नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट देशभरका संस्थागत तथा सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालिबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयलाई स्वीकार्दै सिन्धुलीका स्थानिय तहले असार १ गतेबाट अध्यापनको वैकल्पिक उपायहरुको योजना बनाएको छ । वैकल्पिक उपाय रोज्दै कमलामाई नगरपालिकाले पहिलो चरणमा १५ दिनकालागि गृहकार्य प्याकेज बनाउन विद्यालयलाई निर्देशन दिएको छ । त्यसैगरि, अन्य स्थानिय तहले पनि विद्यार्थीकालागि सजिलो हुने गरि वैकल्पिक उपायको योजना बनाउदैँ छन् । अहिलेको अवस्थामा विद्यार्थीहरुलाई किताबि ज्ञान भन्दा पनि सामाजिक ज्ञानको आवश्यकता छ । त्यहि आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले गृहकार्य दिन जरुरी छ ।
त्यसैगरि, स्थानिय तहले पनि विद्यालयसँग अहिलेका चुनौतिका बारेमा छलफल गर्न जरुरी छ । जिल्लाका थुप्रै ठाउँहरुमा अहिले पनि इन्टरनेटको पहुँच छैन । इन्टरनेट मात्र नभएर मोबाइल नेटवर्ककै पनि समस्या छ । त्यस्ता ठाउँहरुमा रहेका विद्यार्थीलाई कसरी सहजीकरण गर्ने लगायत उनीहरुलाई अध्ययन गर्न कसरी सजिलो बनाउने भन्नेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । निजी तथा सामुदायिक विद्यालयले लकडाउनलाई कारण देखाएर शिक्षामा सहजीकरण गर्नबाट पन्छिनु हुदैँन । कोरोना भाइरसले शिक्षामा चुनौति थपेपनि अवसरहरु भने सिर्जना गरेको छ । तसर्थ, जिल्लाको शिक्षा क्षेत्रलाई प्रभावित हुन नदिन स्थानिय तह र संस्थागत तथा सामुदायिक विद्यालयले अझै प्रभावकारी योजना बनाउन आवश्यक छ ।