निजी व्यक्ति वा समूहले आफ्नो हकदाबि गर्न नदिन बेलैमा सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्छ ।