सिन्धुलीबाट निर्वाचित प्रतिनिधिहरु संसदमा मौन देखिएपछि मतदाताले प्रश्न गरेका छन् । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका सांसदले आफ्नो क्षेत्रमा देखिएको समस्या लगायत देशभरको परिस्थतिका बारेमा बोल्दै गर्दा सिन्धुलीका सांसदहरु भने विरलै बोल्ने गर्दछन् । सिन्धुलीबाट प्रतिनिधित्व गरेका सांसदले आफ्नो क्षत्रेमा देखिएका विकृति, विसंगतिका बारेमा नबोलेको मतदाताको गुनासो छ । संसदमा पनि नबोल्ने र निर्वाचन क्षेत्रमा पनि उपस्थिति नदेखाएको भन्दै मतदाताले बारम्बार गुनासो पोख्दै आएका छन् । सिन्धुलीबाट सत्तारुढ दलका तीन सांसद प्रतिनिधिसभामा छन् । तर, उनीहरु संसदमा खासै बोल्न रुचाउँदैँनन् । निर्वाचन क्षेत्रका समस्या समाधान गर्न सांसदले सरकारलाई झक्झक्याउन पाउँछन्, निर्माणाधीन कानुनमा आफ्नो धारणा राख्न पाउँछन् र समग्र निर्वाचन क्षेत्रको विकासका लागि पहल गर्न पाउँछन् । संसदमा आफ्ना क्षेत्रका गुनासो पोख्न उनीहरुलाई १ मिनेट शून्य समयको व्यवस्था छ । दलीय आधारमा छुट्ट्याइने ३ मिनेटको विशेष समयमा पनि उनीहरुले आफ्ना गुनासा राख्न पाउँछन् । तर, सिन्धुलीका सांसद भने न त जनताका समस्यामा बोल्छन्, न त निर्माणाधीन कानुनमा नै टिप्पणी गर्छन् । समग्रमा हेर्ने हो भने संसदमा सिन्धुलीको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको भुमिका नै फिक्का देखिएको छ । संसदमा छिर्नकालागि जनताबाट मत मागेका तीनै सांसदहरु केहि नबोल्दा मतदातामा चरम असन्तुष्टि देखिएको छ ।
तसर्थ, सिन्धुलीबाट संसदमा प्रतिनिधित्व गरेका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्याहरुका बारेमा बोल्न जरुरी छ । जनताले अमुल्य मत दिएर जिल्लाको प्रतिनिधिका रुपमा उनीहरुलाई संसदमा पठाएका हुन् । त्यसैले, निर्वाचन क्षेत्रलाई कसरी विकसित गर्ने, देखिएका समस्यालाई समाधान गर्न कसरी अघि बढ्ने जस्ता जनताको समस्या लिएर संसदमा बोल्न सांसद अग्रसर हुनुपर्दछ ।
अतः सिन्धुलीका सांसदले संसदमा आफ्नो उपस्थिति जनाउदैँ निर्वाचन क्षेत्रको समस्याका बारेमा समग्र देशको ध्यान त्यसतर्फ केन्द्रित गर्दै समाधान गर्नतर्फ लाग्नुपर्छ ।