लेखक : दिपेश थापा
सरकारले गर्ने कामहरु पारदर्शी, जवाफदेही, परिपक्व र जनउत्तरदायी हुनुपर्छ । जे गर्दा पनि हुने, जसो गर्दा पनि हुने जस्तो मैमत्ता नेतृत्वमा बस्ने कसैले पनि गर्नु नहुने रहेछ । कोरोनाको कहरमा युवाहरू सडकमा आउनु बाध्यता थियो ? वा परिस्थितिजन्य घटना बन्यो, त्यो गम्भीर कुरा यतिबेला भएको छ ।
चेतनाको हिसाबले कोरोनाको सं कटमा सामाजिक दूरी कायम राख्नुपर्छ भन्ने हेक्का सुझबुझ भएका युवाहरु बराबर कसले बुझेको हुन सक्ला र ? तर भीडभाड गर्नुपर्ने स्थिति के कारणले बन्यो ? त्यो सबाल जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण अर्को सवाल के हो भने भीडभाडमा कसैलाई कोरोना रहेछ भने त्यो त्यति नै खतरनाक हुनेछ ।
सामाजिक संजालको भित्तामै लेखेको आधारमा सरोकारवालाले नैतिकता देखाएर सबै कुरा पारदर्शी गरिदिएको भए सायद युवाहरु सडकमा आउनुपर्ने स्थिति नहुन पनि सक्थ्यो । युवाहरुले मागेको १० अर्बको हिसाब जायज माग हो । सार्वजनिक पद धारण गरेका र जिम्मेवारीमा बस्ने जो कोहीले आफुले खर्चेका हिसाब किताब चुस्तदुरुस्त राख्नुपर्छ । आवस्यक पर्दा सार्बजनिक गर्न सक्नुपर्छ । कुनै पनि भ्रष्टाचार गर्नेका लागि दण्डनीय जति महत्त्वपूर्ण रहन्छ । त्यति नै भ्रष्टाचार नियन्त्रणका लागि जवाफदेहिता र पारदर्शिता पहिलो महत्त्वपूर्ण हुन्छ ।
हिजोआज युवाहरूले आफू र आफन्तहरुको स्वास्थमा चिन्ता लिँदै क्वारेन्टाइन व्यवस्थापनलाई सुधार गरियोस भन्नु सरकारको लागि राम्रो सुझाव पनि हो । ठिटाहरुले पिसिआर चेकजाँच बढाउ भनेको पनि ठिक छ । किनभने कोरोना संकटका बेला बिश्वब्यापी अनुसरण गरिएको बिधि भनेकै यहीँ हो । अधिकांश रास्ट्रका धेरैजसो विज्ञहरुले हिजोआज कोरोना नियन्त्रणका लागि पिसिआर चेकजाँच महत्त्वपूर्ण हुने भनिरहेका छन । तर नेपालमा सरकारले पिसिआर चेकजाच खर्चिलो भयो भन्दै आलटाल गरेको कतिपयको बुझाइ छ ।
हेर्नुस कोरोनालाई युद्ध मान्ने हो भने यतिबेला यु द्धका कमान्डर सरकारमा बस्नेहरु हुन । यो सवालमा स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश समितिका प्रतिनिधि हुँदै संघीय सरकारका जिम्मेवार मन्त्रीहरुले समेत आफुलाई गम्भीरतापूर्वक जिम्मेवारी देखाउने र भूमिका निर्वाह गर्ने समय अहिले नै हो ।
आजको युवा भोलिका देश हाक्ने पुस्ता हुन । सरकारले युवाहरूलाई सुन्नुपर्छ । सरकारले युवाहरूलाई बुझ्नुपर्छ । सकेसम्म कार्यान्वयन गर्नसक्ने विषयलाई कार्यान्वयन गर्नुपर्छ । हिजोआज भ्रष्टाचारमा मुछिएका कतिपय पुराना नेता पुस्ताभन्दा सकारात्मक र क्रियटिभ बिरोध गर्ने युवापुस्ताहरु ठिक लाग्न थालेका छन । उनीहरुले देशब्यापी रूपमा गरेका प्रदर्शन गलत समय भए पनि कम्तीमा पुरानो पुस्ताले जस्तो ढुङ्गामुढा प्रदर्शन गरेको देखिएन । पुरानो पुस्ताका नेताले जस्तो टायर बालेर बिरोध गरेनन । टायर बाल्नु र ढुंगा हान्नुभन्दा क्रियटिभ बिरोध गर्नु धेरै शक्तिशाली हुने रहेछ भन्ने पुष्टि गरिदिएको छ ।
अहिले देशब्यापी भइरहेका बिरोधमा मात्रै कोरोनाको कहरचाहिँ अली असान्दर्भिक जस्तो लाग्छ । तर भद्र बिरोध गर्ने तरुण पुस्ताको शैली अनुसरणीय छ । हाम्रा बा पुस्ताका नेताहरुले अति भएपछि खती हुन्छ भनेर सिकाउनु हुन्थ्यो । हिजोआज युवाहरूले त्यो स्मरण गराएजस्तै देखिन्छ ।