सल्यान– सल्यानको शारदा नगरपालिका ४ का समिर न्यौपाने र दाङ निवासी निता योगी शनिबार वैवाहिक सम्बन्धमा बाँधिए । विवाह बन्धनमा बाँधिएका न्यौपाने दम्पत्तिले सो अवसरमा सल्यानकै एक विद्यालयमा छात्रवृत्ति कोष खडा गरेका छन् । उनीहरुले फजुल खर्च कटौति गरेर सल्यानको एमएम एकेडेमिमा कोष खडा गरेका हुन् । विपन्न परिवारका दुईजनालाई १० कक्षासम्म निशुल्क अध्ययनकालागि कोष खडा गरिएको नवविवाहित जोडीले सिन्धुली सौगातलाई जानकारी दिए । उनीहरुले भने, ‘आजको शुभ दिनपारि हामी दुवैजनाले कम्तीमा दुइृ बालबालिकाले आर्थिक कमजोरीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भनि यो निर्णय लिएका हौँ ।’ नव विवाहित जोडीले अनावश्यक खर्च कटौति गर्ने र त्यो खर्च सामाजिक कार्यमा लगाउने सोचका साथ शैक्षिक क्षेत्रमा सहयोग गरेको बताए । साथै, आगामी दिनमा ती बालबालिकाको अभिभावकलाई जिविकोपार्जनकालागि अवसर जुटाइदिन प्रयत्न गर्ने पनि उनीहरुले बताए ।
विद्यालयका अध्यक्ष महेश देवकोटाले नवविवाहित दम्पत्तिलाई शुभकामना दिदैँ सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘वैवाहिक जिवनमा प्रवेश गर्दै गर्दा उहाँहरुले विपन्न विद्यार्थीलाई गर्नु भएको सहयोग सराहनिय छ । उहाँहरुको सहयोगको सदुपयोग गर्नेछौँ ।’