कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारले लकडाउनको निर्णय गरेसँगै देशभरको शिक्षा क्षेत्र ठप्प भएको छ । लकडाउनबाट शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । विद्यार्थीकालागि बन्दअवस्था चुनौतीपूर्ण भएपनि स्वअध्ययनको हिसाबले यो राम्रो अवसरको समय हो । बन्दअवस्थाको सदुपयोग गर्न सके विद्यार्थीहरुले थोरै समयमै आफूमा धेरै परिवर्तनको महशुश गर्न सक्छन् । कीर्तिपुरमा रहेको स्कुल अफ म्यानेजमेन्टका (SOMTU) विद्यार्थीहरुपनि त्यहि प्रक्रियामा छन् । लकाउनको भरपुर सदुपयोग गरिरहेका उनीहरु भौतिक रुपमा नजिक नभएपनि शिक्षा आदानप्रदान गर्ने, मनोरञ्जनका भिडियो बनाउने र चाखको विषयलाई समय दिइरहेका छन् । स्कुल अफ म्यानेजमेन्ट व्यवस्थापन संकाय अन्तर्गत पहिलो सेमेस्टरका विद्यार्थीहरु लकडाउनको समय खेर नफ्याल्न अरु विद्यार्थीलाई प्रेरणा दिईरहेका छन् ।
यो समय अन्तरनीहित प्रतिभा तिखार्ने मौका भएको भन्दै SOMTU का विद्यार्थीले मनोरञ्जनको भिडियो बनाएका छन् । आ–आफ्नै घरमा बसेर मनोञ्जनात्मक भिडियो विद्यार्थीहरुले युट्युबमा सार्वजनिक गरेका छन् । उनीहरु कोहि काठमाडौँमा छन् त कोहि पोखरा त कोहि चितवन । तर, भिडियो हेर्दा लाग्छ उनीहरु सँगै छन् । प्रथम सेमेस्टरका प्रयत्न ढकाल, उरुशा दाहाल, सुबिन अधिकारी, अनिश ढकाल, समरिता तिवारी, प्रज्वल दाहाल, निभा रञ्जित, एलिना शाक्य, पुजा पुडाशैनि, आकृति भट्टराई र अनिश ढकालले बनाएको उक्त भिडियो संदेशमुलक छ । खराब संचारले के सम्म हुन्छ भन्ने उक्त भिडियोमा देखाइएको छ ।
विद्यार्थी प्रयत्न ढकालले लकडाउनका कारण घरै विश्वविद्यालय, घरै अनुसन्धालय भएको बताए । उनले भने, ‘घरमै श्रोतसाधन छन् । इन्टरनेटबाट धेरै कुरा सिक्न सकिन्छ । अहिलेको समय भनेको आफ्नो प्रतिभा निखार्ने समय हो ।’ सोमटियू प्रथम सेमेस्टरका विद्यार्थीहरु टाढा भएपनि इन्टरनेट र टेलिफोनका कारण नजिक भएको ढकालले बताए । उनले आफ्नै घरबाट साथीभाईसँग व्यवाहारिक र विषयगत ज्ञान लेनदेन भइरहेको बताए । साथै, उनले लकडाउन अरु विद्यार्थीहरुकालागि पनि सिक्ने र सिकाउने सुनौलो अवसर बन्नुपर्ने बताए ।