काठमाडौँ,२३ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आउन एक दिन बाँकी रहेका बेला ‘एक व्यक्ति, एक पद’को कुरा जोडदार रुपमा उठ्न थालेको छ ।
नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले सचिवालयमा बहुमत पु¥याएर आन्तरिक विवाद समाधानको प्रयास गरिरहेका बेला पुनः पार्टीभित्र ‘एक व्यक्ति, एक पद’को आजाव उठेको हो ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरूले यो कुरालाई उठाउनु भएको छ । उहाँहरूले सरकारलाई सहयोग गर्नका लागि पनि नेताहरूमा जिम्मेवारी बाँडफाँट अति आवश्यक रहेको बताउनु भएको हो ।
ओलीले आफूले पूराअवधि प्रधानमन्त्री चलाउने र प्रचण्डलाई पार्टी एकलौटी रुपमा चलाउन दिने सहमति भएका समाचार बाहिर आइरहेका बेला यो विषय चर्चामा आउँदा नेकपामा संस्थापन पक्ष सशंकित बनेको छ ।
सचिवालयका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ दोहोरो जिम्मेवारीमा हुनु हुन्छ । उपाध्यक्षको जिम्मेवारीमा रहनु भएका गौतमले पार्टीभित्रको शक्तिशाली संगठन विभाग प्रमुख पनि सम्हाल्दै आउनु भएकाने छ ।
पार्टी प्रवक्ता श्रेष्ठले प्रचार तथा प्रकाशन विभाग प्रमुख, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले स्कुल विभाग प्रमुख हुनु हुन्छ । राजकीय मामिला तथा सुशासन विभाग प्रमुख रहनु भएका रामबहादुर थापाले गृहमन्त्रीको पनि जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
उहाँहरूबाहेक अहिलेको ४४ सदस्यीय स्थायी समितिका १५ नेता पनि दोहोरो मुख्य जिम्मेवारीमा हुनु हुन्छ ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय विभाग प्रमुख, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा निर्वाचन विभाग प्रमुख, योगेश भट्टराईले पयर्टन प्रवर्धन तथा नागरिक उड्डयन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहनु भएको छ ।
जनार्दन शर्मा कर्णाली प्रदेश इन्चार्ज र संगठन विभागमा उपप्रमुख हुनु हुन्छ । कृषि तथा भूमिसुधारमन्त्री घनश्याम भुसालले प्रादेशिक मामिला विभागको प्रमुख हुनुहुन्छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा मानवस्रोत विभाग, ऊर्जामन्त्री वर्षमान पुनले जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग, वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण विभाग सम्हाल्नु भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सहरी विकास विभाग, संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संसदीय विभागको उपप्रमुखको दोहोरो जिम्मेवारी सम्हाल्नु भएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सहकारी तथा गरिबी निवारण विभाग, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रदेश इन्चार्ज तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको त्यही प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
गण्डकी प्रदेशका दोस्रो वरीयताका आर्थिक मामिलामन्त्री किरण गुरुङले पार्टीमा त्यही प्रदेशको सहइन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
केन्द्रीय कमिटीमा रहेका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पार्टीमा त्यही प्रदेशको सहइन्चार्ज, खानेपानी तथा सरसफाइमन्त्री विना मगरले पार्टीमा खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।