बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सचिवालयको बैठकले देशलाई फाइदा पुगोस्

शनिवार , बैशाख २०, २०७७

तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकिकरण भई निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जनताले अत्याधिक मतका साथ विजयी गराए । चुनाव लगतै अन्य पार्टीलाई समेत मिलाएर दुई तिहाईको बहुमतको सरकार बन्यो । तर, नेकपाभित्रको आन्तरिक वि'वाद र अन्य पार्टीलाई मिलाएर अघि बढ्न नसक्दा सरकारले दुई तिहाईको बहुमत गु'मायो । अहिले प्रतिनिधिसभामा नेकपाको साधारण बहुमतमात्र छ । जनताले पाच वर्षकालागि नेकपाकालागि भोट दिएका हुन् । उनीहरुले नेकपाले अन्य पार्टीसँग सहकार्य गरेर देशको विकास र समृद्धिलाई प्राथमिकता दिने अपेक्षा गरेका थिए । तर, पार्टी एकता भएपछि नेकपाभित्र देखिएको आन्तरिक विवादले न त देशको समृद्धिको यात्राले निरन्तरता पायो न त पार्टीले नै । केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद ग्रहण गरे देखिनै सरकार विवादमा मुछियो । कहिले यति काण्ड त कहिले ललितानिवास काण्डले सरकारलाई घे'रिनै रह्यो । ओलीको सरकारले यी काण्डहरुलाई कानुनि तबरबाट सुल्झाउने प्रयास गरेन बरु उल्टै संरक्षण गरेको अभिव्यक्तिहरु आए । शक्तिशालि पार्टीले दुईवटा अध्यक्ष पाउँदा झनै देशको र पार्टीको अवस्था बिग्रिएको छ । समग्रमा, नेकपाभित्रको आन्तरिक कलहकै कारण देशले बहुमतको सरकार पाउँदा पनि दुई वर्षसम्म खासै उपलब्धि हासिल गर्न सकेको छैन ।

प्रधानमन्त्री ओली अहिले चौतर्फि घेराबन्दीमा परेको अवस्था छ । नेकपा देखि अन्य पार्टीले सम्म ओलीको कार्यशैलिमा प्रश्न उठाइरहेका छन् । देशले पाँच वर्षका लागि स्थायी सरकार पाएकोमा जनता खुशी भएपनि प्रधानमन्त्री फेरबदलको कुरा सतहमा आएको छ । नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीनै परिवर्तन गर्ने सम्मको छलफल भएको छ ।

आज वैशाख २० गते पुनः सचिवालयको बैठक बस्दै छ । उक्त बैठकले ठोस निर्णय गर्नेनै छ । तर, अहिलको अवस्थामा नेकपाभित्र शक्ति प्रदर्शन र शक्ति आर्जन भन्दा पनि देशको समृद्धि र नेकपाको गुमेको साख जोगाउनुतर्फ पार्टीका नेताहरु केन्द्रित हुन जरुरी छ । प्रधानमन्त्री ओलीले आफ्ना अंहकारलाई त्यागेर देशको विकास र समृद्धिकालागि विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अनुकुल कामलाई बढाउने भन्दा पनि समग्र देशको हितमा आफ्नो कदमलाई बुलन्द बनाउनु आजको आवश्यकता हो । सचिवालय सदस्यले हरेक कोणबाट सम्पूर्ण अवस्थाको ख्याल गरेर देशको हितमा निर्णय गर्न सक्नुपर्छ । अन्यथा, आगामी दिनमा राजनैतिक दलप्रतिको विश्वास र आस्था जनताबाट गुम्ने छ ।

प्रतिक्रिया