प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको नेपाल सरकारले भारतले हडप्न खोजेको नेपाली भूमि फिर्ता ल्याउन साहसिक कदम चालेको छ । शनिबार लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा अनुमोदन गरिएको छ । विधेयक अनुमोदन भएसँगै नेपाली भूमि फिर्ता ल्याउने बाटो खुलेको छ । भारतले केहि महिनाअघि उक्त क्षेत्र समेटिएको नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले पनि लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको थियो । लिम्पियाधुरा फिर्ता ल्याउन सरकारले चालेको कदमको स्वागत सम्पूर्ण नेपालीले गरेका छन् । नेपालको आन्तरिक मामिलामा सधैँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने भारतलाई नेपाल सरकारले गतिलो जवाफ दिएको छ । विश्वमा भारत जतिनै शक्तिशालि भएपनि एउटा स्वतन्त्र देशमाथिको हस्तक्षेप स्विकार्य नहुने संदेश नेपालले दिएको छ ।
विधेयक पास भएसँगै अब नेपालले भूमि फिर्ताकालागि तत्काल आवश्यक कदम चाल्न जरुरी छ । भूमि फिर्ताकालागि राजनैतिक दलले देखाएको एकता कायम राख्दै भारतसँग छलफल गरेर छिटो भन्दा छिटो विवादको निकास निकाल्न नेपाल सरकारले पहल गर्नुपर्दछ । अतः नेपाल सरकार, प्रतिपक्ष दल लगायत यस साहसिक कदममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्नता जनाउनेप्रति हार्दिक बधाई तथा शुभकामना !